नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोली (जेटीटी) को १७औं बैठकमा विद्युत् आदानप्रदान, प्रसारण प्रणालीको सुदृढीकरण र नयाँ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सहमति भएको छ ।
बैठकले नेपाल र भारतले आआफ्ना तर्फबाट चमेलिया–जौलजिवी २२० केभी डबल सर्किट प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्तुत गरेका थिए । दुवै देशले उक्त प्रसारण लाइनको निर्माण सन् २०२७ डिसेम्बरसम्म सम्पन्न गर्ने गरी काम गर्ने भएका छन् ।
बैठकमा दुवै देशको संयुक्त डीपीआर यही नोभेम्बरभित्र तयार गर्ने सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दीपकुमार देवले जानकारी दिए ।
डीपीआर तयार नभएकाले अहिले नै यस परियोजनाका लागि केकति लागत आवश्यक पर्छ भन्ने विषय टुंगो नलागेको उनले जानकारी दिए । उनका अनुसार मुआब्जा, क्षतिपूर्तिलगायत विषयमा अझै अन्तिम प्रक्रिया नसकिएकाले लगानी निश्चित नभएको हो । यसै महीनाको अन्त्यसम्ममा लगानी टुंलो लाग्ने उनले जानकारी दिए ।
यस्तै, बैठकले नयाँ बुटवल–गोरखपुर ४०० केभी लाइनलाई अस्थायी रूपमा २२० केभीमा सञ्चालन गर्ने व्यवस्था मिलाउने सहमति गरेको छ ।
उक्त प्रसारण लाइनमार्फत विद्युत् आयातनिर्यात क्षमता सम्बन्धमा उत्तर प्रदेश ट्रान्समिशन कम्पनीसँग १५ दिनभित्र बैठक गर्ने सहमति भएको छ । उक्त बैठकले यस परियोजनाका सम्बन्धमा थप विषयहरू अघि बढाउने निष्कर्ष निकाल्ने सहसचिव देवले बताए ।
बैठकले ढल्केवर–मुजफ्फरपुर र ढल्केवर–सीतामढी लाइनमार्फत विद्युत् आदानप्रदान क्षमताको पुनः मूल्यांकन गरेको छ । त्यसअनुसार अब नेपालले १ हजार ५०० मेगावाटसम्म विद्युत् निर्यात र १ हजार ४०० मेगावाटसम्म आयात गर्न सक्नेछ ।
निजगढ–मोतिहारी ४०० केभी डबल सर्किट लाइनको डीपीआर तयार पार्न नेपालले आवश्यक प्राविधिक विवरण १ महीनाभित्र उपलब्ध गराउने र संयुक्त प्राविधिक टोलीले दुवै देशको संयुक्त डीपीआर तयार गर्ने सहमति पनि बैठकले गरेको छ ।
नेपाल–भारतबीच लमही–लखनउ ४०० केभी प्रसारण लाइनको नेपालतर्फको अन्तिम बिन्दु लमही वा कोहलपुरमध्ये कुनलाई बनाउने भन्नेबारे अन्तिम अध्ययन संयुक्त रूपमा गरी डीपीआर तयार गर्ने सहमति पनि भएको छ ।
ढल्केवर–मुजफ्फरपुर ४०० केभी लाइनको रिकन्डक्टरिङमा उच्च तापक्रम सहनसक्ने प्रविधि अपनाउने विषयमा डीपीआर बनाउने गृहकार्य गर्न नेपाल–भारत दुवै सहमत भएका छन् ।
रक्सौल–परवानीपुर र रामनगर–गण्डक १३२ केभी लाइनहरूको क्षमता बढाउन यी दुवै लाइनमा हाल प्रयुक्त कन्डक्टरलाई प्रतिस्थापन गरी एचटीएमएल कन्डक्टर प्रयुक्त गर्नेबारे संयुक्त अध्ययन गर्ने सहमति पनि बैठकले गरेको छ ।
बैठक मन्त्रालयका सहसचिव सन्दीपकुमार देव तथा भारत सरकारको केन्द्रीय विद्युत् प्राधिकरणका प्रमुख इन्जिनीयर श्री भगवान सहाय बैरवाको सहअध्यक्षतामा कात्तिक १७ र १८ गते पोखरामा सम्पन्न भएको हो ।


