Banijya News

कुलमान घिसिङ समूहबाट ‘उज्यालो नेपाल’ दल दर्ता हुँदै: चुनाव चिह्न ‘बिजुलीको चिम’

1
1.3K Shares

ऊर्जामन्त्रीको रूपमा ख्याति कमाएका कुलमान घिसिङ को पहलमा नयाँ राजनीतिक दल खोल्ने प्रक्रियाले औपचारिक रूप पाएको छ। लामो छलफलपछि दलको नाम ‘उज्यालो नेपाल’ राख्ने सहमति भएको छ। यसअघि ‘नेपाल जनसेवा पार्टी’ राख्ने सहमति भए पनि आइतबार राति बसेको बैठकले अन्तिममा ‘उज्यालो नेपाल’ मा सहमति जनाएको हो।

नयाँ दलको चुनाव चिह्न भने ऊर्जा क्षेत्रमा घिसिङको पहिचानसँग मिल्दोजुल्दो रहने भएको छ: ‘बिजुलीको चिम’। यो चिह्नले देशलाई उज्यालो बनाउने र लोडसेडिङ अन्त्य गर्ने उनको पुरानो सफलतालाई प्रतीकात्मक रूपमा जोड्ने अपेक्षा गरिएको छ।

तत्कालका लागि पार्टीको दर्ता प्रक्रिया अगाडि बढाउन पूर्व सचिव अनुपकुमार उपाध्यायको संयोजकत्वमा निर्वाचन आयोगमा दल दर्ता गरिने भएको छ। संयोजकत्वमा उपाध्याय रहे पनि अन्य ५० जनासहितको ५१ सदस्यीय केन्द्रीय कमिटी तत्काल घोषणा गरिनेछ।

घिसिङ निकट एक नेताका अनुसार, दलमा तत्कालका लागि कोही पदाधिकारी तोकिने छैन। ‘प्लेन नै आउँछ’ भन्दै ती नेताले सुमना जी र अन्य पदाधिकारीमा रहने साथीहरू दोस्रो चरणमा मात्र जोडिने स्पष्ट पारेका छन्।

पार्टी दर्ताका लागि आवश्यक माइन्यूटिङ र हस्ताक्षरको काम अहिले अन्तिम चरणमा पुगेको छ। नयाँ दललाई सम्भव भएसम्म आजै (सोमबार) बेलुका ४ बजेसम्म दर्ता गर्ने प्रयास भइरहेको छ। यदि समयमा काम नसकिएमा भोलि (मङ्गलबार) दर्ता गर्ने लक्ष्य रहेको ती नेताले जानकारी दिए। अहिले केन्द्रीय कमिटीमा रहने सदस्यहरूको नामलाई अन्तिम रूप दिने छलफल भइरहेको छ।

स्रोतका अनुसार नयाँ पार्टीमा रास्वपाका असन्तुष्ट नेताहरू तोसिमा कार्की, गणेश कार्की, मुकुल ढकाल लगायत समेटिने तयारी छ। त्यस्तै, हालका जेन–जी आन्दोलनका प्रतिनिधिहरू, पुराना विवेकशील–साझा पार्टीका कार्यकर्ताहरू, र नेपाली कांग्रेस तथा एमाले छाडेका युवा नेताहरू समेत नयाँ दलमा जोडिँदै छन् । विशेषतः जेन–जी आन्दोलनमा सक्रिय भूमिका खेलेका कलाकार निश्चल बस्नेतलगायत केही सांस्कृतिक अभियन्ताहरूलाई पनि नयाँ दलमा समेट्ने तयारी भइरहेको बुझिएको छ ।

बालेनले आफ्ना नजिकका सहयोगीहरू कुमार बेन, सुमना श्रेष्ठ, भुपदेव शाह र सन्तोष गिरीलाई संगठन संरचना र नीति निर्माणको जिम्मा दिएका छन्। सन्तोष गिरीलाई संगठन विभागको प्रमुख बनाउने प्रस्ताव अघि सारिएको छ। बालेन जनप्रतिनिधिको हैसियतले प्रत्यक्ष रूपमा दल सञ्चालनमा नदेखिए पनि आफ्ना नजिकका नेतामार्फत रणनीति तय गर्दै छन् । स्रोतका अनुसार नयाँ दलले जेन–जी आन्दोलनको विचार, सुशासन, पारदर्शिता र युवाको नेतृत्वलाई मूल एजेन्डा बनाउनेछ ।

शुरूमा बालेन–घिसिङ समूहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग मिलेर जाने प्रयास गरेको थियो। तर, सभापति रवि लामिछानेले आफू नेतृत्वमा बस्ने अडान लिएपछि त्यो योजना असफल भएको स्रोत बताउँछ । लामिछानेले बालेन स्वयं नेतृत्व गर्न आए सभापति छाड्ने, तर बाहिरका नेताका लागि पद नछाड्ने सन्देश पठाएपछि बालेन र रास्वपाबीचको संवाद रोकिएको हो। बालेन समूहले घिसिङलाई रास्वपाको सभापति बनाउने प्रस्ताव गरेको थियो, तर लामिछानेले त्यो अस्वीकार गरे।

1

Scroll to Top