सरकारले आगामी प्रतिनिधि सभाको चुनावका लागि निर्वाचन आयोगलाई चार रुपैयाँ बजेट दिने भएको छ । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि ७ अर्ब ८१ करोड रुपैयाँ बजेट माग गरेको थियो । अर्थ मन्त्रालयले आयोगले मागेको बजेटमा घटाएर ४ अर्ब ९६ करोड रुपैयाँ स्वीकृत गरेको हो ।
अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार आयोगलाई पहिलो चरणमा ४ अर्ब ९६ करोड रुपैयाँ बजेट स्वीकृत गरिएको छ ।
आयोगका अनुसार संविधानसभा निर्वाचनपछि २०७४ मंसिरमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ५ अर्ब ६२ करोड रुपैयाँ खर्च भएको थियो । यस्तै, २०७९ मा भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा ६ अर्ब ५० करोड रुपैयाँ खर्च भएको थियो । ती निर्वाचनमा आयोगले बाह्य स्रोतबाट प्राविधिक र व्यवस्थापकीय सहयोग लिएको थियो ।
चालु बजेटमा निर्वाचनका लागि रकम विनियोजन गरिएको छैन । अहिले अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनको स्रोत जुटाउन बाह्य सहयोग नलिने भन्दै चालु बजेटका टुक्रे आयोजनामा विनियोजित बजेट कटौती गरेका छन् ।
आयोगका अनुसार निर्वाचनका लागि करिब ६६ प्रकारका सामग्रीको आवश्यकता पर्छ । त्यसमा मतदाता नामावली, मतपत्र, मतपेटिका (बिर्कोसमेत), मतपेटिकाको सुरक्षण सिल, स्टयाम्प प्याड, स्टयाम्प प्याड मसी, स्वस्तिक छाप र नमेटिने मसीलगायतका सामग्री पर्छन् । यस्ता सामग्रीलाई आयोगले संवेदनशील सामग्रीको सूचीमा राखेको छ । त्यसैगरी मतपेटिका स्टिकर, कलम, मैनबत्ती, लाहा, खामदेखि धागो, सियो, कार्डदेखि टेबुल, घडीसम्मका सामग्रीलाई कम संवदेनशील निर्वाचन सामग्रीभित्र राखिएको छ । आयोगले मटपेटिका, सुरक्षण सिल, कैंची, क्यालकुलेटर, म्याटसहित १६ वटालाई पुनः प्रयोग हुने र अन्यलाई पुनः प्रयोग गर्न सक्ने भनेको छ ।
आयोगका अनुसार चुनावमा आवश्यक पर्ने यस्ता सामग्रीमध्ये केही आयोगमा मौज्दात रहेका छन् । आगामी निर्वाचनमा यिनैलाई प्रयोग गरिनेछ । यसका कारण पनि केही बजेट कटौती हुन सकेको हो ।
निर्वाचनमा प्रविधिको प्रयोग बढाउन नसक्नुले खर्च बढाएको छ । समयअनुसार प्रविधिको प्रयोग बढाउने र मान्छेको प्रयोग कम गर्ने हो भने चुनावी खर्च घट्नेछ । आयोगले मुलुकभर भोटिङ मेसिन प्रयोग गर्न नसक्दा करोडौं रकम मतपत्र छपाइमा खर्च हुने गरेको छ ।
यस्तै, निर्वाचन खर्च बढ्नुको अर्को कारण म्यादी प्रहरी भर्ना गर्नु हो । गृह मन्त्रालयले निर्वाचनका बेला हजारौंको संख्यामा म्यादी प्रहरी भर्ना गरेर सुरक्षा व्यवस्था गर्दै आएको छ । मुलुकमा सेना, सशस्त्र र प्रहरी गरी २ लाखभन्दा बढी छन् । तैपनि हजारौंको संख्यामा म्यादी प्रहरी भर्ना गर्ने प्रचलन छ ।
सरकारी अधिकारीहरु निर्वाचन आयोग र सुरक्षा निकायले प्रत्येक चुनावमा विभिन्न वहाना गरी धेरै बजेट माग्ने भएकाले चुनाव खर्च बढ्दै गएको बताउँछन् । उनीहरुका अनुसार अनावश्यक रुपमा सवारीसाधन किन्ने, व्यक्तिगत रुपमा प्रयोग हुने महँगा सामान खरिद गर्ने, निर्वाचन कार्यालयहरुमा नयाँ सोफा, पर्दा आदि लगाउने गरिन्छ । कुल निर्वाचन खर्चको १० प्रतिशत हाराहारी यस्तै अनावश्यक खर्च हुन्छ ।


