गुगल, टिकटक, अमेजनलगायतका अन्तर्राष्ट्रिय प्रविधि कम्पनीले चालू आर्थिक वर्षको ७ कात्तिकसम्म नेपालमा सेवा सञ्चालन गरेबापत सरकारलाई दुई करोड ५८ लाख ११ हजार ६ सय ४२ रुपैयाँ विद्युतीय सेवा कर बुझाएका छन् ।
गैरनेपाली कम्पनीले नेपालमा डिजिटल प्रविधिको सेवा सञ्चालन गरेबापत २ प्रतिशत विद्युतीय सेवा कर लाग्ने आर्थिक ऐन, ०८२ को दफा १६ मा व्यवस्था छ । सोही व्यवस्थाअनुसार सरकारी निकायमा सूचीकृत नभए पनि कर कार्यालयमा दर्ता भएर सेवा दिइरहेका अन्तर्राष्ट्रिय प्रविधि कम्पनीले ठुला करदाता कार्यालयमार्फत सरकारलाई राजस्व भुक्तानी गरेका हुन् । कार्यालयका अनुसार सबैभन्दा बढी गुगलले एक करोड ४१ लाख ४९ हजार दुई सय ९२ रुपैयाँ कर दाखिला गरेको छ ।
त्यस्तै, एनसिएस पियर्सन इन्कर्पोरेटले ३८ लाख ४८ हजार दुई सय ७८ रुपैयाँ विद्युतीय सेवा कर बुझाएको छ । एनसिएस अमेरिकाबाट सञ्चालित प्रविधि कम्पनी हो, जसले शिक्षा, परीक्षण तथ्यांक व्यवस्थापनका लागि सफ्टवेयर विकास गर्ने काम गर्छ । यसैको माउ कम्पनी पियर्सन एजुकेसन लिमिटेडले पनि ११ लाख एक हजार तीन सय २९ रुपैयाँ कर दाखिला गरेको छ ।
त्यस्तै, विश्वभर मान्यताप्राप्त लेखा परीक्षण र वित्तसम्बन्धी योग्यता प्रदान गर्दै आएको चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स संघले २४ लाख ८५ हजार चार सय ८१ रुपैयाँ कर दाखिला गरेको ठुला करदाताको कार्यालयले जनाएको छ । अमेजनले १७ लाख ४५ हजार ११ रुपैयाँ, टिकटकले १६ लाख ९० हजार दुई सय चार रुपैयाँ, एप्पल डिस्ट्रिब्युसनले पाँच लाख ६८ हजार, जोहो कर्पोरेसनले एक लाख २५ हजार र एडोब सिस्टमले ९८ हजार एक सय ५४ रुपैयाँ कर दाखिला गरेको कार्यालयले जनाएको छ । फेसबुक निर्माता मेटा पनि कर तिर्नका लागि सम्पर्कमै रहेको कार्यालयले जनाएको छ ।
ठुला करदाता कार्यालयका प्रमुख दिलीप गौतमले कर कार्यालयमा दर्ता भएका २० अन्तर्राष्ट्रिय प्रविधि कम्पनीले नियमित कर बुझाइरहेको बताए । दर्ता नभई सेवा दिइरहेकालाई पनि मूल्य अभिवृद्धि कर (भ्याट) र विद्युतीय सेवा करमा आबद्धता गराउने प्रयास भइरहेको जानकारी दिए । ‘ठुला करदाता कार्यालयमा २० वटा मात्रै कम्पनी दर्ता भएका छन् । त्यसैले सबै कम्पनी करमा दर्ता भएका छैनन् । दर्ता भएकाले नियमित कर तिरिरहेका छन् । दर्ता नभएकालाई डिएसटी र भ्याटमा दर्ता गराउन हामीले प्रयास गरिरहेका छौँ,’ उनले भने ।
अघिल्लो सरकारले सूचीकरण गर्न अटेर गर्ने २६ कम्पनीलाई सञ्चालनमा प्रतिबन्ध लगाएको थियो । त्यसैले, अहिले दर्ता भएका २० भन्दा बढी कम्पनी सञ्चालनमा रहेको पुष्टि भएकाले सबैलाई कर प्रयोजनका लागि दर्ता गर्न आह्वान गरिरहेको कार्यालयले जनाएको छ ।
गत आवमा अन्तर्राष्ट्रिय प्रविधि कम्पनीहरूले कुल चार करोड ८९ लाख रुपैयाँ विद्युतीय सेवा कर बुझाएको ठुला करदाता कार्यालयले जनाएको छ । यसमध्ये फेसबुक निर्माता कम्पनी मेटाले सबैभन्दा बढी दुई करोड ९३ लाख ६ हजार पाँच सय ९६ रुपैयाँ दाखिला गरेको थियो ।
त्यस्तै, गुगलले ८९ लाख ९१ हजार चार सय, अमेरिकाबाट सञ्चालित शिक्षा, परीक्षण तथा तथ्यांक व्यवस्थापनका लागि सफ्टवेयर विकास गर्ने कम्पनी एनसिएस पियर्सन इन्कर्पोरेटले ४८ लाख २७ हजार चार सय ४०, नेटफ्लिक्सले १८ लाख तीन हजार एक सय सात, अमेजनले १६ लाख २३ हजार आठ सय २०, कामदारको दक्षता परीक्षण गर्ने प्रोमेट्रिक जापान कम्पनी लिमिटेडले १२ लाख १९ हजार सात सय चार, टिकटकले नौ लाख ७१ हजार आठ सय ६२, माइक्रोसफ्टवले दुई लाख १७ हजार र एडोब सिस्टमले ३३ हजार आठ सय २३ रुपैयाँ कर दाखिला गरेको कार्यालयले जनाएको छ ।


