Banijya News

आन्तरिक पर्यटकको आगमन सँगै होटलको अकुपेन्सी दर ५७ प्रतिशत पुग्यो

1
1.1K Shares

नेपालको आतिथ्य सेवामा सबैभन्दा बढी लगानी भएको बागमती प्रदेशमा सञ्चालित होटलमा पाहुना आगमन बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन २०८१/८२ अनुसार बागमतीमा होटलको कोठा भराइ दर (अकुपेन्सी) औसत ५७ प्रतिशत पुगेको छ । अघिल्लो आव २०८०/८१ मा अकुपेन्सी ५१.९ प्रतिशत थियो ।

विदेशी पर्यटकका साथै आन्तरिक पर्यटक आगमन समेत बढ्दा होटल, रेस्टुरेन्ट र ट्रेकिङ व्यवसायमा पाहुना बढेको अध्ययनले देखाएको छ ।

तथ्यांक अनुसार सबैभन्दा उच्च अकुपेन्सी कात्तिकमा ६७.८ प्रतिशतसम्म पुगेको थियो । सबैभन्दा कम अकुपेन्सी दर भने माघमा ४४.७ प्रतिशत कायम भएको देखिएको छ । साउनमा ४७.६ प्रतिशत, भदौ ५९.७, असोज ५९.२, मंसिर ६३.७, पुस ५६.६, फागुन ६०.५, चैत ६३.६, वैशाख ५६.८, जेठ ५४.५ र असारमा ४९.२ प्रतिशत अकुपेन्सी दर रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

होटल एसोसिएसन नेपाल (हान) अध्यक्ष विनायक शाह यस वर्ष पनि कात्तिकमा अकुपेन्सी दर उत्साहजनक नै देखिने बताउँछन् । यद्दपि, यस्तो ट्रेन्ड निरन्तर रहने वातावरण भने नरहेको उनको भनाइ छ ।

पदयात्रामा आउने पर्यटक यो सिजनमा बढी आउँछन् । यस्ता पर्यटक काठमाडौंको तुलनामा पोखरा, मनाङ, मुस्ताङ, चितवन वा लुक्ला जाने गर्छन् । सोहीकारण मोफसलका होटल भरिभराउ हुन्छन् ।

जेनजी आन्दोलनपछि काठमाडौंमा दुई पाँचतारे होटलका सेवा बन्दको प्रभावले अन्य पाँचतारेमामा व्यापार बढाएको छ ।

अहिले ठूला होटलको व्यापार सन्तोषजनक छ । त्यसमा पनि हिल्टन र ह्यात बन्द हुँदा ती होटलको व्यापार अन्य होटलमा बाँडिएको छ । यसले गर्दा सबैजसो पाँचतारे होटलमा चाप देखिएको उनले बताए ।

यसबाहेक थप दुई पाँचतारे होटल सांग्रिला र अन्नपूर्ण समेत अहिले सञ्चालनमा छैनन् । जसले गर्दा नयाँ खुलेका ठूला होटलले अहिले राम्रो अकुपेन्सीमा व्यापार गरिरहेका छन् ।

चितवन र पोखराका होटलमा सार्वजनिक बिदाको दिन होटलले राम्रो बिजनेस पाएका छन् । यहाँ आन्तरिक र भारतीय पर्यटक समेत पर्याप्त छन् । तराईका होटलमा समेत भारतीय पर्यटक आगमन सन्तोषजनक छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अवस्था समेत विश्लेषण गर्दै यस वर्ष सेवा क्षेत्रमा अझ सुधार हुने अपेक्षा छ ।

राष्ट्र बैंकका अनुसार जेनजी आन्दोलनपछि भदौमा विदेशी पर्यटक आगमन न्यून भए पनि त्यसपछिका महिनामा सुधार हुँदै गएको छ । यसले पर्यटकीय आयमा वृद्धि हुने भएको छ । साथै, अर्थतन्त्र समेत चलायमान बनाउने अनुमान गरिएको छ ।

यस अवधिमा क्षतिको पुनर्निर्माणले गति लिने तथा निर्वाचनका कारण यातायात, होटल तथा रेस्टुरेन्ट व्यवसाय विस्तार भई आयात बढ्न सघाउ पुग्ने अनुमान छ ।

1

Scroll to Top