नेपाली क्रिकेटको महाकुम्भ भनेर चिनिने नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सँस्करण मंसिर १ गतेबाट किर्तिपुर मैदानमा शुरु भएको छ । स्वदेशी तथा विदेशी खेलाडीले भरिपूर्ण यो म्याच हेर्न शुरुका दिनमा १३ हजार दर्शकले अग्रिम टिकट काटेका छन् । आकर्षण बढ्दै जाँदा एनपिएल संचालनबाट ३५ करोड रुपैयाँ भन्दा बढी रकम विभिन्न शिर्षकमा उठाउने योजना नेपाल क्रिकेट संघ (क्यान) ले बनाएको छ । क्यानका सचिव पारस खड्काले ३५ करोडभन्दा बढी रकम उठ्ने अनुमान गरेको बताएका छन् । क्यानले १५ करोड ३० लाख प्रयोजकबाट, नौ करोड सहभागी टिमहरूबाट र ओटिटीबाट पाँच करोड ३० लाख हुने जनाएको छ । त्यस्तै, टिकट बिक्रीबाट झण्डै १२ करोडसम्म उठ्ने अनुमान गरेको छ ।
क्यानको अनुमानअनुसार यस लिगले करिब ८० करोड रुपैयाँको आर्थिक गतिविधि देशमा हुनेछ । फ्रेन्चाइज खरिद, खेलाडी पारिश्रमिक, होटेल, विज्ञापन र मिडिया अधिकारबाट हुने कारोबारले देशको सुस्त अर्थतन्त्रमा एउटा गतिशील ऊर्जा प्रदान गर्ने छ ।
नेपाली क्रिकेट इतिहासमा पहिलोपटक सिटमा बसेर फ्लडलाइटमूनी खेल हेर्ने धेरैको सपना आज बिपनामा परीँणत हुँदैछ । क्यानले उद्घाटन दिनको टिकट मूल्य पाँच सय र एक हजार पाँच सय तोकेको छ । फाइनल र प्लेअफका लागि एक हजार र दुई हजार हुने जनाएको छ । समान्य दिन भने पाँच सय र एक हजार हुने छ । गत वर्षबाट सुरु भएको एनपिएलमा देशका विभिन्न सहरलाई प्रतिनिधित्व गर्दै आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस सिजन साबिक विजेता जनकपुर बोल्ट्स, उपिवजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स उपाधिका लागि भिड्नेछन् ।
क्रिकेट खेलाडीले फ्लडलाइटमूनि डे–नाइट म्याच खेल्नेछन् भने दर्शकले सिटमा बसेर त्यो खेलको मज्जा लिनपाउने छन् । आजबाट नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण सँगै नेपाली क्रिकेटमा एउटा नयाँ इतिहासको सुरुवात हुँदै छ ।
क्यानले प्रतियोगिताको एक दिनअघि नै तयारी पूरा भएको जनाएको छ । हाल खेल हुने एक मात्रै त्रिवि क्रिकेट मैदानमा ६ वटै फ्लडलाइट जडान भएको छ । यस्तै, स्थायी १० हजार र तीन अस्थायी गरी कुल १३ हजार सिट जडान भएका छन् । यता, क्यानले यसपटक पुरस्कार राशि भने वृद्धि गरेको छैन । क्यान सचिव पारस खड्काले पुरस्कार वृद्धि नहुने घोषणा गरेका हुन् । गत वर्ष च्याम्पियन भएको जनकपुरले एक करोड १० लाख पाएको थियो । उपविजेता भएको सुदूरपश्चिमले ५१ लाख प्राप्त गरेको हो । त्यस्तै, तेस्रो भएको कर्णाली याक्सले २५ लाख तथा चौथो भएको चितवनले १५ लाख प्राप्त गरेका थिए ।
एनपिएलमा यसपटक ४२ विदेशी खेलाडी अनुबन्ध भइसकेका छन् । सहभागी टिमले न्यूनतम ४ देखि अधिकतम ६ विदेशी खेलाडी राख्न पाउँछन् । हालसम्म काठमाडौं, विराटनगर र कर्णालीले ६–६ विदेशी खेलाडीको कोटा पूरा गरिसकेका छन् । पोखरा, जनकपुर, चितवन र लुम्बिनीले ५–५ जना अनुबन्ध गर्दा सुदूरपश्चिमले चार विदेशी खेलाडी राखेको छ ।
विराटनगरले दक्षिण अफ्रिकी पूर्वकप्तान फाफ डु प्लेसिसलाई आबद्ध गरेको छ । उनी नै प्रतियोगिताको ठुलो नाम हुन् । दक्षिण अफ्रिकाकै मर्चेन्ट डी लिग्ने पनि विराटनगरमा छन् । दक्षिण अफ्रिकाका अनुभवी स्पिनर इमरान ताहिर र वायन पार्नेललाई जनकपुरले अनुबन्ध गरेको छ ।
अस्ट्रेलियाको बिग बास लिगमा उत्कृष्ट प्रदर्शन गरेका क्रिस लिन, डार्सी सर्ट, जोस ब्राउन, साम हिजलेट र विलियम बासिस्टोजस्ता खेलाडी प्रतियोगितामा देखिनेछन् । इंग्ल्यान्डबाट विश्वकप जितिसकेको डाविड मलान, जासन रोयदेखि रवि बोपारासमेत एनपिएल खेल्दै छन् ।
कर्णाली याक्सले अफगानिस्तानका पूर्वकप्तान जाजिव जाद्रन, लुम्बिनीले अफगानिस्तानकै गुल्वादिन नाइव, सुदूरपश्चिमले स्कट कुगुलेइन र पोखराले न्युजिल्यान्डका जिमी निसमलाई अनुबन्ध गरेका हुन् ।
एनपिएलको दोस्रो सिजन मंसिर १ देखि २७ सम्म हुँदै छ ।


