Banijya News

मध्यरातमा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ

1
1.2K Shares

राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।मङ्सिर ७ गतेदेखि आन्दोलनको घोषणा गरेका प्रसाईं अहिले मध्यरातमा भक्तपुरको ठिमीस्थित निवासबाटै पक्राउ परेका हुन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतले उनलाई पक्राउ गरेको पुष्टि गरे । उनी जिल्ला प्रहरी परिसर काठमाडौँ र अनुसन्धान कार्यालयको संयुक्त टोलीद्वारा उनी पक्राउ परेका हुन् । उनलाई अहिले जिल्ला प्रहरी प्रहरी परिसरको कार्यालय भद्रकालीमा राखिएको छ । आन्दोलन घोषणा गरेर भड्कापूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि उनलाई पक्राउ गरिएको बताइएको छ ।

उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए । यतिमात्रै होइन देशको प्रतिष्ठासँगै जोडिएको एनपीएल समेत रोक्न उनले क्यानका अधिकारीहरुलाई चेतावनी दिएको सार्वजनिक भएको थियो । सोमबार मात्रै पनि प्रसाईंले भक्तपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरूको मागका बारेमा सरकारलाई जानकारी गराउँदा समेत कुनै चासो नदेखाएकाले पूर्वघोषित आन्दोलन नरोकिने बताएका थिए । उनले शान्तिपूर्ण आन्दोलन गर्न पाउने सबैको अधिकार भएकाले आन्दोलनलाई कसैले रोक्न नसक्ने धारणा राखेका थिए । त्यस्तै प्रसाईंले जेनजीले उठाएका मुद्दामा भन्दा वर्तमान सरकारको ध्यान निर्वाचनमा मात्रै केन्द्रित भएको भन्दै आपत्ति जनाएका थिए ।

आफूहरूले अघि सारेका एजेन्डाका बारेमा जनमत सङ्ग्रह गर्नुपर्ने उनको भनाइ थियो । प्रसाईं नेतृत्वको समूहले हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापनासहितको एजेण्डा अघि सार्दै आएको छ । उनको मागका सम्बन्धमा कात्तिक २६ गते गृह मन्त्रालयमा वार्ता समेत भएको थियो । तर उक्त वार्ता निष्कर्षविहीन भएको थियो । यसैबिच दुर्गा प्रसाईंको समर्थनमा नागरिक बचाउ दल बनेको छ । दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगिसकेको छ । निर्वाचन आयोगमा दिएको निवेदन अनुसार, पार्टीको नेतृत्वमा भने माधव खतिवडा रहेका छन् ।

प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउँदै आएका छन् । यही महाअभियानसँग मिल्दो नाममा दल बनाएका हुन् । यो पार्टीमा रहेका केन्द्रीय सदस्यहरू आइतबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन् ।

दल दर्ताका लागि निवेदन दिने आज अन्तिम दिन हो । भोलिदेखि मंसिर १० गतेसम्म प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय छ । निर्वाचन आयोगले भने दल दर्ताको निवेदन प्राप्त भएको खण्डमा कागजात पुगे÷नपुगेको हेर्ने र कागजात पुगेपछि दर्ता गर्ने बताउँदै आएको छ । मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय भएकाले त्यसदिनसम्मै निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएकाले चुनाव लड्न सक्नेछन् ।

प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका लागि तय भएको छ । दुर्गा प्रसाईं सरकारसँग विभिन्न माग राखेर अभियानमा छन् । उनलाई सरकारले चुनाव लडेर आउन र माग पूरा गर्न समेत आग्रह गर्दै आएको छ ।

यही कात्तिक १४ गते प्रधानमन्त्री सुशीला कार्कीले सम्पादकहरूसँग छलफल गरेकी थिइन् । त्यसबेला प्रधानमन्त्री कार्कीले झापामा पूराना नेता कमजोर भएको र दुर्गा प्रसाईं आउन सक्ने सम्भावना रहेको सुनाएकी थिइन् । यही कात्तिक २६ गते प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियानसँग सरकारले वार्ता गरेको थियो । गृह मन्त्रालयस्थित सिंहदरबारमा भएको वार्तामा प्रसाईंका प्रतिनिधिले ७ मंसिरबाट हुने आन्दोलनमा कुनै हिंसात्मक गतिविधि नहुने बताएका थिए ।

1

Scroll to Top