Banijya News

भैरहवामा लक्षभन्दा एक अर्ब बढी राजस्व संकलन

1
1.1K Shares

आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्षको पहिलो चार महिनामा लक्ष्यभन्दा धेरै राजस्व संकलन गर्दै उल्लेखनीय प्रगति हासिल गरेको छ।

कार्यालयले चार महिने अवधिका लागि ४ अर्ब २३ करोड ६८ लाख १४ हजार रुपैयाँ राजस्व सङ्कलन लक्ष्य निर्धारण गरेको थियो। तर कार्तिक मसान्तसम्ममा ५ अर्ब ३९ करोड ४६ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गर्न सफल भएको कार्यालय प्रमुख प्रेमराज पोखरेलले बताए ।

लक्ष्यभन्दा करिब १ अर्ब १५ करोड रुपैयाँ बढी राजस्व संकलन भइसकेको छ, जसले राजस्व प्रशासनको कार्यक्षमता र करदाताको दायरा विस्तार भएको संकेत गर्छ।

पोखरेलले राजस्व संकलनमा सबैभन्दा ठूलो हिस्सा अन्तःशुल्कबाट प्राप्त भएको बताए। मदिरा, चुरोट, गुटखा, पेट्रोलियम पदार्थलगायत वस्तुमा अन्तःशुल्क संकलन प्रभावकारी भएपछि राजस्व वृद्धि देखिएको उनको भनाइ छ।

गत आर्थिक वर्षको यस्तै अवधिमा भैरहवा कार्यालयले ३ अर्ब ५६ करोड २ लाख ६१ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो। यो वर्ष त्यही अवधिको तुलना गर्दा राजस्व वृद्धि दर उल्लेखनीय दरले उक्लिएको छ।

कार्यालयले करदाताको सेवा प्रवाह सुगम बनाइएको, दर्ता तथा नवीकरण प्रक्रिया नियमित गरिएको र राजस्व सचेतना कार्यक्रम विस्तार भएको कारण पनि राजस्व वृद्धिमा सहयोग पुगेको जनाएको छ। आगामी महिनाहरूमा पनि लक्ष्यअनुसार राजस्व संकलन जारी रहने कार्यालयको अपेक्षा छ।

1

Scroll to Top