सिटि होटल लिमिटेडले अवितरित २१ लाख ५० हजार ४१८ कित्ता हकप्रद शेयर लिलामी प्रक्रियाबाट विक्री गरी बाँडफाँट गरेको छ ।
अवितरित हकप्रद शेयर विक्रीका लागि कम्पनीले कात्तिक २३ गतेदेखि ३० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आह्नवान गरेको थियो । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र मंसिर ५ गते खोलि मंसिर ११ गते कम्पनीको सञ्चालक समितिको बैठकले शेयर बाँडफाँट गरेको हो ।
कम्पनीले भदौ २३ गतेदेखि असोज २६ गतेसम्म ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दा वितरण नभएको संस्थापकतर्फको १९ लाख ८९ हजार ९९९ कित्ता, कर्मचारीतर्फको ६ हजार कित्ता र सर्वसाधारण समूहतर्फको बाँकी १ लाख ५४ हजार ४१९ कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गरी बाँडफाँट गरेको हो । कर्मचारी र संस्थापक शेयरधनीहरूतर्फको शेयर भने २०८३ जेठ ४ गतेसम्म ‘लकइन’मा रहेको छ । प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका यी शेयर खरीदका लागि सम्बन्धित लगानीकर्ताहरूले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सक्ने व्यवस्था रहेको थियो ।
कम्पनीले संस्थापकतर्फको शेयर बाँडफाँटको अन्तिम मूल्य प्रतिकित्ता २५१ रुपैयाँ, कर्मचारीतर्फको शेयरको अन्तिम मूल्य प्रतिकित्ता ३०६ रुपैयाँ १० पैसा र सर्वसाधारणतर्फको ‘लकइन’मा नरहेको शेयरको अन्तिम मूल्य प्रतिकित्ता ४३६ रुपैयाँ कायम गरी उक्त मूल्यमा बोलपत्र पेश गर्नेहरूको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रूपमा शेयर बाँडफाँट गरेको जानकारी दिएको छ । यी शेयर बाँडफाँटमा नपरेको रकम मंसिर १२ गतेदेखि फिर्ता भुक्तानी गरिएको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको आधारमा ८० प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । लिलामीमा सम्पूर्ण कित्ता अवितरित हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ कायम भएको छ ।


