शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा लगायत सञ्चालन स्वीकृति तथा नवीकरणका लागि गैरकर तोकेको छ। मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ (संशोधनसहित) बमोजिम गैरकर तोकेको जनाएको छ।
मन्त्रालयले आज(शुक्रबार) जारी गरेको सूचनामा भनिएको छ, ‘शैक्षिक परामर्श सेवा, भाषा शिक्षण कक्षा, तयारी कक्षा र भाषा परीक्षण सञ्चालन स्वीकृति तथा नवीकरण लगायतका विषयमा निर्णय मितिदेखि लागू हुने गरी मिति २०८२।७।२८ को मन्त्रिस्तरीय निर्णयानुसार निर्धारण भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि प्रकाशित गरिएको छ।’
जसअनुसार शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण संस्था स्वीकृति आवेदन दस्तुर प्रतिसंस्था पाँच हजार, शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण संस्था स्वीकृति दस्तुर प्रतिसंस्था ५० हजार, शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण संस्था नवीकरण दस्तुर प्रतिसंस्था प्रतिवर्ष २० हजार ताेकिएकाे छ।
नवीकरण विलम्ब दस्तुर प्रतिवर्ष पाँच हजार, शैक्षिक मेला आयोजना स्वीकृत (नेपाली आयोजक नेपाल शिक्षा) प्रतिसंस्था/दिन पाँच हजार, शैक्षिक मेला आयोजना स्वीकृत (नेपाली आयोजक विदेश शिक्षा) प्रतिसंस्था/दिन/स्टल १० हजार ताेकिएकाे छ।
यसैगरी शैक्षिक मेला आयोजना स्वीकृत (नेपाली आयोजक र विदेश शिक्षाका लागि विदेशी संस्थाका प्रतिनिधि सहभागी भएमा) प्रतिसंस्था/दिन/स्टल २० हजार र शैक्षिक मेला आयोजना स्वीकृत (विदेशी आयोजक) प्रतिसंस्था/दिन/स्टल एक हजार अमेरिकी डलर तोकिएको छ।


