Banijya News

एनपिएलमा आज दुई खेल हुँदै

1
1.1K Shares

दोस्रो संस्करणको एनपिएलअन्तर्गत मंगलबार दुई खेल हुनेछन् । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११:४५ बजे पहिलो खेलमा साबिक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोजबिच खेल हुनेछ । दिउँसो ४ बजे पोखरा एभेन्जर्सले कर्णाली याक्सको सामना गर्नेछ । लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जित्दा गणितीय आधारमा प्लेअफको दौडमा कायम रहन चाहन्छ । हारले जनकपुरको प्लेअफमा पुग्ने सबै सम्भावना समाप्त हुनेछ ।

यसकारण चितवनविरुद्धको खेल जनकपुरका लागि गर या मरका रूपमा रहेको छ । चार खेलमा दुई जित निकालेको चितवनका लागि जनकपुरसँगको प्रतिस्पर्धा पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । जितले चितवनको प्लेअफको सम्भावना बलियो बन्नेछ । जनकपुरले लगातार चार खेल गुमाउँदा ब्याटिङ र बलिङमा फितलो प्रदर्शन गरेको थियो ।

जनकपुरले चालू सिजनमा च्याम्पियनशैलीमा प्रतिस्पर्धा गर्न सकिरहेको छैन । खराब प्रदर्शनका कारण नै जनकपुरले नियमित कप्तान अनिल साहलाई हटाउँदै विदेशीलाई जिम्मेवारी दिएको छ । अर्को खेलमा पोखरा र कर्णाली पनि प्लेअफ दौडको आशा जीवितै राख्न प्रतिस्पर्धा गर्नेछन् । कर्णालीले लगातार दुई गुमाउँदा प्लेअफ स्थान कमजोर बनाएको हो ।

विराटनगर किंग्स र काठमाडौं गोर्खाजबाट कर्णालीले हारको सामना गरेको थियो । चार खेलमा एक खेल मात्रै जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ । पोखरा र कर्णालीका लागि भने यो खेल गर या मरको अवस्थामा छ । कर्णाली अहिले विदेशीमाथि आशा लगाएको छ । न्युजिल्यान्डका जिमी निसम फर्किँदा पोखराको ब्याटिङ कमजोर बनेको छ ।

यद्यपि, पोखराले उनको स्थानमा जासन रोय खेलाउनेछन् । इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट खेलिसकेका रोयले निसमको अभाव पूरा गर्ने अपेक्षा छ । १ मंसिरदेखि सुरु भएको एनपिएलमा आइतबारसम्म १९ खेल सम्पन्न भए । अपराजित सुदूरपश्चिम रोयल्स १० अंकका साथ प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।

1

Scroll to Top