नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालगन्जस्थित होटल सोल्टी वेस्टेण्डमा आयोजित समारोहमार्फत कर्णाली र सुदूरपश्चिम प्रदेशका उत्कृष्ट अभिकर्ता तथा विभाग प्रमुखहरूलाई सम्मान गरेको छ । कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्पन्न गरिएको हो ।
आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क लक्ष्य हासिल गर्दै कर्णाली प्रदेशबाट ११५ जना र सुदूरपश्चिम प्रदेशबाट १६१ जना अभिकर्ता सिइओ क्लब सदस्यताका लागि चयन भएका थिए । सोही अवसरमा विभागीय प्रमुख, प्रदेश प्रमुख तथा लुम्बिनी प्रदेशअन्तर्गतका शाखा प्रमुखहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रमको शुभारम्भ खत्रीले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए ।
सिइओ क्लबमा चयन भएका अभिकर्तालाई सदस्यता वितरण र सम्मानसँगै कोड तथा संजालका आधारमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले कर्णाली र सुदूरपश्चिम प्रदेशका ‘नेशनल रत्न’ तथा ‘नेशनल स्टार’ विजयी अभिकर्तालाई नेशनल लाइफ लोगोसहित चाँदीको मेडल, प्रशंसापत्र र खादा प्रदान गरेका थिए। उनले कम्पनीले प्रदेश–प्रदेशमा सम्मान कार्यक्रम सञ्चालन गर्ने रणनीति अघि बढाएको बताउँदै गण्डकी प्रदेशमा पहिलो कार्यक्रम सम्पन्न भइसकेको र यो दोस्रो चरण रहेको जानकारी दिए ।
उनका अनुसार अभिकर्तामैत्री योजनाको भागस्वरूप ल्याइएको सिइओ क्लब सदस्यता योजना अत्यन्त सफल रहन सफल भएको छ र हालसम्म नेपालभरबाट १६०० भन्दा बढी अभिकर्ता यसका सदस्य छनोट भइसकेका छन् ।
कार्यक्रममा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले अभिकर्ताहरुलाई विशेष व्यवसायिक तालिम प्रदान गरेका थिए । उनले जीवन बीमा व्यवसायमा सफलताको लागि व्यापक रूपमा ग्राहकसम्पर्क विस्तार गर्न आवश्यक ज्ञान र सीप अत्यावश्यक भएको बताए ।
समारोहमा सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम लिन पाएको तथा प्रमुख कार्यकारी अधिकृतबाट सम्मान प्राप्त गर्न पाउँदा आफ्नो मेहनतको कदर भएको महसुस भएको प्रतिक्रिया दिएका छन् ।


