Banijya News

बिमा कम्पनीहरूले ८० अर्ब कमाउँदा कति गरे लगानी ?

1
1.1K Shares

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा जीवन र निर्जीवन दुवै बीमा कम्पनीले झन्डै ८० अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन्।

जीवन बीमामा दोहोरो अंकको वृद्धि कायम रहँदा निर्जीवन बीमा व्यवसाय पनि स्थिर रूपमा बढेको देखिएको छ । बीमालेख संख्या तथा बीमित जनसंख्या दुवै बढेर बीमा क्षेत्रको समग्र दायरा झण्डै ५० प्रतिशत पुगेको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म बीमा कम्पनीहरुले ७९ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को कात्तिकसम्म बीमा कम्पनीहरुले ६८ अर्ब ५ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बीमा कम्पनीहरुको व्यवसाय १७.४६ प्रतिशतले बढेको छ। हाल नेपालमा १४ वटा जीवन, १४ वटा निर्जीवन, ३ वटा लुघ जीवन र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरुले व्यवसाय गरिरहेका छन्।

जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिकसम्म ६३ अर्ब ७२ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो अघिल्लो वर्षको तुलनामा १८.६७ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कम्पनीहरुले ५३ अर्ब ६९ करोड ९० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।

चालु आर्थिक वर्षको कात्तिकसम्म कम्पनीहरुले १४ अर्ब २० करोड ५९ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र ४९ अर्ब ५१ करोड ६९ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन्।

अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले ११ अर्ब १ करोड ६ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र ४२ अर्ब ६८ करोड ८३ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा प्रथम बीमाशुल्क २९.०२ प्रतिशत र नवीकरण बीमाशुल्क १६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेख संख्या १ करोड ६० लाख ६३ हजार ४७८ वटा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म सक्रिय बीमालेख संख्या १ करोड ३८ लाख ४ हजार ६४७ वटा थियो। बीमालेख संख्या १६.३६ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले १६ अर्ब २१ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले १४ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय १२.९३ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म जीवन बीमालेख संख्या (म्यादी, लघु म्यादी, वैदेशिक रोजगार जीवन बीमालेखबाहेक) ५८ लाख ७९ हजार ८६६ वटा रहेको छ। जुन अघिल्लो वर्ष यही अवधिको तुलनामा ५.६४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म यो संख्या ५५ लाख ६५ हजार ८३७ वटा थियो।

चालु आर्थिक वर्षको कात्तिकसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ७७ लाख ४० हजार ५२२ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २४ लाख ४३ हजार ९० वटा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ६० लाख ७० हजार ७५५ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २१ लाख ६८ हजार ५५ वटा थियो। अघिल्लो वर्षको तुलनामा म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या २७.५१ प्रतिशत र वैदेशिक रोजगार बीमालेख संख्या १२.६९ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म बीमाको दायरामा आएको जनसंख्या बढेर ४९.४८ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बीमाको दायरामा आएको जनसंख्या ४२.९२ प्रतिशत थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बीमा कम्पनीहरुले ८ खर्ब रुपैयाँ लगानी गरेका छन् । साउनदेखि असोज मसान्तसम्म कम्पनीहरुले ८ खर्ब ५४ अर्ब ७० करोड ६५ लाख रुपैयाँ लगानी गरेका छन् ।

जसमध्ये जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा पौने ७ खर्ब रुपैयाँ बढी लगानी गरेको पाइएको छ। ३ महिनाको अवधिमा १४ वटा जीवन बीमकले ७ खर्ब ८९ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ लगानी गरेको हुन् ।

यता, निर्जीवन बीमा कम्पनीहरुले भने ३ महिनाको अवधिमा ६४ अर्ब ८७ करोड ८३ लाख रुपैयाँ लगानी गरेका छन् । १४ निर्जीवन बीमा कम्पनीहरुले उक्त रकम लगानी गरेका हुन् ।

1

Scroll to Top