रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बाँडफाँड (प्रि–अलोटमेन्ट) पूरा गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने भएको छ। कम्पनीले पुस ७ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्नेछ।
कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याइएको कुल साधारण शेयरमध्ये ५७,७९८ कित्ता कम्पनीका कर्मचारीहरूलाई सुरक्षित राखी बाँकी रहेको ९ लाख २,७६८ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो। कम्पनीको प्रतिशेयर अंकित मूल्य रु. १०० रहे पनि संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ प्रक्रियाबाट निर्धारण भएको कट–अफ मूल्यको आधारमा सर्वसाधारणका लागि प्रतिशेयर मूल्य रु. ८२०.८० कायम भएको छ।
बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार योग्य संस्थागत लगानीकर्ताहरूलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँड गर्दा कट–अफ मूल्य रु. ९१२ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा सर्वसाधारणका लागि रु. ८२०.८० प्रतिशेयर कायम भएको हो।
लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्कासन छिटोमा पुस ११ गते बन्द हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा पुस २१ गतेसम्म लम्बिन सक्नेछ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्बा स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखाहरू तथा सीडीएस एण्ड क्लियरिङद्वारा सञ्चालित ‘मेरो शेयर’ अनलाइनमार्फत सि–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।
शेयर निष्कासनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल ए माइनस’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीमा समयमै वित्तीय दायित्व बहन गर्ने पर्याप्त क्षमता रहेको जनाउँछ।
रिलायन्स स्पिनिङ मिल्स नेपालको धागो उत्पादन गर्ने उद्योगमध्ये सबैभन्दा ठूलो रोजगारदाता उद्योग हो। कम्पनीले आफ्नो उत्पादनको ७०–७५ प्रतिशतभन्दा बढी भारत, टर्की, भियतनाम, यूकेलगायतका देशमा निर्यात गर्दै आएको छ। कम्पनीका अध्यक्ष पवन कुमार गोल्यान र प्रबन्ध सञ्चालक अक्षय गोल्यान हुन्। मुख्य उद्योग इटहरी नगरपालिका–१२, खनार, सुनसरीमा र शाखा उद्योग इटहरी–४, दुहाबी, सुनसरीमा रहेको छ।
कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.७५ वर्ष र डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि १०.६१ वर्ष रहेको जनाइएको छ।


