Banijya News

कर्जा नोक्सानी जोखिम रकम ४० अर्ब माथि

1
1.1K Shares

पछिल्लो प्रवृत्ति हेर्दा एकातर्फ बैंक तथा वित्तीय संस्थामा थप नयाँ कर्जाको माग अपेक्षा गरेअनुसार नआउनु र प्रवाह भैसकेका पूराना कर्जाको साँवा तथा ब्याज नउठ्दा अन्ततः दिनप्रतिदिन खराब कर्जाको आकार बढ्दै गएको छ ।

ऋण नतिर्ने ‘डिफल्डर’को आकार बढेसँगै कर्जा नोक्सानी जोखिमवापत अर्थात् कर्जा नोक्सानी प्रोभिजनल (लोन लस प्रोभिजनल)वापत छुट्याउने रकम बढ्दा बैंकहरुको नाफामा कमी आउने र अन्ततः लाभांशमा प्रभाव परेको छ ।

यद्यपी उक्त डिफल्ट कर्जा उठेको खण्डमा उक्त बराबरको रकम नाफामा देखिने छ । तर तत्काल ऋण नतिर्नेको आकार बढ्दा त्यसका लागि नेपाल राष्ट्र बैंकले तोकेअनुसारको रकम छुट्याउनु पर्ने व्यवस्था छ । जुन नाफाबाट घटाउनु परिरहेको छ ।

पछिल्लो नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मंसिर मसान्तसम्मको तथ्यांकअनुसार कर्जा नोक्सानी व्यवस्था अनुरुप छुट्याएको रकमको आकार झन् बढि रहेको छ । जसले बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापन खर्च तीव्र देखिन्छ ।

सामान्यतया बैंक तथा वित्तीय संस्थाहरुले हरेक त्रैमासिक वित्तीय विवरणमा निस्क्रिय कर्जाको तथ्यांक सार्वजनिक गरेअनुसारको कर्जा नोक्सानी खर्च हुने गर्दछ । तथापी नेपाल राष्ट्र बैंकले तथ्यांक तयार पार्दासम्म कर्जा नोक्सानीको आकार पुनः संशोधित भएर प्रकाशन हुने भएकाले केही थपघट हुन सक्ने पनि बताइएको छ ।

यसअनुरुप केन्द्रीय बैंकले मंसिरसम्मको बैंक तथा वित्तीय संस्थाहरू (‘क’, ‘ख’ र ‘ग’ को समग्र) सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को कात्तिकरसम्म आइपुग्दा जोखिम व्यवस्थापन, कर्जा नोक्सानी तथा करसम्बन्धी प्रावधानमा उल्लेख्य वृद्धि भएको देखिन्छ ।

यसले एकातिर बैंकिङ प्रणालीलाई सुरक्षित बनाउने प्रयास देखिए पनि अर्कातिर नाफामा भने मिश्रित प्रभाव परेको देखिन्छ । गत असार मसान्तसम्ममा कर्जा जोखिमका लागि कुल ८९ अर्ब ९७ करोड रुपैयाँ पुगेको थियो । यो अघिल्लो वर्षको तुलनामा करिब ५.२२ प्रतिशत बढी थियो ।

असारमा यस्तो जोखिमका लागि छुट्याएको रकमको तुलनामा भने पछिल्लो रकम कम हो । तथापी गत असोजमा भन्दा अहिले कात्तिकमा कर्जा नोक्सानीवापत छुट्याउने रकमको आकार बढेको देखिन्छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार गत असोजमा कर्जा नोक्सानी वापतको रकम ३८ अर्ब ९६ करोडमा थियो ।

त्यसपछि कात्तिकसम्ममा एक अर्ब ८७ करोड रुपैयाँ थपिएर कर्जा नोक्सानी जोखिम वापतको रकम ४० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । यो गत असोजको एक महिनाको अन्तरमा करिब ४.८ प्रतिशतले बढि हो ।

उक्त कुल जोखिमवापत छुट्याएको रकममा वाणिज्य बैंकहरुको हिस्सा ३४ अर्ब ७९ करोड, विकास बैंकमा चार अर्ब ८५ करोड र वित्त कम्पनीहरुमा एक अर्ब १७ करोड रुपैयाँ हाराहारीमा रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।

यसभित्र सामान्य कर्जा नोक्सानी प्रावधानमा केही कमी देखिए पनि पास लोन र वाच लिस्ट कर्जाका लागि गरिएको प्रावधान बढ्दो क्रममा छ । विशेषगरी वाच लिस्ट कर्जाको प्रावधान गत असोजको तुलनामा कात्तिकमा करिब ३.६ प्रतिशतले घटे पनि अघिल्ला वर्षको तुलनामा भने अझै उच्च नै रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाहरुको विशेष कर्जा नोक्सानी प्रावधान भने निरन्तर बढ्दो देखिएको छ । गत कात्तिकसम्म यस्तो प्रावधान ३१ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । यो गत असोजको तुलनामा करिब चार प्रतिशतले वृद्धि भएको हो ।

यसले समस्याग्रस्त कर्जाको दबाब अझै कायमै रहेको संकेत गर्छ । बैंकिङबाहेकका सम्पत्तिका लागि गरिएको प्रावधानमा लगानीमा हुने सम्भावित नोक्सानी र अन्य सम्पत्तिमा हुने क्षतिमा पनि उल्लेख्य उतार चढाव देखिएको छ ।

विशेषगरी अन्य सम्पत्तिको नोक्सानी प्रावधान अघिल्लो अवधिको तुलनामा बढेको छ ।

1

Scroll to Top