नेपाल आयल निगम लिमिटेडले स्वचालित मूल्य प्रणाली बिपरित भारतबाट प्रतिलिटर सात रुपैयाँ घटेर आएको डिजेलको भाउ नेपालमा चार रुपैयाँ मात्रै घटाउने निर्णय लिएको छ । तर, १.९४ रुपैयाँ प्रतिलिटर बढेर आएको पेट्रोलको भाउ भने सोभन्दा बढी प्रतिलिटर दुई रुपैयाँका दरले बढाउने निर्णय गरेको छ ।
सोमबार रातिबाट लागू हुने गरी समायोजन भएको भाउअनुसार काठमाडौंमा पेट्रोल १६३ रुपैयाँ र डिजेल तथा मट्टितेल समान १४२ रुपैयाँ प्रतिलिटर कायम भएको छ । भारतबाट जुन मूल्यमा थपघट भएर आउँछ सोही मूल्यमा नेपालमा पनि समायोजन गर्नेगरी स्वचालित मूल्य प्रणाली लागू भए पनि निगमले पेट्रोलियम पदार्थको भाउमा नियन्त्रण कायम राख्दै आएको छ ।
यसपटक भारतबाट घटेर आएको तुलनामा डिजेलको मूल्य समायोजन नगरेको निगमले बढेको भाउअनुसार भने पेट्रोलमा मूल्य वृद्धि गरेर स्वचालित प्रणालीकै धज्जी उडाएको छ ।


