धितोपत्र बजारको पुँजीकरण ४२ खर्ब ६५ अर्ब ६८ करोड रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म धितोपत्र बजारको कुल पुँजीकरण उक्त रकममा सीमित भएको हो, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम हो ।
गत आर्थिक वर्षको कात्तिक मसान्तमा धितोपत्र बजार पुँजीकरण ४३ खर्ब ७६ अर्ब ९० करोड रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार ०८१ कात्तिक मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ७६.६७ प्रतिशत बराबर रहेकामा यस वर्षको कात्तिक मसान्तमा घटेर ६९.८५ प्रतिशत मा झरेको छ ।
त्यस्तै, चालु आवको कात्तिकसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत कम्पनीको संख्या २८३ पुगेको छ । जसमा १३३ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् भने ९७ जलविद्युत कम्पनी, २४ उत्पादन तथा प्रशोधन उद्योग, आठ होटल, सात लगानी कम्पनी, चार व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् ।
गत वर्षको कार्तिकमा सूचीकृत कम्पनीहरूको संख्या २६७ रहेको थियो । राष्ट्र बैंकका अनुसार नेप्सेमा गत कार्तिक मसान्तमा सूचीकृत नौ अर्ब दुई करोड सेयरको चुक्ता मूल्य आठ खर्ब ८९ अर्ब ५३ करोड रहेको छ ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले नौ अर्ब ४३ करोडबराबरको म्युचुअल फन्ड, तीन अर्ब ७८ करोडबराबरको हकप्रद सेयर र तीन अर्ब ३७ करोडको साधारण सेयर गरी कुल १६ अर्ब ५७ करोडबराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।


