राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रियाका लागि रुपन्देही जाँदैछन्। रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले सर्शत धरौटीमा छोड्न आदेश दिएपछि शुक्रबार उनी रुपन्देही जान लागेका हुन्।
उनलाई रिहाइको प्रक्रियाका लागि नख्खु कारागारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याएको हो। केहीबेर जहाजबाट उनी भैरहवा जाँदैछन्। जिल्ला अदालत रुपन्देहीबाट छुटपुर्जी कागजात लिएर धरौटी बुझाएपछि उनी थुनामुक्त हुनेछन्।
जिल्ला अदालत रूपन्देहीले थुनछेकको क्रममा माग गरेको १ करोड धरौटी,लामिछनेले पेस गरेको बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत र कागज गराएर थुनामुक्त गर्न बिहीबार आदेश दिएको हो।
यसअघि लामिछानेले आफ्नो भागको बिगो रकम २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत दाखिला गर्दा जिल्ला अदालत रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो । त्यसपछि बिगो बमोजिमको रकम बुझाएर थुना बाहिर बसेर मुद्दा लड्न पाउँ भनी उच्च अदालतमा निवेदन दिएका थिए।


