Banijya News

हिउँदमा उत्पादन घटेसँगै भारतबाट बिजुली किन्दै प्राधिकरण

1
1.1K Shares

सुक्खा सिजन शुरू भएसँगै नेपालले भारतबाट दैनिक ६ लाख ७० हजार युनिट (६७० मेगावाट आवर) बिजुली आयात गर्न थालेको छ । नदी तथा खोलामा पानीको बहाव घट्दै गएर बिजुली अपुग हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले करीब १ सातादेखि दिनको समयमा भारतबाट बिजुली आयात गरिरहेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले रातिको समयमा बिजुली भारत निर्यात गरिरहे पनि दिनको समयमा आयात भएको जानकारी दिए ।

उनका अनुसार यतिबेला नेपालले दैनिक ३३ लाख युनिट (३ हजार ३०० मेगावाट आवर) विद्युत् निर्यात पनि गरिरहेको छ । यसअघि भारतको केन्द्रीय विद्युत् प्राधिकरणले गत कात्तिक तेस्रो साता प्राधिकरणलाई आईईएक्सबाट १ हजार ५४ मेगावाट विद्युत् खरीद गर्न सक्ने गरी स्वीकृति दिएको थियो । तर, त्यसमा म्याद भने ३१ डिसेम्बर अर्थात् १६ पुससम्म मात्रै रहेकोले त्यसपछि विद्युत् आयात गर्न भने नेपालले फेरि अनुमति लिनुपर्ने छ ।

पुस १६ पछि विद्युत् आयातका लागि हालसम्म स्वीकृति प्राप्त नभएको प्राधिकरणले बताएको छ । त्यसका लागि प्रक्रिया अघि बढेकाले चाँडै स्वीकृति प्राप्त हुने शाक्यले बताए ।

नेपालमा अधिकांश नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना छन् । जसले गर्दा वर्षामा जडितक्षमता बराबर नै विद्युत् उत्पादन हुन्छ, जुन बेला स्वदेशी माग धानेर निर्यात गर्नसम्म पुग्छ । वर्षामा भारत र बंगलादेशमा विद्युत् निर्यात गर्न पनि पुग्छ ।

तर, हिउँदमा खोलामा पानी कम हुँदा विद्युत् उत्पादन कम हुन्छ । यस्तो बेला स्वदेशी माग धान्न भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था छ । हाल नेपालको कुल विद्युत् जडितक्षमता ३ हजार ८०० मेगावाट छ । अधिकतम माग करीब २ हजार २०० मेगावाट छ । तर, अहिले खोलामा पानीको
बहाव घटेसँगै पिक आवरको विद्युत् माग २ हजार १०० मेगावाट र उत्पादन क्षमता २ सय २०० मेगावाट मात्रै रहेको शाक्यले बताए । उनका अनुसार नेपालले हाल रातिको समयमा भारतमा विद्युत् निर्यात गर्ने र दिनको समयमा आयात गर्ने गरे पनि अब पुसको १६ गतेदेखि निर्यात पूर्णरूपमा बन्द हुने र आयात मात्रै हुनेछ ।

भारतले गतवर्ष २० नोभेम्बरदेखि १५ मार्चसम्म ६५० मेगावाट विद्युत् खरीद स्वीकृत गरे पनि पिक आवरमा आयात गर्न नपाउने शर्त राखेको थियो । त्यसपछि १६ मार्चदेखि ३० जुनसम्म दैनिक १२ घण्टा (बिहान ६ देखि साँझ ६ बजेसम्म) मात्र ६५४ मेगावाट आयात अनुमति दिइयो । पछि पहलपछि राति ११ देखि बिहान ४ बजेसम्म पनि आयात गर्न पाउने सुविधा थपिएको थियो । यसपालि पनि त्यस्तै स्वीकृति आउने अपेक्षा प्राधिकरणले गरेको छ ।

1

Scroll to Top