बलिउड अभिनेत्री तथा चर्चित डान्सर नोरा फतेही शनिबार दिउँसो भयानक कार दुर्घटनामा परेकी छन् । दुर्घटनाका कारण उनको टाउकोमा चोट लागेको छ । तर, चोटका बाबजुद पनि उनले शनिबार साँझ एक कन्सर्टमा आफ्नो प्रस्तुति दिएकी छिन् ।
नोरा ‘सनबर्न फेस्टिभल’मा डेभिड गुएटाको कन्सर्टमा सहभागी हुन जाँदै गर्दा दुर्घटनामा परेकी हुन् । तीव्र गतिमा कार चलाइरहेका एक मदिराले लठ्ठ व्यक्तिले नोराको कारलाई जोडले ठक्कर दिएका थिए ।
नोराले एक भिडियो जारी गर्दै यो घटना दिउँसो ३ बजे भएको जानकारी दिएकी छिन् । ती चालकले नोराको कारलाई मात्र नभई अन्य धेरै मानिसहरूलाई पनि ठक्कर दिएका थिए, जसका कारण केही व्यक्तिहरू घाइते भएका छन् ।
ठक्करका कारण नोराको टाउकोमा चोट लागेपछि उनलाई तुरुन्तै नजिकैको अस्पताल लगिएको थियो । अस्पतालमा उनको सिटी स्क्यान गर्दा गम्भीर आन्तरिक चोट नदेखिएको चिकित्सकहरूले बताएका थिए । चिकित्सकको सल्लाह र अनुमतिपछि नोरा शनिबार राति ‘सनबर्न २०२५’ मा प्रस्तुति दिन पुगेकी थिइन् ।
नोरा फतेहीको तर्फबाट उक्त चालकविरुद्ध उजुरी दर्ता गरिएको छ र प्रहरीले ती व्यक्तिलाई हिरासतमा लिइसकेको छ । दुर्घटनाको खबर सार्वजनिक भए लगत्तै नोराले सनबर्नमा दिएको प्रस्तुतिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । दुर्घटनाको पीडाका बाबजुद उनले पूर्ण ऊर्जाका साथ स्टेजमा प्रस्तुति दिएको भन्दै फ्यानहरूले उनको प्रशंसा गरिरहेका छन् ।


