मूल्य बढेर कारोबारमा शिथिलता आएपछि एक महिनादेखि नेपालमा सुन आयात ठप्प छ । वाणिज्य बैंकहरूले गत मंसिरदेखि सुन आयात गरेका छैनन् । भन्सार विभागको तथ्यांकअनुसार मंसिर महिनामा एक केजी मात्रै सुन आयात भएको छ ।
चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा कुल नौ सय तीन केजी सुन आयात भएको छ । त्यसमा साउनमा एक सय केजी, भदौमा एक सय एक केजी, असोजमा चार सय केजी, कात्तिकमा तीन सय केजी सुन आयात भएको तथ्यांक छ । मंसिरमा बिहेको सिजन भएका कारण नयाँ सुनका गरगहनाको माग उच्च हुन्छ ।
मंसिरमा सुन आयात नभए पनि पाँच महिनाको भित्रिएको सुन गत आवको सोही अवधिको भन्दा ३८५.५४ प्रतिशतले बढी हो । गत आवको पहिलो पाँच महिनामा एक सय ८६ केजी सुन आयात भएको थियो । चालू आव पहिलो पाँच महिनामा नौ सय तीन केजी सुन आयात भएको छ । गत आवमा सुनको मूल्य बढेपछि पहिलो पाँच महिना कारोबार पनि धेरै सुस्ताएको थियो, त्यसले गर्दा गत आवको समीक्षा अवधिमा सुनको आयात न्यून थियो ।
रकमका आधारमा समीक्षा अवधिमा १५ अर्ब ७२ करोड ११ लाख ५० हजार रुपैयाँको सुन आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ६७०.५५ प्रतिशतले बढेको छ । गत आवको पहिलो पाँच महिनामा दुई अर्ब चार करोड दुई लाख २७ हजार रुपैयाँको सुन आयात भएको थियो । मूल्य बढेपछि रकमका आधारमा वृद्धिदर बढी देखिएको हो । गत आवभर १७ अर्ब १२ करोड ८९ लाख ५० रुपैयाँबराबरको १३ सय ८९ केजी सुन आयात भएको थियो । आव ०८०/८१ मा २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार रुपैयाँबराबरको २६ सय ५१ केजी सुन आयात भएको थियो ।
यता चाँदीको आयात भने कात्तिकदेखि नै ठप्प देखिएको छ । विभागको तथ्यांक कात्तिकमा दुई सय ग्राम मात्रै चाँदी आयात भएको छ । मंसिरमा चाँदी आयात नै भएको छैन । अहिले चाँदीको मूल्य पनि बढ्दो क्रममा छ । मूल्य बढेपछि यसको कारोबार पनि प्रभावित भएको छ । पछिल्लो समय केही व्यक्तिले लगानीकै रूपमा चाँदीको माग गर्ने गरेका छन् । चालू आवको पाँच महिनामा कुल एक हजार केजी तीन सय ३४ ग्राम चाँदी आयात भएको छ । त्यसमा साउनमा ३४ ग्राम र असोजमा एक हजार केजी १०० ग्राम चाँदी आयात भएको छ । तथ्यांकअनुसार गत भदौमा पनि चाँदी आयात भएको थिएन । गत आवको पाँच महिनामा एक केजी एक सय तीन ग्राम मात्रै चाँदी आयात भएको थियो । त्यसको तुलनामा भने चाँदीको आयात बढेको हो ।
रकमका आधारमा समीक्षा अवधिमा २० करोड १४ लाख ११ हजार रुपैयाँको चाँदी आयात भएको थियो । गत आवको पाँच महिनामा दुई लाख १० हजार रुपैयाँको चाँदी आयात भएको थियो । गत आवभर भने पाँच लाख ३० हजार रुपैयाँ रुपैयाँबराबरको झन्डै पाँच केजी मात्रै चाँदी आयात भएको थियो । मूल्य बढेकै कारण गत आवमा चाँदीको कारोबार प्रभावित भएको थियो ।
आव ०८०/८१ मा ११ करोड ६२ लाख २९ हजार रुपैयाँबराबरको १२ सय २४ केजी र आव ०७९/८० मा एक अर्ब ५१ करोड ८० लाख ७८ हजारबराबरको १५ हजार चार सय ३० केजी चाँदी आयात भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला दुई लाख ६९ हजार तीन सय र चाँदीको मूल्य प्रतितोला चार हजार पाँच सय ६५ रुपैयाँ तोकेको छ, जुन हालसम्मकै उच्च हो ।


