Banijya News

रवि, कुलमान, बालेन अव एकै रास्वपामा, यस्तो छ सात बुद्धे सहमति

1
1.2K Shares

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित हुने भएको छ। कमल पोखरीमा सोमबार साँझ कुलमान, रवि र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच भएको वार्तामा यो सहमति भएको हो ।

यी तीनजनालाई जेन-जी अभियन्ता सुधन गुरुङले वार्तामा बसाएका थिए । अब समानुपातिकतर्फको अन्तिम सूची पनि एकता सहमतिअनुसार समायोजन गरेर निर्वाचन आयोगमा लगिनेछ ।

कुलमानले यसअघि फागुन २१ को निर्वाचनपछि प्रधानमन्त्रीको दाबी गरेका थिए । तर पछिल्लो समय उनले रास्वपामा आफूलाई दोस्रो वरीयता र २५ प्रतिशत हिस्सा चाहिने अडान राखेका थिए । तीन नेताबीच सहमति भएको खबर उनै सुदनले सार्वजनिक गरेका हुन् । अब तीनजनाबीच हस्ताक्षरपछि समानुपातिक सूची आयोगमा लगिनेछ । तर के कस्तो सहमति जुट्यो भन्ने बाहिर आइसकेको छैन ।

सहमति जुटेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप उपाध्याय लगायतका नेताहरू कमल पोखरी पुगेका छन् । सुदन गुरुङले राष्ट्रियता र एकताका लागि पार्टीहरू एकीकरण भएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता सम्बन्धी सहमति पत्र
१. नवयुवाहरू (Gen-Z) ले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै घाइते तथा शहीद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने,
२. उज्यालो र आत्मनिर्भर अर्थतन्त्र डेलिभरीमा आधारित राजनीति, योग्यताप्रणाली (Meritocracy) को स्थापना, भ्रष्टाचार शून्य सहनशीलता र सुशासन प्रति प्रतिबद्ध रहँदै, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने,
३. पहिलो पक्ष र दोस्रो पक्षबिच एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी दलको झन्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बिचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डी पी अर्याल, र स्वर्णिम वाग्ले रहने,
५. उज्यालो नेपालको अभियानलाई अपनत्व लिई राष्ट्रिय स्वतन्त्र पार्टीको कर्यक्रमहरु सँग जोड्दै एकता पश्चात् पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,
६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्ताबेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह घण्टी मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तन कामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने ।

1

Scroll to Top