Banijya News

अब विदेशी लगानीकर्तालाई रकम फिर्ता लैजान सहज, कुन-कुन रकम फिर्ता लान पाइन्छ ?

1
1.1K Shares

नेपालमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले लगानी तथा आर्जित रकम फिर्ता लैजाने प्रक्रियालाई थप सरलीकृत गरिएको छ। नयाँ व्यवस्था अनुसार, अब विदेशी लगानीकर्ताले विभिन्न शीर्षकमा आर्जन गरेको रकम फिर्ता लैजानका लागि इजाजतपत्रप्राप्त वाणिज्य बैंकहरूबाटै सोझै विदेशी मुद्राको सटही सुविधा प्राप्त गर्न सक्नेछन् ।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा २० तथा दफा २६ का व्यवस्थाहरूलाई टेकेर ल्याइएको ‘विदेशी लगानी तथा आर्जित रकम फिर्ता लैजाने सटही स्वीकृति’ सम्बन्धी परिच्छेद-३ ले यो बाटो खुलाएको हो।

कुन-कुन रकम फिर्ता लैजान पाइन्छ ?

सार्वजनिक भएको व्यवस्था अनुसार अब वाणिज्य बैंकहरूले विदेशी लगानीकर्ताले नेपालमा आर्जन गरेका विभिन्न शीर्षकका रकम फिर्ता लैजान विदेशी मुद्रा सटही सुविधा उपलब्ध गराउने छन्। यसअन्तर्गत विदेशी लगानीकर्ताले आफ्नो लगानीको शेयर बिक्रीबाट प्राप्त रकम विदेश पठाउन सक्नेछन्। त्यस्तै, विदेशी लगानीबाट प्राप्त मुनाफा वा लाभांश पनि सोझै फिर्ता लैजान पाउने व्यवस्था गरिएको छ।

उद्योग वा कम्पनी खारेजी (लिक्विडेसन) मा गएपछि सबै दायित्व चुक्ता गरी बाँकी रहने रकम समेत विदेशी लगानीकर्ताले फिर्ता लैजान सक्नेछन्। प्रविधि हस्तान्तरण सम्झौता अन्तर्गत प्राप्त रोयल्टी बापतको रकम पनि सटही सुविधाभित्र समेटिएको छ। तर, शतप्रतिशत निकासी बाहेकका मदिराजन्य उद्योगमा ट्रेडमार्क प्रयोगबापतको रोयल्टीका हकमा भने छुट्टै नियमावली लागू हुने व्यवस्था गरिएको छ।

यस्तै, लिज लगानी अन्तर्गतको लिज भाडा (लिज रेन्ट) रकम, नेपालमा चलेका मुद्दा, मध्यस्थता वा अन्य कानुनी प्रक्रियाको अन्तिम टुंगो लागेपछि प्राप्त हर्जाना वा क्षतिपूर्ति बापतको रकम पनि विदेश लैजान सकिनेछ। राष्ट्र बैंकले तोके बमोजिम विशिष्टीकृत लगानी कोषको इकाई बिक्रीबाट प्राप्त रकम र त्यसबाट आर्जन भएको मुनाफा समेत फिर्ता लैजान पाउने सूचीमा समावेश गरिएको छ।

यसका साथै प्रचलित कानुनअनुसार फिर्ता लैजान पाइने अन्य सबै रकममा समेत वाणिज्य बैंकमार्फत विदेशी मुद्रा सटही सुविधा उपलब्ध हुने व्यवस्था गरिएको छ।

1

Scroll to Top