नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालयले यस वर्ष बाँकेका किसानसँग कोटाभन्दा बढी धान खरिद गरेको छ। यस वर्ष नेपालगञ्ज कार्यालयले १५ हजार क्विन्टल मोटा र पाँच हजार क्विन्टल मध्यम धान खरिदको कोटा पाएको थियो।
मोटा र मध्यम गरी २० क्विन्टल खरिदको कोटा पाएकामा १५ हजार २९४ दशमलव ५० क्विन्टल मोटा र चार हजार ९९९ दशमलव ७० क्विन्टल मध्यम गरी २० हजार २९४ दशमलव २० क्विन्टल धान खरिद गरिएको कार्यालय प्रमुख रामशरण लामिछानेले जानकारी दिए।
images
उनका अनुसार मोटा धान ५ करोड २९ लाख ७७ हजार २४२ रुपैयाँ र मध्यम धान १ करोड ८१ लाख ४० हजार ५६१ रुपैयाँको धान खरिद गरिएको छ। मोटा धानको ३ हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ ३३ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा किसानसँग धान खरिद गरिएको लामिछानेले बताए।
केन्द्रबाट सीमित बजेट छुट्याइएको र सोहीअनुसार धान खरिदको कोटा प्राप्त भएकाले सोहीअनुसारको खरिद गरिएको बताउँदै उनले योसँगै यस वर्षलाई धान खरिद कार्य बन्द गरिएको उल्लेख गरे। गत वर्ष कार्यालयले ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको थियो।


