Banijya News

रास्वपाको समानुपातिक सूचीमा उद्यमी व्यवसायीको दबदबा

1
1.2K Shares

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लािग राजनीतिक दलहरुले समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची पेश गरिसकेका छन् । यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पेश गरेको समानुपातिक उम्मेदवारहरुको बन्द सूचीमा उद्योगी व्यवसायीहरुले प्राथमिकता पाएको देखिएको छ ।

रास्वपाले समानुपातिकतर्फको ११० सिटका लागि पेश गरेको सूचीमा एक चौथाईभन्दा धेरै व्यवसायिक पृष्ठभूमिका व्यक्तिहरु रहेको खुलेको छ । उक्त सूचीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकालदेखि गोल्डस्टारकी कार्यकारी निर्देशक विदुषी राणा, समीक्षा बाँस्कोटा, लिमा अधिकारी (आचार्य) अटाएका छन् ।

रास्वपाले सचिन ढकाललाई खस आर्यतर्फको दोस्रो नम्बरमा सिफारिस गरेको छ । उनी आईएमई ग्रुपका निर्देशक हुन् । फुटबल चितवन क्लब (एफसी चितवन) का अध्यक्ष सचिन खेलकुद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय आदिमा सक्रिय छन् । पहिलो नम्बरमा भने पार्टीका सहमहामन्त्री बिपीन आचार्यको नाम रहेको छ । आचार्य स्वयं पनि सहकारी उद्यमी हुन्, जो पोखराको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत मुछिएका छन् । खास आर्य कोटाबाटै तेस्रो नम्बरमा सिफारिस भएका सुदिप ढकाल पनि व्यवसायी भएको बताइएको छ ।

खस आर्य समूहबाटै उम्मेदवार बनेका अरनिको पाँडे जलस्रोत उद्यमी हुन् । पाँडे रवि रास्वपा सरकारमा भएको बेला राष्ट्रिय योजना आयोगको सदस्यसमेत रहेका थिए ।

खस आर्यको महिलातर्फ दोस्रो नम्बरमा सिफारिस गरिएकी विदुषी राणा जुत्ता उत्पादक कम्पनी गोल्ड स्टारकी मालिक हुन् । गोल्डस्टारकी कार्यकारी निर्देशक विदुषी १२ वर्षभन्दा लामो समयदेखि यस कम्पनीमा आबद्ध छिन् । उनका पति अमिरप्रताप राणा कुमारी बैंकका अध्यक्ष छन् ।

खस आर्य महिलातर्फ तेस्रो नम्बरमा सिफारिस गरिएकी लिमा अधिकारी (आचार्य) नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालक समिति सदस्य पनि हुन् । गत मंसिर २३ गते भएको बैंकको साधारणसभाबाट उनी सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्दै बैंकको सञ्चालक बनेकी हुन् ।

यसैगरी, महिला खस आर्य समूहबाटै सिफारिस गरिएकी समीक्षा बाँस्कोटा कन्चनजंगा टी स्टेट कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन् । काँग्रेस नेता दीपक प्रकाश वाँस्कोटाले स्थापना गरेको उक्त कम्पनी अहिले दीपकका छोरीहरुले सञ्चालन गरिरहेका छन् । विवेकशील साझा पार्टीबाट २०७४ र ०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवार भए पनि दुवैपटक जमानत जफत भएको थियो । रविन्द्र मिश्रले पार्टी छोडेपछि विवेकशील साझा पार्टीको नेतृत्वमा पुगेकी वाँस्कोटा केही समयअघि पार्टीलाई रास्वपामा विलय गराएर अहिले समानुपातिकतर्फको उम्मेदवार बनेकी हुन् ।

रास्वपाबाटै समानपातिकको उम्मेदवार बनाएकी लाक्पाफुटी शेर्पा पर्यटन उद्यमी हुन् भने सीता पाण्डे कृषि उद्यमी हुन् । त्यस्तै, रास्वपाको सूचीमा अटाएकी पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ माक्कुसे लक्जरी मिठाई ब्रान्डको सञ्चालक हुन् । उक्त ब्रान्डले पुष्टकारी, गुदपाक, कुकिज आदि उत्पादन गर्छ ।

निर्वाचनको लागि आवश्यक चन्दा दिन सक्ने र आवश्यक पर्दा पार्टी निर्माणमा समेत सहयोग गर्न सक्ने भएकाले पनि पार्टीले उद्यमी व्यवसायीहरुलाई बन्द सूचीमा प्राथमिकता दिएको रास्वपाका नेताहरुकै भनाइ छ ।

1

Scroll to Top