Banijya News

ब्लकबस्टर ‘परान’ बन्दा अरुले कति कमाए

1
1.1K Shares

सन् २०२५ मा प्रदर्शनमा आएका चलचित्रहरुमध्ये केहीले राम्रो कमाए भने केही चलचित्रले लगानीसमेत उठाउन सकेनन् । चलचित्र विकास बोर्डका अनुसार, जनवरी १ देखि डिसेम्बर १९ सम्म नेपाली हलहरूमा स्वदेशी र विदेशी गरी एक सय ५४ वटा फिल्म प्रदर्शनमा आएका थिए । तीमध्ये नेपाली बक्स अफिसमा सबैभन्दा बढी व्यापार गर्ने फिल्म बन्यो, ‘परान’ । उक्त चलचित्रले १७ करोड ६८ लाख रुपैयाँको व्यापार गरेको छ । ‘परान’ले ग्रस कलेक्सनको मामलामा विदेशी फिल्मलाई समेत पछि पारेको छ ।

नेपाली बक्स अफिसमा सर्वाधिक व्यापार गर्ने दोस्रो चलचित्र भने ‘कान्तारा’ हो । दक्षिण भारतीय यस चलचित्रले १२ करोड ३६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

यो वर्ष प्रदर्शनमा आएका चार नेपाली चलचित्रहरु ‘एञ्जिला’, ‘ऊनको स्वीटर’, ‘जेरी अन टप’ र ‘परान’ले राम्रो व्यापार गरेका छन् । ‘जेरी अन टप’ले १२ करोड २९ लाख, ‘ऊनको स्वीटर’ले ११ करोड ४३ लाख र ‘एञ्जिला’ले ८ करोड ९५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेका छन् ।

यो वर्ष १० करोड ग्रस कलेक्सन गर्ने फिल्म दिने चल्तीका नायकहरू विपीन कार्की र अनमोल केसी हुन् । विपीन ‘ऊनको स्वीटर’ र अनमोल ‘जेरी अन टप’का नायक हुन् ।

अर्का स्टार नायक प्रदीप खड्काको यो वर्ष दुई फिल्म ‘एक्टर : टेक वान’ र ‘पिताम्बर’ प्रदर्शनमा आए । तर, दुवै चलचित्रले लगानीसमेत उठाउन सकेनन् । १ करोड ग्रस कलेक्सन गरेको ‘एक्टर : टेक वान’ सुपर फ्लप भयो । प्रदीपले ‘पिताम्बर’मा ‘एक्सन जनरा’ प्रयोग गरेका थिए । तर, दर्शकले उनलाई यस भूमिकामा अस्वीकार गरे । उक्त चलचित्रले ४ करोड ६६ लाख मात्र व्यापार ग¥यो ।
अर्का उदीयमान कलाकार र भावी स्टारका रुपमा हेरिएका समीर भट्टका लागि पनि यो वर्ष स्मरणयोग्य रहेन । उनको दोस्रो फिल्म ‘बलिदान’ फ्लप भयो । ५ करोडभन्दा बढी लगानी दाबी गरिएको यो फिल्मको ग्रस कलेक्सन ५ करोड ११ लाख छ । डेब्यू फिल्म ‘१२ गाउँ’ हिट भएपछि अनमोल र प्रदीपजस्ता स्टारको स्थानमा पुग्न सक्ने नायकका रुपमा हेरिएका समीरको करिअरमा धक्का लागेको छ ।

सन् २०२५ मा सबैभन्दा बढी १२ फिल्म दिने नायक दयाहाङ राई हुन् । उनी सात फिल्महरू ‘जारी २’, ‘रिमै’, ‘वरिष्ठ बलराम’, ‘महाभोज’, ‘एञ्जिला’, ‘दुखी आत्मा’ र ‘कर्साङ’मा केन्द्रीय भूमिकामा छन् । ‘राजागञ्ज’–‘पिताम्बर’ मा उनी मुख्य भूमिकामा छन् भने चार फिल्महरू ‘मैझारो’ र ‘भुठान’मा अतिथिको भूमिकामा छन् । दयाहाङका धेरै चलचित्र प्रदर्शित भए पनि अधिकांश चलचित्रले लगानी सुरक्षित गर्न सकेनन् । ‘एञ्जिला’ले भने लगानी सुरक्षित गरेको पाइन्छ । हिट फिल्म सिक्वेल ‘जारी २’ पनि सोचेअनुरुप चल्न सकेन । पहिलेको चलचित्र जारीजस्तै जारी–२ पनि हिट हुने धेरैको विश्लेषण थियो ।
यो वर्ष दोस्रो धेरै फिल्म दिने नायक सौगात मल्ल हुन् । उनी अभिनित ५ चलचित्र प्रदर्शनमा आए पनि हिट चलचित्रको सूचीमा पर्न सकेनन् । ‘सिटामोल’, ‘जन्ते बाख्रो’ र ‘जार’मा उनी शीर्ष भूमिकामा थिए । ‘पिताम्बर’ र ‘बलिदान’मा उनी मुख्य भूमिकामा थिए ।
महानायक राजेश हमालका लागि पनि यो वर्ष सुखद रहेन । ‘नरसिंहा : अवतार’बाट कमब्याक गरेका हमालले पनि हिट फिल्म दिन सकेनन् । यस चलचित्रको ग्रस कलेक्सन १ करोड ८३ लाख मात्र रहेको छ ।

त्यस्तै, गायक प्रकाश सपुतले यो वर्ष फिल्म निर्देशनमा डेब्यू गरे तर सफल भएनन् । उनको लेखन र निर्देशनमा बनेको चलचित्र ‘वसन्त’ फ्लप भयो । उनको अभिनय रहेको अन्य तीन फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘सोल्टिनी’ र ‘माइतीघर’ पनि फ्लप भए ।

त्यस्तै, नायिका मिरुना मगर र जशिता गुरुङ अभिनित चलचित्र यो वर्ष उत्कृष्ट बने । मिरुना अभिनित चलचित्र ‘ऊनको स्वीटर’ लोकप्रिय बन्यो भने ‘जारी २’ र ‘महाभोज’ सोचेअनुरुप चल्न सकेनन् । अर्की नायिका जशिता अभिनित चलचित्र ‘जेरी अन टप’ हिट फिल्म बन्न पुग्यो ।
यस वर्ष प्रदर्शनमा आएका केही फिल्मको कमाइ हजारमा सीमित हुन पुग्यो । सबैभन्दा कम व्यापार गर्ने नेपाली फिल्म ‘एक्टर’ हो । जसको ग्रस कलेक्सन मात्रै ३० हजार ४३५ रुपैयाँ छ । त्यस्तै, हेलो काँशीराम’ले ३५ हजार ८०० र ‘चिठ्ठी’ ले ९४ हजार ४०० ग्रस कलेक्सन गरेको छ ।

1

Scroll to Top