नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच बिहीबारका लागि तय भएको भेटघाट अन्तिम समयमा स्थगित भएको छ । अपराह्न ५ बजे भेट्ने समय निर्धारण गरिए पनि सभापति देउवाले कार्यव्यस्तताको कारण देखाउँदै भेट्न अस्वीकार गरेका हुन् ।
समय अभावः पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवा अन्य राजनीतिक कार्यमा व्यस्त हुनुपरेकाले भेटघाट सम्भव भएन । स्थगित भेट अब शुक्रबार सभापतिको अनुकूल समयमा हुने जानकारी दिइएको छ । यसका लागि सभापतिका स्वकीय सचिव भानु देउवा वा मुख्यसचिवले महामन्त्रीहरूलाई खबर गर्ने भनिएको छ । उक्त भेटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पनि सहभागी गराउने तयारी थियो, तर अन्तिम क्षणमा एकाएक कार्यक्रम स्थगित गरियो ।
महामन्त्रीद्वय थापा र शर्माले आगामी पुस २७ र २८ गते भृकुटीमण्डपमा एक विशेष कार्यक्रमको आयोजना गर्ने तयारी गरिरहेका छन् । पार्टीभित्रको आन्तरिक रणनीति र संगठन विस्तारका विषयमा छलफल गर्न खोजिरहेका बेला शीर्ष नेतृत्वबीचको यो “मिस–कम्युनिकेसन“ लाई अर्थपूर्ण रूपमा हेरिएको छ ।


