Banijya News

राजस्व भन्दा कति कम छ चालु खर्च ?

1
1.1K Shares

चालु आर्थिक वर्षको साढे पाँच महिना बित्दा राजस्व आम्दानीले चालु खर्च धान्न अपुग हुन थालेको छ । यस वर्षको पुस १६ सम्म सरकारले ४ खर्ब ४० अर्ब रुपैयाँ राजस्व आम्दानी गरेको छ । यस अवधिमा चालु खर्चमात्र ४ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको छ । अहिलेसम्म चालु खर्चका तुलनामा राजस्व आम्दानी ५ अर्ब रुपैयाँ मात्र धेरै छ । सरकारले लक्ष्य अनुसार राजस्व असुली गर्न नसक्दा यस्तो अवस्था आएको हो

चालु आर्थिक वर्षको बजेटमा सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेको थियो । अहिलेसम्म वार्षिक लक्ष्यको २९.७५ प्रतिशत मात्र राजस्व उठेको छ । सरकारले गत वर्षभन्दा यो वर्ष ६१ अर्ब रुपैयाँ राजस्व धेरै उठाउने लक्ष्य राखेर बजेट बनाएको थियो । तर, राजस्व असुली लक्ष्यअनुसार हुन सकेको छैन ।

अर्कोतिर राजस्व आम्दानी खुम्चिए पनि चालु खर्च स्वाभाविक रुपमा बढ्दै गएको छ । यो वर्ष ११ खर्ब ८० अर्ब रुपैयाँ चालु खर्च हुने सरकारको अनुमान छ । यसमध्ये पुस १६ सम्ममा वार्षिक अनुमानको झण्डै ३७ प्रतिशत खर्च भइसकेको छ । अहिलेसम्मको खर्च हेर्दा चालु बजेटमा नियन्त्रण देखिएको छैन ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार राजस्वले चालु खर्च धान्न मुुस्किल बनेको यो वर्ष मात्र होइन । पछिल्ला चार वर्षदेखि अवस्था लगभग एउटै छ । आव २०७८–७९ को पुस १६ सम्ममा चालु खर्च भन्दा राजस्व ८९ अर्ब रुपैयाँ धेरै उठेको थियो । चालु खर्च ३ खर्ब ५६ अर्ब हुँदा राजस्व ४ खर्ब ४५ अर्ब उठेको थियो । त्यसयताका वर्षमा भने राजस्वका तुलनामा चालु खर्चको चाप बढेको छ । आव २०७९–८० को पुस १६ सम्म राजस्व ३ खर्ब ५० अर्ब उठदा चालु खर्च ३ खर्ब ९३ अर्ब पुगेको थियो ।

यस्तै, आव २०८०–८१ को पुस १६ सम्म पनि राजस्व भन्दा चालु खर्च धेरै भएको थियो । त्यसबेला राजस्व ३ खर्ब ९१ अर्ब असुली हुँदा चालु खर्च ३ खर्ब ९५ अर्ब पुगेको थियो । गत आवमा भने चालु खर्च भन्दा राजस्व केही बढी उठेको थियो । गत पुस १६ सम्ममा चालु खर्च ३ खर्ब ९८ अर्ब हुँदा राजस्व ४ खर्ब ३५ अर्ब संकलन भएको थियो । पछिल्ला पाँच वर्षको पुस १६ सम्म चालु खर्चमा धेरै भिन्नता (३५६–३९८) देखिँदैन । राजस्व असुलीमा भने भिन्नता (३५०–४४५) देखिएको छ ।

महालेखाका अनुसार यो वर्ष सरकारको कुल आम्दानी र कुल खर्चका बीचमा पनि ठूलो खाडल बनिसकेको छ । पुस १६ सम्ममा यस्तो खाडल एक खर्ब ७७ अर्ब पुगेको छ । यो बेलासम्म कुल आम्दानी ४ खर्ब ४९ अर्ब रुपैयाँ भएको छ । यो कर राजस्व, गैरकर राजस्व, वैदेशिक अनुदान र अन्य विविध आम्दानीबाट भएको आय हो । चालु वर्षमा सरकारले यी सबै शीर्षकबाट १५ खर्ब ३३ अर्ब रुपैयाँ आम्दानी हुने अनुमान गरेको थियो । अहिलेसम्मको आम्दानी वार्षिक अनुमानको २९.३२ प्रतिशत मात्र हो ।

यस्तै, यही बेला कुल खर्च ६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । सरकारले यो वर्ष १९ खर्ब ६४ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको छ । अहिलेसम्मको कुल खर्च वार्षिक लक्ष्यको ३१.९ प्रतिशत हो । सरकारले उठाएको सार्वजनिक ऋणलाई छोड्ने हो भने आम्दानी र खर्चबीचको खाडल १ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । चालु बजेटमा ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण लिने लक्ष्य राखेको सरकारले मंसिरसम्म एक खर्ब ७५ अर्ब रुपैयाँ ऋण उठाएर खर्च धानेको छ ।

महालेखाका अनुसार अहिलेसम्म पुँजीगत खर्चमा पनि सरकारको प्रगति राम्रो देखिएको छैन । पुस १६ सम्ममा ३९ अर्ब ९७ करोड रुपैयाँमात्र पुँजीगत खर्च भएको छ । पुँजीगत बजेटमा ४ खर्ब ७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ । अहिलेसम्मको खर्च कुल विनियोजनको ९.८ प्रतिशत मात्र हो । औषतमा प्रति महिना सरकारले दुई प्रतिशत पनि पुँजीगत बजेट खर्च गर्न सकेको छैन । राजस्व असुली कम हुनुमा पुँजीगत बजेट खर्च धैरे नहुनु पनि एक हो ।

वैदेशिक अनुदान साढे ५ अर्ब
चालु आवको पुस १६ सम्ममा वैदेशिक अनुदान प्राप्तिमा केही सुधार देखिएको छ । यो वर्ष सरकारले ५३ अर्ब ४४ करोड रुपैयाँ अनुदान आउने अनुमान गरेकामा पुस १६ सम्ममा ५ अर्ब ५१ करोड रुपैयाँ प्राप्त भएको छ । यो वार्षिक लक्ष्यको १०.३१ प्रतिशत हो ।

गत वर्षको बजेटमा ५२ अर्ब ३२ करोड रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको थियो । पुस १६ सम्ममा ६ अर्ब ८३ करोड अनुदान आएको थियो । यस्तै, त्यसअघिको आव २०८०–८१ मा सरकारले ४९ अर्ब ९४ करोड रुपैयाँ अनुदान आउने अपेक्षा गरेकोमा पुस १६ सम्ममा २ अर्ब ७५ करोड आएको थियो । यो वार्षिक लक्ष्यको ५.५२ प्रतिशत थियोे ।

यस्तै, आव २०७८–७९ को पुस १६ सम्म वार्षिक लक्ष्यको ६.१६ प्रतिशत अनुदान आएको थियो । त्यस वर्ष बजेटमा ५५ अर्ब ४५ करोड रुपैयाँ अनुदान आउने अनुमान गरिएकामा पुस १६ सम्म ३ अर्ब ४१ करोड प्राप्त भएको थियो ।

पछिल्ला वर्षहरुमा वैदेशिक अनुदान क्रमशः घट्दै गएको अवस्था छ । सरकारले भने बजेटमा औसतमा ५० अर्ब हाराहारीमा अनुदान प्राप्त हुने लक्ष्य राख्दै आएको छ । पछिल्लो एक दशकको अनुदानको लक्ष्य र प्राप्तिलाई हेर्दा औसतमा झण्डै ३६ प्रतिशत मात्र आएको देखिन्छ । सरकारले पछिल्लो दश वर्षमा कुल ६ खर्ब ८३ अर्ब १८ करोड अनुदान प्राप्त हुने लक्ष्य राखेको थियो । यी दश वर्षमा २ खर्ब ४४ अर्ब २५ करोड मात्र अनुदान प्राप्त भएको छ । यो कुल लक्ष्यको ३५.७५ प्रतिशत हो ।

बजेटमा राखिएको लक्ष्यको आधा पनि अनुदान नआएपछि बजेटको स्रोत मिलाउन अनुदानको हिस्सा बढाएर राख्ने गरेको आरोप लाग्दै आएको छ । केही वर्षदेखि लक्ष्यअनुरुप घट्दो अनुदान प्राप्तिको तथ्यांकले आरोप सत्य हो कि भन्ने भान परेको छ ।

हुन त लक्ष्यअनुसार अनुदान आउन नसक्नुमा धेरै कारण छन् । सबैभन्दा मुख्य विषय आयोजनाहरुमा खर्च हुन नसकेका कारण अनुदान नआएको हो । खर्च भएमात्र अनुदान दिनेले त्यसको शोधभर्ना गर्छ । त्यस्तै, पछिल्लो समयमा दातृ निकायहरुले अनुदान घटाउने र ऋण बढाउने रणनीति लिएको देखिन्छ । नेपालको ऋणको ब्याज तिर्ने क्षमता बढेको भन्दै दाताहरुले अनुदानको विकल्पमा ऋण दिन जोड गर्दै आएका छन् । यसले गर्दा पनि अनुदान रकम घट्दै गएको हो ।

1

Scroll to Top