Banijya News

एक सय ६० स्टार्टअप उद्यममा १४ सय जनालाई रोजगारी

1
1.1K Shares

देशभरका स्टार्टअप उद्यममध्ये १ सय ६० वटा स्टार्टअप उद्यममा १ हजार ४ सय जनाभन्दा धेरैले रोजगारी पाइरहेको सरकारी अध्ययनले देखाएको छ ।

नेपाल राष्ट्र बैंकले कोशी प्रदेशमा रहेका स्टर्टअप उद्यमहरूमा गरेको अध्ययनमा १ सय ६० वटा स्टार्टअप उद्यममा आर्थिक वर्ष २०८०/८१ मा मात्रै १ हजार ४ सय ३६ जनाले रोजगारी प्राप्त गरेका पाइएको हो ।

अध्ययन प्रतिवेदनअनुसार रोजगारी पाउनेमा ४८ दशमलव ४ प्रतिशत महिला र ५१ दशमलव ६ प्रतिशत पुरुष रहेका छन् । क्षेत्रगत हिसाबमा सेवामूलक उद्यममा सबैभन्दा धेरै ५७ प्रतिशत र सूचना प्रविधि क्षेत्रका उद्यममा सबैभन्दा कम २२ दशमलव ७ प्रतिशत महिला रोजगारीको हिस्सा रहेको छ ।

अध्ययनका क्रममा १ सय ६० वटा स्टार्टअप उद्यमको औसत क्षमता उपयोग ७१ दशमलव ४ प्रतिशत रहेको पाइएको छ । क्षेत्रगत रूपमा कृषि तथा वनजन्य क्षेत्रका उद्यमको औसत क्षमता उपयोग सबैभन्दा धेरै ८२ दशमलव १ प्रतिशत रहेको छ भने पर्यटन क्षेत्रका उद्यमको औसत क्षमता उपयोग सबैभन्दा कम ६० दशमलव ७ प्रतिशत रहेको छ । सूचना प्रविधि, उत्पादनमूलक र सेवामूलक उद्यमको औसत क्षमता उपयोग क्रमशः ७२ दशमलव ० प्रतिशत, ६१ दशमलव ० प्रतिशत र ६४ दशमलव ८ प्रतिशत रहेको छ ।

अध्ययनका क्रममा स्टार्टअप उद्यममा प्रविधिको प्रयोगबारे पनि हेरिएको थियो । जसमध्ये १ सय ६० स्टार्टअप उद्यममध्ये ४४ वटा उद्यममा उच्च प्रविधि प्रयोग भएको पाइयो भने १ सय ४ वटा उद्यममा सामान्य प्रविधिको प्रयोग भएको छ । यस्तै १२ वटा उद्यममा प्रविधिको प्रयोग नभएको पाइएको छ । क्षेत्रगत रूपमा सूचना प्रविधि क्षेत्रका सबैभन्दा धेरै ६६ दशमलव ७ प्रतिशत उद्यममा उच्च प्रविधिको प्रयोग भएको देखिन्छ भने कृषि तथा वनजन्य क्षेत्रका सबैभन्दा कम १० दशमलव ६ प्रतिशत उद्यममा मात्र उच्च प्रविधिको प्रयोग भएको देखिन्छ ।

अध्ययन प्रतिवेदन अनुसार प्रविधिको प्रयोगले स्टार्टअप उद्यमको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ । प्रविधिको प्रयोग गर्ने उद्यमीमध्ये सबैभन्दा धेरै २९ दशमलव ४ प्रतिशतले प्रविधिको प्रयोगले ग्राहकसँगको पहुँचमा वृद्धि, २५ दशमलव ६ प्रतिशतले श्रम लागतमा कमी, १६ दशमलव १ प्रतिशतले उत्पादकत्वमा वृद्धि, १२ दशमलव ८ प्रतिशतले उत्पादनमा वृद्धि, १० दशमलव ६ प्रतिशतले उत्पादन लागतमा कमी र ५ दशमलव ५ प्रतिशतले अन्य (खास गरी गुणस्तर वृद्धि) मा सहयोग पुर्‍याएको बताएका प्रतिवेदनमा उल्लेख छ ।

स्टार्टअप उद्यम/व्यवसाय विस्तारको योजना बनाउने उद्यमीहरूमध्ये सबैभन्दा धेरै ३३ दशमलव ३ प्रतिशतले क्षमता विस्तार, २९ दशमलव ६ प्रतिशतले वस्तु तथा सेवा विविधिकरण, १९ प्रतिशतले प्रविधिको प्रयोग र १८ दशमलव १ प्रतिशतले बजार विस्तार गर्ने योजना बनाएका अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार अध्ययनमा समावेश भएका १ सय ६० वटा स्टार्टअप उद्यममध्ये आर्थिक वर्ष २०८०/८१ मा ८० दशमलव ० प्रतिशत अर्थात् १ सय २८ वटा उद्यम नाफामा रहेका छन् भने २० दशमलव ० प्रतिशत अर्थात् ३२ वटा उद्यमले नोक्सान बेहोरेका छन् । अध्ययनमा समावेश गरिएका पाँच व्यावसायिक क्षेत्रका स्टार्टअप उद्यममध्ये कृषि तथा वनजन्य क्षेत्रका सबैभन्दा धेरै ८६ दशमलव ४ प्रतिशत उद्यम नाफामा रहेको देखिन्छ भने सूचना प्रविधि क्षेत्रका सबैभन्दा कम ६० प्रतिशत उद्यम मात्र नाफामा रहेको पाइएको छ ।

१ सय ६० वटा स्टार्टअप उद्यमको आर्थिक वर्ष २०८०/८१ को वित्तीय परिसूचकहरू हेर्दा कुल बिक्री आम्दानी ९२ करोड ६४ लाख रहेको छ भने कुल नाफा १२ करोड ९२ लाख रुपैयाँ रहेको छ । स्टार्टअप उद्यमको औसत नाफा १३ दशमलव ९ प्रतिशत रहेको छ । त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा अध्ययनमा समावेश स्टार्टअप उद्यमहरूमा कुल लगानी २ अर्ब २४ करोड ९० लाख रुपैयाँ रहेको छ भने औसत लगानीमा प्रतिफल दर ५ दशमलव ७ प्रतिशत रहेको छ ।

अध्ययनमा समावेश भएका पाँच व्यावसायिक क्षेत्रका स्टार्टअप उद्यममध्ये पर्यटन क्षेत्रको कुल आम्दानीमा नाफा प्रतिशत सबैभन्दा उच्च २० दशमलव ९ प्रतिशत रहेको छ भने सेवामूलक क्षेत्रको सबैभन्दा कम ९ दशमलव ९ प्रतिशत रहेको छ । कृषि तथा वनजन्य सूचना प्रविधि उत्पादनमूलक सेवामूलक पर्यटन समग्र प्रतिशत नाफा–नोक्सान लगानीबाट प्राप्त प्रतिफलको दर सूचना प्रविधि क्षेत्रको सबैभन्दा धेरै २० दशमलव ९ प्रतिशत रहेको छ भने पर्यटन क्षेत्रमा सबैभन्दा कम ३ प्रतिशत रहेको छ ।

अध्ययनमा समावेश भएका १ सय ६० उद्यम मध्ये ९१ दशमलव ९ प्रतिशत उद्यम सफलता उन्मुख रहेको देखिन्छ भने ८ दशमलव १ प्रतिशत उद्यम सङ्कट उन्मुख रहेको देखिन्छ ।

1

Scroll to Top