आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारले तनहुँ जिल्लाका स्थानीय तहहरूका लागि साढे चार अर्बभन्दा बढीको वित्तीय हस्तान्तरण गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार जिल्लाका १० वटा स्थानीय तहका लागि विभिन्न चार शीर्षकमा कुल ४ अर्ब ५६ करोड ४७ लाख रुपैयाँ अनुदान विनियोजन गरिएको हो। यसपटकको बजेटमा जिल्लाको सदरमुकाम समेत रहेको व्यास नगरपालिकाले सबैभन्दा ठूलो हिस्सा प्राप्त गरेको छ भने घिरिङ गाउँपालिकाको भागमा सबैभन्दा कम बजेट परेको छ।
बजेट विवरणअनुसार सबैभन्दा बढी बजेट पाउने व्यास नगरपालिकाका लागि कुल ९४ करोड ३० लाख रुपैयाँ छुट्याइएको छ। व्यासले समानीकरणतर्फ १८ करोड ६० लाख, सशर्ततर्फ ७५ करोड २० लाख र समपूरकतर्फ ५० लाख रुपैयाँ पाउनेछ। यस्तै, शुक्लागण्डकी नगरपालिकाले ६३ करोड ७८ लाख (समानीकरण १४ करोड ६० लाख, सशर्त ४६ करोड ४३ लाख, विशेष १ करोड ४० लाख र समपूरक १ करोड ३५ लाख) तथा भानु नगरपालिकाले ५९ करोड ६८ लाख रुपैयाँ (समानीकरण १३ करोड ८७ लाख, सशर्त ४४ करोड ४१ लाख, विशेष १ करोड र समपूरक ४० लाख) बजेट प्राप्त गरेका छन्। भिमाद नगरपालिकाका लागि भने ४५ करोड ६९ लाख रुपैयाँ विनियोजन भएको छ, जसमा समानीकरणतर्फ ११ करोड १४ लाख, सशर्ततर्फ ३० करोड ७३ लाख, विशेषतर्फ १ करोड ६७ लाख र समपूरकतर्फ २ करोड १५ लाख रुपैयाँ समावेश छ।
गाउँपालिकाहरूको तर्फबाट ऋषिङ गाउँपालिकाले सबैभन्दा धेरै ३६ करोड ५९ लाख रुपैयाँ बजेट पाएको छ। देवघाट गाउँपालिकाका लागि ३३ करोड ७० लाख, बन्दीपुर गाउँपालिकाका लागि ३२ करोड ६८ लाख र आँबुखैरेनी गाउँपालिकाका लागि ३१ करोड ४१ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसैगरी म्याग्दे गाउँपालिकाले ३० करोड ६५ लाख रुपैयाँ पाउने भएको छ। जिल्लामै सबैभन्दा कम बजेट पाएको घिरिङ गाउँपालिकाका लागि कुल २८ करोड २९ लाख रुपैयाँ बजेट तोकिएको छ, जसमध्ये समानीकरणतर्फ ८ करोड ७८ लाख, सशर्ततर्फ १८ करोड ८१ लाख र समपूरकतर्फ ७० लाख रुपैयाँ रहेको छ। सङ्घीय सरकारबाट प्राप्त हुने यो अनुदानले जिल्लाको तल्लो तहसम्म पूर्वाधार विकास र चालू खर्च व्यवस्थापनमा मुख्य भूमिका खेल्ने देखिन्छ।


