अर्थतन्त्र सुस्तदै जाँदा बैंक तथा वित्तीय संस्थाहरूमा किस्ता र ब्याज असुलीमा कठिनाइ बढेको छ। त्यसको सीधा प्रभाव अहिले बैंक कर्मचारीदेखि व्यवस्थापन तहसम्म पुगेको छ। ग्राहकबाट किस्ता नउठ्दा कर्मचारीहरू तीव्र प्रेसर र असुरक्षाको मनोविज्ञानमा बाँधिन थालेका छन्। कर्मचारी माथि अभद्र व्यबहार गर्ने, कर्जा उठाउन नदिने जस्ता कार्यले थप समस्या निम्तिएको छ । केही बैंकका कर्मचारी माथि लगातार धम्की दिने काम भइरहेको छ । ऋणीहरू पनि आफ्नो कठिन परिस्थितिका कारण समय लम्ब्याउन खोजेका छन्। वित्तीय वर्षको दोस्रो त्रैमासिक नतिजा सुदृढ बनाउने प्रयासमा बैंकहरूले असुलीमा जोड दिएता पनि पुरानो ऋणबाट अपेक्षित फाइदा नभएपछि उनीहरू निराश देखिएका छन्।
ऋणीहरू आफ्नै समस्यामा रहेको बैंकरहरूले बताएका छन्। बैंक प्रतिनिधिलाई उनीहरूले ऋण तिर्न समय थपिदिन अनुरोध गरेका छन्। अर्थतन्त्र सुस्त रहेको बेला जेनजी आन्दोलनले समस्या अझ गहिरो बनाएको ऋणीहरूको भनाइ छ। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बताए अनुसार, अहिले धेरै ऋणीहरूले केवल ब्याज तिर्ने इच्छा देखाइरहेका छन्। उनीहरू ऋण तिर्न असमर्थ रहेको भन्दै बैंकसँग समय थपिदिन अनुरोध गरिरहेका छन्। खनालका अनुसार, ऋणीहरू वर्तमानमा कर्जा तिर्न सक्षम छैनन्।
खनालका अनुसार, जेनजी आन्दोलनपछि होटल व्यवसायले बढी चुनौती सामना गरिरहेको छ। निर्माण क्षेत्र पनि प्रभावित भएकाले हार्डवेयर व्यवसायीहरू समेत ऋण तिर्न असमर्थ भएका छन्। उनले भने, नगद प्रवाहमा समस्या देखिँदा उनीहरूलाई ऋण तिर्न कठिनाइ आएको छ । खनालले बताए अनुसार, पछिल्लो समय निर्माण गतिविधि बढ्दै गएसँगै ऋण असुलीमा क्रमिक सुधार देखिएको छ। उनले थपे, नागरिकहरूमा उत्साह फर्कन थालेको छ, वर्तमान अवस्था हेरेर निराश हुनुपर्ने स्थिति छैन।’
अन्य बैंकका प्रतिनिधिहरूले पनि उस्तै अवस्था अनुभव गरेका छन्। उनीहरूको अनुसार, धेरै ऋणीले ऋण तिर्न चाहेपनि वर्तमान आर्थिक परिस्थिति र नगद प्रवाहको कमीले गर्दा असमर्थ छन्। एक बैंकरले बताए, बिक्री र नाफामा गिरावटका कारण साना–ठूला सबै ऋणी प्रभावित भएका छन् र समस्या गम्भिर देखिएको छ।’
एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले बताए अनुसार, हाल ऋणीहरूको दबाब बढेको छ र धेरैले अरु बैंकमा रहेको ऋण तिर्न खोजिरहेका छन्। तर बैंकहरूले नयाँ कर्जा दिनु भन्दा पुरानो ऋण असुलीमा ध्यान केन्द्रित गरेका छन्। उनले थपे, कतिपय ऋणीहरूले आफ्नो सम्पत्ति बेचेर ऋण तिर्न प्रयास गरेका छन्, तर बिक्री नहुँदा समस्या देखिएको छ। घरजग्गा वा अन्य सम्पत्ति बिक्रीमा ढिलाइ हुँदा उनीहरू कर्जा तिर्न अझै असमर्थ बनेका छन्। खालिङका अनुसार, यस्तो अवस्था बैंकहरूको असुली प्रक्रिया चुनौतीपूर्ण बनाइरहेको छ।
बैंकरहरूको अनुसार, जेनजी आन्दोलनले ऋणीहरूलाई ठूलो चुनौती दिएको छ। राष्ट्र बैंकले प्रभावित ऋणीहरूलाई पुस मसान्तसम्म कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको सुविधा दिएको भएपनि, अब बैंकहरूले यो अवधि थप गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन्।
असुलीमा अपेक्षित सुधार नदेखिँदा बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ्ने चिन्ता बढिरहेको छ। राष्ट्र बैंकका तथ्यांकअनुसार, २०८२ असोजसम्म वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा ५.०३ प्रतिशत पुगेको थियो। बैंकहरूले भन्छन् कि पुस मसान्तसम्म यो अझ बढ्ने सम्भावना छ, जसले नाफामा समेत दबाब सिर्जना गर्ने देखिएको छ। तर अधिकांश ऋणी अन्तिम समयमा किस्ता तिर्ने प्रवृत्तिका कारण पुस मसान्तसम्म केही सुधार आउन सक्ने बैंकहरूको अनुमान छ ।
राष्ट्र बैंकका तथ्यांकअनुसार, २०८२ कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप ७४ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ, जुन २ खर्ब २२ अर्बको वृद्धिसँगै आएको हो। तर निजी क्षेत्रमा प्रवाहित कर्जा केवल ५५ खर्ब ६२ अर्बमा सीमित रह्यो, जसले देखाउँछ कि निक्षेप ३।१ प्रतिशतले बढ्दा कर्जा केवल १।२ प्रतिशतले मात्रै बढेको छ। बैंकरहरूले यसलाई सन्तोषजनक नभएको टिप्पणी गरेका छन् ।
पुस मसान्त नजिकिँदै गर्दा नेपालको बैंकिङ क्षेत्रमा ‘टार्गेट प्रेसर’ को चर्को प्रभाव देखिएको छ। कर्जाको किस्ता र ब्याज असुलीका लागि बैंकका मुख्यालयहरूले दैनिक रिपोर्टिङको कडा नियम लागू गरेपछि कर्मचारीहरू चरम मानसिक दबाबमा परेका छन्। बजारमा नगद प्रवाह (Liquidity) सुस्त रहेका कारण ग्राहकहरूले समयमा भुक्तानी गर्न सकेका छैनन्, तर बैंक व्यवस्थापनले भने लक्ष्य पूरा नभएको भन्दै कर्मचारीहरूको इन्सेन्टिभ कटौती, सरुवाको धम्की र जागिरको असुरक्षा जस्ता दबाब दिइरहेका छन्। फिल्डमा पुग्दा ऋणीहरूबाट गाली सुन्नुपर्ने र कार्यालयमा व्यवस्थापनको पेलाइमा पर्नुपर्ने दोहोरो मारमा बैंकका तल्लो र मध्यम तहका कर्मचारीहरू पिल्सिएका छन्।
पछिल्लो समय नेपाल राष्ट्र बैंकले दिएका कतिपय सहुलियतका बाबजुद बैंकहरूको वित्तीय स्वास्थ्यमा सुधार आउन सकेको छैन। असोज मसान्तपछि खराब कर्जाको वास्तविक रूप देखिन थालेको छ, जसले गर्दा बैंकहरू अहिले धितो लिलाम गर्ने वा गैर-बैंकिङ सम्पत्ति सकार्ने जस्ता झन्झटिलो प्रक्रियामा अल्झिएका छन्। आर्थिक मन्दीका कारण व्यवसायीहरू ब्याज तिर्न असमर्थ हुँदा बैंक र ऋणीबीचको सम्बन्ध समेत बिग्रँदै गएको छ। ऋण उठाउन फोन गर्दा उल्टै आक्रोश र गाली सहनुपर्ने स्थितिले वित्तीय संस्थाहरूलाई ऋण असुलीको ठोस कदम चाल्न थप कठिनाइ सिर्जना गरिदिएको छ।
बैंकिङ क्षेत्रको यो संकटमा सामाजिक र राजनीतिक परिस्थितिहरूले पनि उत्तिकै भूमिका खेलेका छन्। जेन-जी (Gen-Z) आन्दोलन, राजनीतिक अस्थिरता, र प्राकृतिक विपत्ति (भारी वर्षा र सडक अवरोध) का कारण आर्थिक गतिविधिहरू ठप्प प्रायः छन्। यसले गर्दा बैंकहरूको खराब कर्जा बढेको छ भने नाफामा भारी गिरावट आउने जोखिम देखिएको छ। अहिलेको अवस्थामा वित्तीय स्थायित्व कायम राख्नु, कर्मचारीको मनोबल उच्च राख्नु र ऋणीहरूको आर्थिक अनिश्चिततालाई सम्बोधन गर्नु नै बैंकिङ क्षेत्रका लागि सबैभन्दा ठूलो ‘रिकभरी’ चुनौती बनेको छ।


