तीन संवेदनशील मन्त्रालय सम्हालेका कुलमान घिसिङले राजीनामा दिने तयारी गरिरहेका छन्। उनले अन्तरिम सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय सम्हालेका छन्।
कुलमानले आफ्नो निकट व्यक्तिहरूसँग राजीनामा बारे छलफल गरिरहेको र प्रत्यक्ष उम्मेदवारी दर्ता अघि सरकारबाट बाहिरिने तयारीमा रहेको स्रोतले जनाएको छ।
अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीले राजनीतिक दलसँग सम्बन्धित मन्त्रीहरूलाई पदबाट हट्न निर्देशन दिएकी छिन्। घिसिङ पनि यस सूचीमा परेका हुन्। उनी आगामी चुनावमा भाग लिन सक्रिय हुँदै आएका कारण हालको अन्तरिम सरकारलाई निष्पक्ष राख्न उनको राजीनामा आवश्यक देखिएको हो।
उनले उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिल्ने सम्झौता गरिसकेका छन्। तर, उनले अहिलेसम्म कुनै दलको सदस्य नभएको बताएका छन्।
उनको नेतृत्वमा तीन मन्त्रालयमा तीब्र काम अघि बढेको थियो, जसमा ठूला निर्माण ठेक्का तोड्ने, डेडिकेटेड लाइनको विवाद समाधान गर्ने र अन्य संवेदनशील मुद्दाहरू समावेश छन्।
राजीनामाले आगामी राजनीतिक परिस्थितिमा प्रभाव पार्ने र चुनावअघि राजनीतिक स्थिति परिवर्तन गर्ने अनुमान गरिएको छ।


