Banijya News

रौतहटमा धान उत्पादनमा २१ हजार मेट्रिक टनले गिरावट

1
1.1K Shares

मधेश प्रदेशको प्रमुख अन्न भण्डार मानिने रौतहट जिल्लामा यस वर्ष धान उत्पादनमा भारी गिरावट आएको छ । कृषि ज्ञान केन्द्र रौतहटको पछिल्लो तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्ष २१ हजार ५७८ मेट्रिक टन कम धान उत्पादन भएको हो।

कृषि ज्ञान केन्द्र गौरका सूचना अधिकारी सरोज मण्डलका अनुसार गत वर्ष जिल्लामा १ लाख १६ हजार ७०८ मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष घटेर ९५ हजार १३० मेट्रिक टनमा खुम्चिएको छ। उत्पादनसँगै धान खेती गरिएको क्षेत्रफल र उत्पादकत्व (प्रतिहेक्टर उत्पादन) दुवैमा उल्लेख्य गिरावट आएको तथ्याङ्कले देखाएको छ।

धान उत्पादन घट्नुमा यस वर्ष मौसमको चरम प्रतिकूलतालाई मुख्य कारण मानिएको छ। सूचना अधिकारी मण्डलले भने, ‘सुरुमा रोपाइँको मुख्य समयमा पर्याप्त वर्षा नहुँदा धेरै जमिन बाँझै रह्यो। तर, रोपाइँ सकिए लगत्तै भएको भारी वर्षाले झन् ठूलो समस्या निम्त्यायो।’

तथ्याङ्क अनुसार गत वर्ष ३५ हजार ८ हेक्टरमा धान खेती गरिएकोमा यस वर्ष करिब ४ हजार ३ सय हेक्टर कम अर्थात् ३१ हजार ५०० हेक्टरमा मात्र रोपाइँ भएको थियो। उत्पादकत्व पनि गत वर्षको प्रतिहेक्टर ३.२६ मेट्रिक टनबाट घटेर यस वर्ष ३.०२ मेट्रिक टनमा सीमित भएको छ।

जिल्लामा धान उत्पादन घट्नुका पछाडि प्राकृतिक कारणबाहेक मानवसिर्जित समस्याहरू पनि देखिएका छन्। खेतीयोग्य जमिनको तीव्र प्लटिङ, सिँचाइको भरपर्दो व्यवस्था नहुनु र जलवायु परिवर्तनका कारण हुने अनियन्त्रित वर्षाले रौतहटको कृषि क्षेत्रमा नकारात्मक असर पारेको छ।

मुख्य बाली धानकै उत्पादनमा ठूलो ह्रास आएपछि जिल्लाको कृषि अर्थतन्त्रमा असर पर्ने देखिएको छ। यसले आगामी वर्ष खाद्य सुरक्षामा समेत गम्भीर प्रभाव पार्न सक्ने भन्दै स्थानीय किसानहरू चिन्तित बनेका छन्। कृषि ज्ञान केन्द्रले क्षेत्रफल घट्नु र मौसमको प्रतिकूलता नै समग्र उत्पादन गिरावटको मुख्य कारण भएको निष्कर्ष निकालेको छ।

1

Scroll to Top