फिल्म ‘एक्लो’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्न सफल भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर गत १७ गतेबाट सार्वजनिक प्रदर्शनमा आएका यो फिल्म आज बिहीबारबाट दोस्रो सातामा प्रवेश गरेको हो । फिल्मले पहिलो साता ठिकठिकै व्यवसाय गरे पनि दोस्रो साता प्रवेश गर्न सफल भएको हो । फिल्मका निर्माता विनोद सुवेदी ‘क्षितिज’ ले फिल्मले पहिलो साता सोचेजस्तो व्यवसाय नगरे पनि निराश हुनुपर्ने अवस्था नरहेको बताए ।
फिल्मले पहिलो साता कति व्यवसाय गर्यो भन्ने हिसाब गर्न बाँकी रहेको उनको भनाइ छ । फिल्मको बक्स अफिस रिपोर्ट आगामी सोमबार मात्र सार्वजनिक हुन्छ । फिल्मको वास्तविक कमाई त्यसले देखाउने छ । फिल्मलाई दर्शकले भने मिश्रित प्रतिक्रिया दिइरहेका छन् । ‘एक्लो’ युवा सुपरस्टार प्रदीप खड्का अभिनति फिल्म हो । यसलाई नेपालमा बनेको पहिलो साइन्स फिक्सन फिल्म दाबी गरिएको छ ।
प्रदीप शाहीको लेखन तथा निर्देशन रहेको फिल्ममा अभिनेता खड्काको अलवा विजय लामा, सुनिल थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरी, एवन राज उप्रेती, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहलगायतका कलाकारहरूको अभिनय छ । बेलायती अभिनेता जेमी बेकनको समेत फिल्ममा अभिनय देख्न सकिन्छ ।
एनआरएन समूहको लगानीमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ हुन् ।


