Banijya News

रिलायन्सविरुद्धको झूटो प्रचार बन्द गर्न अदालतको आदेश

1
1.1K Shares

काठमाडौं जिल्ला अदालतले रिलायन्स स्पिनिङ मिल्सविरुद्ध प्रकाशन तथा प्रशारण भएका झूटो, भ्रमपूर्ण र अनर्गल लेख तथा समाचार बन्द गर्न आदेश दिएको छ । दायर निवेदनमा बिहीबार यस्तो आदेश जारी भएको हो ।

रिलायन्सले विभिन्न प्लेटफर्मबाट झुटो भ्रमपूर्ण लेख तथा समाचार प्रशारण तथा प्रकाशन गरेको, कम्पनीको विवरणपत्रमा उल्लेखित विषयहरुको बारेमा अनर्गल र गलत तथ्य उल्लेख गरी नीतिगत भ्रष्टाचार, संस्थागत अपराध, वित्तीय आतंकवाद, ठगी जस्ता अप्रमाणित र मानहानीपूर्ण आरोप लगाई कम्पनी र कम्पनीको संस्थापकलाई बेईज्जी गर्ने उद्देश्यले लिखित, अडियो र भिडियो प्रकाशन वा प्रशारण गरिएको भन्दै बुधबार निशेधाज्ञा तथा गाली बेइज्जती मुद्दा दायर गरेको थियो ।

न्यायाधीश रामचन्द्र खड्काको इजलाशले बिहीबार सुनुवाई गर्दै प्रथम दृष्टिमै ती लेख र समाचारलाई झूटो, भ्रमपूर्ण र अनर्गल भनेको छ ।

अदालतको आदेशले भ्रमपूर्ण कथा बनाएर पूँजी बजारमा आफ्नो स्वार्थशिद्ध गर्ने प्रवृत्तिमा लगाम लागेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रिलायन्सको आईपीओ रोक्न करिब २ वर्षदेखि विभिन्न मुद्दा मामिला गरे पनि अदालतको आदेशपछि शेयर निष्काशन भएपछि उक्त समूहले केही अनलाइन मिडिया र सामाजिक सञ्जालमार्फत भ्रमको खेती गरेको दाबी कम्पनीको रहेको छ ।

रिलायन्स स्पिनिङ मिल्सको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृतको प्रक्रियामा गइसकेको छ । रिलायन्सले जारी पूँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता शेयर निष्काशन गरेको थियो । बुक बिल्डिङ बिधिमार्फत निष्काशित कूल शेयरको ४० प्रतिशत (७ लाख ७० हजार ६४० कित्ता) शेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गरिएको छ । संस्थागत लगानीकर्तालाई प्रतिकित्ता ९१२ रुपैयाँको दरले शेयर बिक्री गरिएको थियो ।

बुक बिल्डिङ निर्देशिका बमोजिम ६० प्रतिशत शेयर आमसर्वसाधारण, वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक, म्युचुअल फण्ड तथा कर्मचारीलाई बाँडफाँट गरिएको छ । निर्देशिका अनुसार संस्थागत लगानीकर्तालाई बिक्री गरिएको ‘कट अफ’ मूल्यको १० प्रतिशत डिस्काउन्ट गरेर प्रतिकित्ता ८२०.८० रुपैयाँ तय भएको थियो ।

ग्लोबल आईएमई क्यापिटलको निष्काशन तथा बिक्री प्रवधकत्वमा भएको आईपीओमा गोला प्रथाबाट प्रतिआवेदक न्यूनतम ५० कित्ताको दरले शेयर बाँडफाँट गर्दा २१ हजार ८०७ जनाले शेयर पाएका छन् ।

आमसर्वसाधारणतर्फ १८ हजार ४९५ जना र वैदेशिक रोजगारी समूहतर्फ २ हजार ३११ जनालाई शेयर बाँडफाँट गरिएको ग्लोबल आईएमी क्यापिटलले जनाएको छ । तीनवटै समूहमा गरेर ५ लाख ७४ हजार ६९२ आवेदक थिए, जसमा २५ अर्ब ११ करोड ४८ लाख ५१ हजार ५३२ रुपैयाँ जम्मा भएको थियो ।

1

Scroll to Top