Banijya News

नेप्सेको पुनर्संरचना गर्न सञ्चालक समिति विगठन गर्नु पर्ने, अन्य सुझाव के के ?

1
1.1K Shares

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) पुनर्संरचनाका लागि अध्ययन समितिले हालको सञ्चालक समिति विगठन गरी नयाँ समिति गठन गर्न सुझाव दिएको छ। सोमबार अर्थमन्त्री रामेश्वर खनाललाई पुनर्संरचना अध्ययन समितिले बुझाएको प्रतिवेदनले नेप्सेमा विज्ञहरूको सञ्चालक समिति गठन गरी काम गर्नु पर्ने सुझाएको हो ।

सरकारले नेप्सेको पुनर्संरचना गर्न गत मंसिर ३ गते उच्चस्तरीय अध्ययन समिति गठन गरेको थियो । समितिले अध्ययन पूरा गरी सोमबार अर्थमन्त्रीलाई प्रतिवेदन बुझाएको मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिए ।

समितिले सेयरधनी संस्थाबाटै विज्ञहरुको सहभागितामा नयाँ सञ्चालक समिति गठन गर्नुपर्ने बताएसँगै सरकारको सेयर बिक्रीमा पनि विशेष सर्त राख्ने सिफारिस गरेको छ।

अध्ययन समितिको प्रतिवेदन अनुसार सरकारको सेयर बिक्री गर्दा कुनै एक संस्था वा समूहले ५ प्रतिशतभन्दा बढी नपाउने गरी व्यवस्था गर्नु उपयुक्त ठहर गरिएको छ । त्यसैगरी, सरकारको सेयर स्वामित्वबाट १५–२५ प्रतिशतसम्म रणनीतिक साझेदारलाई दिन सकिने सिफारिस गरिएको छ। समितिले दुई विकल्प पनि दिएका छन् l सरकारले २५ प्रतिशत सेयर राख्ने र बाँकी बिक्री गर्ने, सरकारले आफ्नो शतप्रतिशत सेयर बिक्री गर्न सक्ने विकल्प छन् l

समितिले नेप्सेको ड्यू डिलिजेन्स अडिट गरी मूल्य निर्धारण गरेर ‘ओपन बिड’ मार्फत सरकारको ५८.६६ प्रतिशत सेयर बिक्री गर्न सुझाव दिएको छ। स्थानीय संस्थालाई सेयर दिने विषयमा ५ प्रतिशतभन्दा बढी नदिनु पर्ने, साथै वाणिज्य बैंकहरुलाई प्राथमिकता दिनुपर्ने सिफारिस पनि प्रतिवेदनमा उल्लेख छ।

हाल नेप्सेमा सरकारसँगै नेपाल राष्ट्र बैंकको ९.५१, राष्ट्रिय वाणिज्य बैंकको ११.२३, कर्मचारी सञ्चय कोषको १०, लक्ष्मी सनराइज बैंकको ५, प्रभु बैंकको ५ र धितोपत्र ब्रोकरको ०.६ प्रतिशत सेयर लगानी रहेको छ।

अध्ययन समितिको संयोजक नेपाल लेखामान बोर्डका पूर्वअध्यक्ष प्रकाशजंग थापा रहेका थिए। सदस्यहरुमा नेप्सेका मुराहरि पराजुली, नेपाल राष्ट्र बैंकका निर्देशक सुभाषचन्द्र घिमिरे, धितोपत्र बोर्डका नायब कार्यकारी निर्देशक रुपेश केसी र विज्ञ सदस्यमा पूर्वकार्यकारी निर्देशक निरज गिरी रहेका थिए। समितिको सदस्य सचिव अर्थ मन्त्रालयका उपसचिव शरद निरौला थिए।

1

Scroll to Top