Banijya News

फस्टाउँदै क्यासिनो, मौलाउँदै काठमाडौंको लक्जरी हस्पिटालिटी क्षेत्र

1
1.1K Shares

गत साता मात्र बलिउडका दुई चर्चित फिल्मी कलाकार सञ्जय दत्त र सन्नी लियोनी नेपाल आए । उनीहरुलाई तारे होटलमा खोलिएका क्यासिनो उद्घाटन गर्न विशेष अतिथिका रुपमा आमन्त्रण गरिएको थियो । यस क्रममा अभिनेता दत्तले काठमाडौंको केशरमहलस्थित चार तारे होटल बाराही काठमाडौंमा सञ्चालनमा आएको क्यासिनो बादशाहको उद्घाटन गरेका थिए । यस्तै, सन्नीले पनि क्यासिनोमा प्रस्तुति दिएकी थिइन् । बलिउड कलाकार नेपालमा आएर क्यासिनो उद्घाटन र प्रचार गर्दा यसको चर्चा अझ चुलिएको छ । यस घटनाले नेपालमा पछिल्ला केही वर्षयता क्यासिनो मौलाउँदै गएको स्पष्ट पारेको छ । विदेशी पर्यटकले मात्र प्रवेश पाउने मनोरञ्जनको क्षेत्रमा खर्चिलो मानिने क्यासिनो खेलाउन नेपालमा हालसम्म २७ कम्पनीले अनुमति पाइसकेका छन् ।

नेपालमा चार र पाँचतारे होटलले क्यासिनो सञ्चालन गर्न पाउने कानुनी प्रावधान छ । यसअघि बूढानीलकण्ठमा सञ्चालित पाँच तारे होटल लेमन ट्रीमा गरुड क्यासिनो सञ्चालनमा आएको थियो । पर्यटन विभागका अनुसार, हाल नेपालमा दुई दर्जनभन्दा बढी क्यासिनो सञ्चालनमा छन् । पछिल्लो समय सञ्चालनमा आएका अधिकाशं चार र पाँचतारे होटलले क्यासिनो सञ्चालनका लागि छुट्टै ठाउँ बनाउन थालेका छन् । क्यासिनो व्यवसायबाट सरकारलाई राजस्व सङ्कलन हुने र होटल व्यवसायलाई समेत राम्रो आम्दानी हुने भएकाले सबै होटलको ध्यान क्यासिनोतर्फ आकर्षित भएको व्यवसायीहरू बताउँछन् । क्यासिनो उद्योगले रोजगारी सिर्जना, सरकारी राजस्व वृद्धि र होटल व्यवसायको विस्तारमा सकारात्मक प्रभाव पारिरहेको उनीहरूको दाबी छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार डिजाइन गरिएका गेमिङ फ्लोर, सुरक्षा प्रणाली र सेवा सुविधाले काठमाडौंको लक्जरी हस्पिटालिटी क्षेत्रलाई नयाँ स्तरमा पुर्याउने व्यवसायीहरुको दाबी छ ।

होटल सङ्घ नेपालअन्तर्गतको क्षेत्रीय सिद्धार्थ होटल सङ्घका अध्यक्ष सीपी श्रेष्ठका अनुसार, नेपालमा सञ्चालनमा रहेका क्यासिनोले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौँ नेपालीलाई रोजगारी दिएका छन् । यस्तै, पर्यटकलाई आकर्षण गरी होटलको आम्दानी बढाउनुका साथै सरकारको राजस्व सङ्कलनमा समेत सहयोग पुर्याएका छन् । होटलमा क्यासिनो सञ्चालन भएपछि विदेशी पर्यटकको आकर्षण बढ्ने गरेको छ । होटलमा क्यासिनो हुँदा विदेशी पर्यटकको बसाइ अवधि लम्बिन्छ, जसले होटल व्यवसायलाई थप सशक्त बनाउने गर्दछ ।

अहिले काठमाडौंसहित भैरहवा, नेपालगञ्ज, विराटनगरलगायत प्रमुख पर्यटकीय सहरमा बनेका होटलमा क्यासिनो सञ्चालनमा छन् । चार र पाँच तारे होटलभित्र सञ्चालन भएका क्यासिनोले होटलको अकुपेन्सी २० प्रतिशतसम्म बढाउन र होटलको व्यवसाय विस्तारमा सहयोग पुगेको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

यसैगरी, सरकारले क्यासिनो उद्योगबाट लाइसेन्स शुल्क, वार्षिक नवीकरण शुल्क, कर तथा अन्य शुल्क लिने गर्छ । विभागका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा क्यासिनोबाट कर, लाइसेन्स, नवीकरण र अन्य शुल्कसहित करिब १ अर्ब ३४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो । क्यासिनोहरुले सरकारलाई  करिब ३ अर्ब ५० करोड बक्यौता तिर्न बाँकी छ ।

पर्यटन व्यवसायीहरूका अनुसार, विदेशी पर्यटक आकर्षित गर्न क्यासिनो प्रभावकारी माध्यम बनेको छ । विशेषगरी, भारत, चीन तथा तेस्रो मुलुकका पर्यटक क्यासिनो पर्यटनका लागि नेपाल आउने गरेका छन् । यसले होटल, रेस्टुरेन्ट, यातायात तथा अन्य सेवा क्षेत्रलाई समेत प्रत्यक्ष लाभ पुर्याएको छ ।

नेपालमा सञ्चालनमा रहेका क्यासिनोका मुख्य ग्राहक भारतीय र चिनियाँ पर्यटक हुन् । खुला सीमाका कारण भारतीय पर्यटकको सङ्ख्या बढी देखिएको छ । अध्यक्ष श्रेष्ठका अनुसार, क्यासिनोबाट आम्दानीका साथै मनोरञ्जन पनि प्राप्त हुने भएकाले विशेषगरी भारतीय पर्यटकको आकर्षण नेपाली क्यासिनोमा बढी रहेको छ ।

कानुनअनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश र जुवा खेल्न निषेध छ । विदेशी नागरिक तथा गैरआवासीय नेपालीहरूले मात्र क्यासिनो खेल्न पाउने व्यवस्था छ । तर, सरकारले क्यासिनोको नियमित अनुगमन र नियमन गर्न नसक्दा बेला–बेलामा नेपाली नागरिक पनि क्यासिनोमा खेल्दै गरेको फेला पर्ने गरेका छन् ।

नेपालमा पहिलो पटक याक एण्ड यति होटलमा २०४८ सालमा क्यासिनो सञ्चालनको अनुमति दिइएको थियो । त्यसयता २०७०/७१ सालसम्म क्यासिनोले अनुमति पाएका थिए । त्यसपछि सरकारले चुक्ता पूँजी बढाउने निर्णय लिएपछि नयाँ क्यासिनो आउने क्रम बन्द भएको थियो । पछिल्लो समय आतिथ्य सेवामा लगानी थप भएसँगै ती होटलहरुले क्यासिनो पूर्वाधार थप गरेपछि पुनः क्यासिनो खोल्न अनुमति दिइएको छ ।

कहाँ–कहाँ छन् क्यासिनो ?

काठमाडौंमा होटल याक एण्ड यति, द मल्ल, ¥याडिसन, मेरियट, सोल्टी, तारागाउँ रिजेन्सी, डेला अन्नपूर्णजस्ता प्रतिष्ठित होटलहरूमा क्यासिनो सञ्चालनमा छन् । काठमाडौं बाहिर भैरहवा, विराटनगर, काँकडभिट्टा, नेपालगञ्ज र वीरगञ्जमा पनि ठूला होटल तथा रिसोर्टभित्र क्यासिनो सञ्चालनमा रहेका छन् ।

होटल याक एण्ड यति (क्यासिनो रोयल) : होटल याक यण्ड यति, दरबारमार्ग, काठमाडौं
ओरियन्टल होटल्स (क्यासिनो र्याड) : ओरियन्टल होटल (होटल र्याडिसन), लाजिम्पाट, काठमाडौं
सेन्ट्रल मिडिया ग्रुप : होटल ओपेरा (महेन्द्रनगर, नेपालगञ्ज), होटल भिसुवा (वीरगञ्ज), होटल रत्ना (विराटनगर), होटल प्लाटिनम (काठमाडौं)
रक इन्टरनेशनल : होटल साथी (धनगढी), होटल सुरज (वीरगञ्ज), होटल बोधी रेडसन (भैरहवा) र होटल रियाज (इष्टर्न ग्राण्ड, काँकडभिट्टा)
ह्याप्पी आवर : होटल स्वीटड्रीम (महेन्द्रनगर), होटल लाकौल (भैरहवा), होेटेल ढाका (काँकडभिट्टा)
एसएचएल म्यानेजमेन्ट सर्भिसेज : होटल सांग्रिला, लाजिम्पाट, काठमाडौं
माजोङ इन्टरटेन्मेन्ट : सोल्टी होटल, ताहाचल, काठमाडौं
प्राइड इन्टरटेनमेन्ट : तारागाउँ रिजेन्सी (ह्यात रिजेन्सी), बौद्ध
एटलान्टिक रिक्रियसन : होटल डेला अन्नपूर्ण, दरबारमार्ग, काठमाडौं
एसएचएल म्यानेजमेन्ट सर्भिसेज : होटल टाइगर वन, भैरहवा, रुपन्देही
स्माइल कलेक्सन (फोर क्वीन क्यासिनो) : इच्छा होटल, सिमरा, बारा
बेल्लिज नेपाल प्रालि : मल्ल होटल, लैनचौर
डेल्टइन नेपाल : होटल म्यारियट, नक्साल
इम्पेरियल इन्टरटेन्मेन्ट : होटल सोल्टी शिवक्रिम होटल्स तथा रिसोर्ट, नेपालगन्ज
ज्याकपट गेमिङ सेन्टर : भ्यू होटल सिद्धार्थ, बाँके, नेपालगञ्ज
भेगस रिक्रिएसन प्रालि : होटल मेची क्राउन, झापा
निर्भाना लक्जरी इन्टरटेनमेन्ट : होटल निर्वाण, सिद्धार्थनगर, भैरहवा
बेलिज इन्टरटेन्मेन्ट : होटल स्नेह, बाँके
सिद्धार्थ गेमिज जोन (क्यासिनो प्याराडाइज) : होटल नान्स, सिद्धार्थनगर, भैरहवा
भेन्यू रिक्रियसन : होटल स्टारलाइट नीलदेवी, नेपालगञ्ज, बाँके
ओम त्रयम्बकम इन्टरटेन्मेन्ट : कल्पतरु होटल्स एण्ड कौशिकी बैंकेट, नेपालगञ्ज, बाँके
सेपियर इन्टरटेन्मेन्ट टेक्नोलोजी : होटल सिटी प्यालेस, नेपालगञ्ज, बाँके
वाल्डो डाइनेस्टी इन्टरटेनमेन्ट : होटल अलफ्ट, काठमाडौं
किङ्सवरी इन्टरटेन्मेन्ट : होटल द किङ्सवरी, झापा
ताज इन्टरटेन्मेन्ट : होटल माउन्ट कैलाश, कास्की
अपूर्व गेमिङ जोन : मौर्य होटल, भैरहवा
क्यासिनो बादशाह : होटल बाराही, केशरमहल, काठमाडौं
गरुड क्यासिनो : होटल लेमन ट्री, बूढानीलकण्ठ, काठमाडौं

दुई लाख खर्च नाघे विवरण राख्नुपर्ने

क्यासिनोमा आउने ग्राहकले २ लाख रुपैयाँभन्दा बढी खर्च गरेमा उनीहरूको विवरण अनिवार्य रूपमा सङ्कलन गरी अभिलेख राख्नुपर्ने व्यवस्था लागू गरिएको छ । पर्यटन विभागले क्यासिनो व्यवसायीहरूका लागि जारी गरेको निर्देशन, २०८२ लाई संशोधन गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो । पर्यटन विभागका अनुसार, क्यासिनो क्षेत्रमा हुने आर्थिक कारोबारलाई पारदर्शी, जिम्मेवार र कानुनसम्मत बनाउने उद्देश्यले यो व्यवस्था गरिएको हो । अब क्यासिनोमा प्रवेश गर्ने तथा खेल गतिविधिमा संलग्न भई २ लाख रुपैयाँभन्दा बढी खर्च गर्ने ग्राहकको परिचय खुल्ने विवरण, कारोबारसम्बन्धी जानकारी तथा आवश्यक कागजात क्यासिनो सञ्चालकले सुरक्षित रूपमा सङ्कलन गरी अभिलेख राख्नुपर्नेछ ।

विभागले यस व्यवस्थाबाट क्यासिनो व्यवसायमा हुने अवैध आर्थिक गतिविधि नियन्त्रण गर्न, वित्तीय अनुशासन कायम गर्न र नियामक निकायको अनुगमनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिएको छ ।

1

Scroll to Top