Banijya News

बालेनलाई झापा बाट चुनाब लडाएर साईड लगाउने रास्वपाको रणनिति

1
1.3K Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने तयारी थालेसँगै नेपाली राजनीति नयाँ मोडमा पुगेको छ । बालेनको सचिवालयका अनुसार उनी त्यसको औपचारिक गृहकार्यमा जुटिसकेका छन् । झापा ५ नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक पकड रहेको क्षेत्र हो, जहाँबाट ओली विगत तीन दशकदेखि प्रभावशाली रूपमा निर्वाचित हुँदै आएका छन् ।

बालेनले ओलीकै निर्वाचन क्षेत्रमा प्रतिष्पर्धा गर्ने तयारी थालेपछि यो निर्णयलाई केवल व्यक्तिगत राजनीतिक आकांक्षा मात्र नभई राष्ट्रिय सत्ता राजनीतिसँग जोडिएको ठूलो रणनीतिक चाल का रूपमा हेरिन थालिएको ।


बालेनका एक सल्लाहकारका अनुसार झापा ५ बाट उम्मेदवारी दिने विषयमा बालेनले स्थानीय राजनीतिक मनोविज्ञान, मतदाताको झुकाव र पार्टी संरचनाको अवस्थाबारे विस्तृत ब्रिफिङ लिएका छन् । यसैबीच उनका प्रमुख स्वकीय सचिव भुपदेव शाहले ५ गतेभित्र मेयर पदबाट राजीनामा दिएर ६ गते मनोनयन दर्ताका लागि झापा जाने तयारी भइरहेको जानकारी दिएका छन् । यसले बालेनको योजना अब अनुमानको तहबाट निर्णयको चरणमा प्रवेश गरेको देखिन्छ ।

बालेनलाइ साईड लगाउने रास्वपाको रणनिति

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई झापा निर्वाचन क्षेत्रबाट चुनाव लडाएर राष्ट्रिय राजनीतिमा ‘साइड लगाउने’ रणनीति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै तयार भइरहेको दाबीले राजनीतिक वृत्त तातेको छ। झापा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको बलियो गढ मानिँदै आएको क्षेत्र हो, जहाँ बालेनलाई चुनावी प्रतिस्पर्धामा उतार्नु जितभन्दा हारको सम्भावना बढी भएको कदमका रूपमा हेरिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार, बालेन झापाबाट पराजित भए उनी राष्ट्रिय राजनीतिको मुख्य प्रतिस्पर्धाबाट बाहिरिने छन्। यही अवस्थाले रास्वपाका सभापति रवि लामिछानेलाई ‘एक्लो लोकप्रिय अनुहार’को रूपमा अगाडि ल्याउने र भावी प्रधानमन्त्रीको दाबेदारी मजबुत बनाउने रास्वपाको राणनिति छ ।

बालेनलाई जित्न गाह्रो हुने ओलीको क्षेत्रमा पठाउनु रवि लामिछानेका लागि ‘लो–रिस्क, हाई–गेन’ रणनीति हुन सक्छ । यदी बालेनले जिते भने एमाले कमजोर बन्छ र बालेन हारे भने पनि ओलीको मत काटिन्छ र रास्वपाले सत्ता राजनीतिमा फाइदा लिन्छ । साथै बालेन झापा बाट हार्दा रवी स्वयम प्रधानमन्त्री हुन पाउने छन् । यो दुवै अवस्थामा राजनीतिक लाभ रवि लामिछानेतर्फ जाने गणित देखिन्छ ।

बालेनका लागि मैदान कति सहज छ ?
यो क्षेत्र ओलीका लागि केवल निर्वाचन क्षेत्र मात्र होइन, राजनीतिक पहिचान र शक्ति प्रदर्शनको केन्द्र हो । एमालेको सुदृढ संगठन, पुराना कार्यकर्ता, स्थानीय तहदेखि केन्द्रसम्मको प्रभाव र ‘ओली ब्रान्ड’ ले झापा ५ लाई बलियो बनाएको छ । यस अर्थमा बालेनको झापा ५ यात्रा सहज देखिँदैन ।

बालेनको सम्भावित अवस्थालाई सागर ढकालको डडेल्धुरामा भएको निर्वाचनसँग तुलना गर्न गर्दा बालेनलाई झापामा जित हात पार्न असहज देखिन्छ । डडेल्धुरामा सागर ढकालले चर्चित र वैकल्पिक राजनीतिक छवि बोकेर शेरबहादुर देउवाको प्रतिष्पर्धा गरेका थिए । तर देउवाको दशकौँदेखिको संगठनात्मक पकड, स्थानीय प्रभाव र सत्ता पहुँचका कारण ढकालको प्रयास अपेक्षाकृत परिणाममा रूपान्तरण हुन सकेन ।

यही उदाहरण झापा ५ मा पनि दोहोरिन सक्ने जोखिम देखिन्छ । ओलीको पकड रहेको क्षेत्रमा बालेनको लोकप्रियता मात्रै पर्याप्त नहुन सक्छ । स्थानीय मतदाता राष्ट्रिय बहसभन्दा स्थानीय सम्बन्ध, पार्टी अनुशासन र दीर्घकालीन राजनीतिक निष्ठा बाट बढी निर्देशित हुने यथार्थ पनि छ । त्यसैले झापा ५ मा बालेनको उम्मेदवारी भावनात्मक रूपमा आकर्षक देखिए पनि व्यवहारिक रूपमा अत्यन्त चुनौतीपूर्ण छ ।

यता यही चुनौतीभित्र अर्काे राजनीतिक गणित पनि लुकेको छ । यदि बालेन झापा ५ बाट उम्मेदवार बनेर ओलीसँग कडा प्रतिष्पर्धामा उत्रिए भने, जित–हार जे भए पनि एमालेको मत विभाजन निश्चित हुने देखिन्छ । यता बालेन पक्ष भने आफू कसैको राजनीतिक मोहरा नभएको दाबी गर्दै आएको छ । उनी स्वतन्त्र र वैकल्पिक राजनीतिका प्रतिनिधि भएको भन्दै आएका छन् । तर झापा ५ जस्तो रणनीतिक क्षेत्रमा उम्मेदवारी दिने निर्णयले उनीमाथि दल–दलको शक्ति खेलमा प्रयोग भएको आरोप लाग्न सक्ने जोखिम बढाएको छ ।

झापा ५ अब केवल ओली र बालेनबीचको प्रतिष्पर्धा मात्र होइन । यो क्षेत्र एमालेको भविष्य, रास्वपाको सत्ता महत्वाकांक्षा र बालेनको राष्ट्रिय राजनीतिक प्रवेशको निर्णायक परीक्षा बन्ने देखिन्छ । यहाँको परिणामले संसदको शक्ति सन्तुलन मात्र होइन, आगामी सरकारको नेतृत्व को हातमा जाने भन्ने प्रश्नसमेत निर्धारण गर्न सक्छ ।

यस अर्थमा झापा ५ को निर्वाचन व्यक्तिगत लडाइँ होइन, सत्ता संरचना पुनर्लेखन गर्ने रणभूमि बन्दै गएको छ । बालेनको औपचारिक उम्मेदवारी घोषणासँगै यो राजनीतिक खेल अझ स्पष्ट र तीव्र हुने निश्चित छ ।

1

Scroll to Top