Banijya News

हकप्रद शेयरमार्फत पुजी बढाउँदै असुचिकृत कम्पनी, कस्तो छ प्रक्रिया ?

1
1.2K Shares

पछिल्लो समय असूचीकृत कम्पनीहरूले हकप्रद तथा जगेडा शेयरमार्फत आफ्नो चुक्ता पूँजी वृद्धि गर्ने क्रम तीव्र बन्दै गएको छ। व्यवसाय विस्तार, ऋण भार व्यवस्थापन र नयाँ परियोजनामा लगानीको तयारीका लागि असूचीकृत पब्लिक तथा प्राइभेट कम्पनीहरूले पूँजी वृद्धि प्रक्रियालाई प्राथमिकतामा राख्न थालेका हुन्। बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा पुनर्संरचना गर्न वा नयाँ कर्जा लिन वित्तीय सूचक बलियो देखाउन चुक्ता पूँजी बढाउनु आवश्यक पर्ने भएकाले हकप्रद वा जगेडा शेयरमार्फत पूँजी संकलन गरिँदै आएको छ।

नियामक निकायले तोकेका न्यूनतम पूँजी तथा जोखिम व्यवस्थापनसम्बन्धी मापदण्ड पूरा गर्न पनि कम्पनीहरूले पूँजी वृद्धि गरिरहेका छन्। शेषगरी असूचीकृत पब्लिक कम्पनीहरूले दीर्घकालीन स्थायित्व देखाउन पूँजी पर्याप्तता कायम गर्नु अनिवार्य बन्दै गएको छ। पूँजी वृद्धि भएपछि कम्पनीको विश्वसनीयता बढ्ने र भविष्यमा सूचीकृत हुने सम्भावना पनि बलियो हुने व्यवसायीहरू बताउँछन्।

कस्तो छ प्रक्रिया ?
सामान्यतया कम्पनीले आवश्यकता अनुसार चरणबद्ध रूपमा पूँजी वृद्धि गर्न सक्छ। तर पूँजी वृद्धिको प्रक्रिया कम्पनीको प्रकृतिअनुसार फरक–फरक हुने गर्छ। सूचीकृत कम्पनीहरूमा धितोपत्रसम्बन्धी कानून लागू हुने भए पनि प्राइभेट कम्पनी र असूचीकृत पब्लिक कम्पनीमा मुख्यतः कम्पनी ऐन, २०६३ को व्यवस्था लागू हुन्छ।

सूचीकृत कम्पनीले पूँजी वृद्धि गर्दा सञ्चालक समितिको निर्णयपछि साधारण वा विशेष साधारणसभाबाट प्रस्ताव पारित गर्नुपर्छ। त्यसपछि नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर हकप्रद शेयर निष्कासन गरिन्छ। बुक क्लोज, आवेदन अवधि, बाँडफाँट तथा लिलामीजस्ता प्रक्रिया स्पष्ट कानूनी ढाँचाभित्र रहेर अघि बढाइन्छ।

प्राइभेट कम्पनीको हकमा भने पूँजी वृद्धि प्रक्रिया तुलनात्मक रूपमा सरल छ। सञ्चालक समितिले निर्णय गरी कायम शेयरधनीलाई आन्तरिक रूपमा सूचना दिएर रकम संकलन गर्न सकिन्छ। सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने बाध्यता हुँदैन। शेयर बाँडफाँटपछि विवरण कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गरिन्छ।

तर असूचीकृत पब्लिक कम्पनीले पूँजी वृद्धि गर्दा भने अतिरिक्त प्रक्रिया झेल्नुपरेको गुनासो बढ्दै गएको छ। कम्पनी रजिष्ट्रार कार्यालयले जगेडा वा हकप्रद शेयर जारी गर्दा राष्ट्रियस्तरको दैनिक पत्रिकामा ३० वा ३५ दिनको सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने शर्त लगाउँदै आएको छ, जसका कारण पूँजी वृद्धि प्रक्रिया झन्झटिलो र खर्चिलो बन्दै गएको छ।

कानून व्यवसायीहरूका अनुसार यस्तो सार्वजनिक सूचना प्रकाशनको व्यवस्था कम्पनी ऐन, २०६३ मा स्पष्ट रूपमा उल्लेख छैन। कम्पनी ऐनको दफा ५३ लाई आधार मानेर सूचना प्रकाशन गर्न लगाइए पनि उक्त दफा शेयर जफतसम्बन्धी व्यवस्था भएको उनीहरूको तर्क छ। जगेडा वा हकप्रद शेयर जारी गर्नु र शेयर जफत गर्नु फरक विषय भएकाले एउटै दफा प्रयोग गर्नु असान्दर्भिक भएको उनीहरू बताउँछन्।

असूचीकृत पब्लिक कम्पनीका सञ्चालकहरूका अनुसार अनावश्यक कानूनी प्रक्रिया थपिँदा पूँजी व्यवस्थापनमै समस्या सिर्जना भएको छ। समय र लागत बढ्नुका साथै लगानीकर्ताको चासो समेत प्रभावित हुने उनीहरूको भनाइ छ। ऐनमा नलेखिएको अतिरिक्त शर्त नियामक निकायले थप्नु अधिकारको सीमा नाघ्नु भएको तर्क समेत उठ्न थालेको छ।

यद्यपि पारदर्शिता र शेयरधनीको हित संरक्षण आवश्यक रहेकोमा सबै पक्ष सहमत छन्। विज्ञहरूका अनुसार शेयरधनीलाई जानकारी दिनु आवश्यक भए पनि त्यसका लागि राष्ट्रियस्तरको पत्रिकामै सूचना प्रकाशित गर्नुपर्छ भन्ने बाध्यता ऐनको मर्म होइन। इमेल, रजिस्ट्री चिठी वा अन्य प्रत्यक्ष माध्यमबाट पनि पारदर्शिता कायम गर्न सकिने उनीहरूको भनाइ छ।

1

Scroll to Top