अर्बपति विनोद चौधरीदेखि जिल्ला उद्योग वाणिज्य संघका महासचिवसम्म प्रतिनिधिसभा सदस्य बन्ने होडमा उत्रिएका छन्। आगामी फागुन २१ गते हुने प्रत्यक्ष निर्वाचनका लागि उद्योग तथा व्यवसाय पृष्ठभूमि भएका ठूला, मझौला र साना स्तरका व्यवसायीहरूले विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दर्ता गराएका हुन्।
फोर्ब्सको सूचीमा सूचीकृत एकमात्र नेपाली अर्बपति तथा चौधरी समूहका अध्यक्ष विनोद चौधरीले नेपाली कांग्रेसबाट नवलपरासी–१ मा उम्मेदवारी दिएका छन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका चौधरी २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। निर्माण व्यवसायी तथा कांग्रेस केन्द्रीय सदस्य मोहन आचार्यले रसुवाबाट उम्मेदवारी दर्ता गरेका छन् भने ऊर्जा तथा मेडिकल व्यवसायी डा. सुनीलकुमार शर्माले मोरङ–३ बाट चुनावी प्रतिस्पर्धा गरिरहेका छन्।
खाद्य उद्योग, निर्माण र व्यापार क्षेत्रमा संलग्न व्यवसायीहरूको पनि उल्लेख्य उपस्थिति देखिएको छ। यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्माले रुपन्देही–२, व्यवसायी अनिलकुमार रुंगटाले पर्सा–१ र अलैंची व्यवसायी राजेन्द्र घिमिरेले झापा–३ बाट उम्मेदवारी दिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर कैलाली–२ बाट चुनावी मैदानमा उत्रिएका छन्।
पर्यटन र सेवा क्षेत्रका व्यवसायीहरू पनि उम्मेदवार बनेका छन्। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष रमेशप्रसाद धमलाले धादिङ–२ बाट उम्मेदवारी दिएका छन् भने पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका पूर्वसदस्य कृष्ण रिजाल धादिङ–१ बाट चुनाव लड्दै छन्। मुस्ताङमा पर्यटन व्यवसायी योगेश गौचन र मनाङमा होटल तथा पर्यटन व्यवसायी पोल्देन छोपाङ गुरुङ उम्मेदवार बनेका छन्।
बैंकिङ तथा वित्तीय क्षेत्रका पूर्वकार्यकारीहरू पनि चुनावी प्रतिस्पर्धामा छन्। मुक्तिनाथ विकास बैंकका पूर्वअध्यक्ष भरतराज ढकाल स्याङ्जा–१ बाट उम्मेदवार बनेका छन् भने सोही क्षेत्रबाट पूर्वबैंकर मीनप्रसाद गुरुङले पनि उम्मेदवारी दर्ता गरेका छन्। स्याङ्जा–२ बाट पर्यटन व्यवसायी खिम थापा उम्मेदवार बनेका छन्।
उद्योग तथा व्यापार संघसंस्थामा नेतृत्व गरेका व्यक्तिहरू पनि चुनावी मैदानमा देखिएका छन्। भक्तपुर उद्योग वाणिज्य संघका महासचिव रुकेश रञ्जितले राष्ट्रिय स्वतन्त्र पार्टीबाट भक्तपुर–१ मा उम्मेदवारी दर्ता गरेका छन्। त्यस्तै, पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी स्याङ्जा–१ बाट उम्मेदवार बनेका छन्।
उद्योग, व्यापार, पर्यटन र वित्तीय क्षेत्रको अनुभव बोकेका उम्मेदवारहरूको बढ्दो उपस्थितिले यसपटकको निर्वाचनमा आर्थिक एजेन्डा, लगानी वातावरण र निजी क्षेत्रको भूमिकामाथि बहस चर्किने संकेत देखिएको छ।


