आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइको काम तीव्र गतिमा अघि बढेको छ। निर्वाचन आयोगका अनुसार यसपटक दुवै निर्वाचन प्रणाली (समानुपातिक र प्रत्यक्ष) का लागि आवश्यक मतपत्र छपाइ तथा प्याकिङमा करिब २२ करोड रुपैयाँ खर्च हुने अनुमान छ। निर्वाचनका लागि करिब ५ करोड थान कागज आयोगले खरिद गरेर उपलब्ध गराइसकेकाले जनक शिक्षा सामग्री केन्द्रलाई छपाइ र प्याकिङको मात्र भुक्तानी गरिनेछ। अघिल्लो ०७९ सालको निर्वाचनमा करिब ८ करोड मतपत्र छाप्दा ४४ करोड ५० लाख रुपैयाँ खर्च भएकोमा यसपटक प्रदेश सभाको मतपत्र छाप्न नपर्ने भएकाले खर्च र संख्या दुवैमा कमी आएको हो।
गत २५ पुसदेखि भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा सुरु भएको छपाइ कार्यअन्तर्गत हालसम्म १ करोड १५ लाख ६४ हजार थान मतपत्र छापिसकिएको छ। निर्वाचनका लागि कुल ४ करोड २० लाख ५० हजार मतपत्र आवश्यक पर्नेमा अझै ३ करोड ८६ हजार थान छाप्न बाँकी रहेको केन्द्रले जनाएको छ। हाल केन्द्रमा रहेका पाँचवटा छापाखानामा २५० जना कर्मचारीहरू खटिएर दैनिक १३ लाखका दरले मतपत्र उत्पादन गरिरहेका छन्। समानुपातिकतर्फ मात्र २ करोड १० लाख ५० हजार मतपत्र आवश्यक पर्नेमा अब करिब ९४ लाख ८६ हजार थान छाप्न बाँकी छ।
निर्वाचन आयोगले समानुपातिकतर्फको छपाइका लागि ९ माघसम्मको समयसीमा दिएको भए पनि प्याकिङका लागि थप समय लाग्ने देखिएकाले १० माघसम्ममा यो चरणको काम सकिने प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिनुभयो। समानुपातिकतर्फको काम सकिएपछि मात्र प्रत्यक्षतर्फको छपाइ सुरु हुनेछ, जसका लागि करिब १२ दिन लाग्ने अनुमान छ। केन्द्रले २३ माघसम्ममा सम्पूर्ण छपाइ कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ। छपाइ सम्पन्न भएपछि २७ वा २८ माघदेखि जिल्लास्थित निर्वाचन कार्यालयहरूमा मतपत्र ढुवानी सुरु गरिनेछ, जसको सम्पूर्ण सुरक्षा र व्यवस्थापनको जिम्मेवारी निर्वाचन आयोगको रहनेछ।


