Banijya News

संसदीय चुनावमा एक खर्बको कारोबार हुने, दल र उम्मेदवारको खर्च सिमा कति ?

1
1.2K Shares

संसदीय निर्वाचनलाई लक्षित गरी सरकार, राजनीतिक दल र उम्मेदवारको खर्च बढ्दै जाँदा चुनाव अवधिभर एक खर्ब रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । निर्वाचनसँगै बढ्ने माग, आपूर्ति र उपभोगले सुस्त रहेको अर्थतन्त्रमा चहलपहल ल्याउने छ । प्रतिनिधिसभाका २७५ सांसद निर्वाचित गराउने चुनावका लागि समानुपातिकतर्फको बन्दसूची सार्वजनिक भइसकेको छ भने प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता सम्पन्न भइसकेको छ । सरकारले निर्वाचनसम्बन्धी खर्च सुरु गरिसकेको छ । उता राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार, सभा–सम्मेलन तथा संगठन विस्तारलाई तीव्र बनाएका छन् । यसले बजारमा नगद प्रवाह बढाउँदै आर्थिक गतिविधि चलायमान बनाउने अपेक्षा गरिएको छ ।

सरकारले आगामी निर्वाचनका लागि निर्वाचन आयोग, गृह मन्त्रालय (प्रहरी) र रक्षा मन्त्रालय (सेना) लाई १७ अर्ब ३३ करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ । गृह मन्त्रालयलाई १० अर्ब ३८ करोड, निर्वाचन आयोगलाई चार अर्ब ९६ करोड र सेनालाई एक अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएको छ । यी निकायले नियमित बजेटबाट समेत चुनावसम्बन्धी खर्च गर्न पाउनेछन् ।

दल र उम्मेदवारले के–केमा खर्च गर्न पाउँछन् ?
तोकिएबमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तक्र्रिया र अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालनलगायत विषयमा खर्च गर्न पाउने आयोगले व्यवस्था गरेको छ ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रलाई पाँच वर्गमा विभाजन गरेर २५ देखि ३३ लाखसम्म उम्मेदवारले खर्च गर्न पाउने सीमा तोकेको छ । सबैभन्दा कम २५ लाखसम्म खर्च गर्न पाउने निर्वाचन क्षेत्र पाँच र सबैभन्दा धेरै ३३ लाखसम्म खर्च गर्न पाउने निर्वाचन क्षेत्र २६ वटा छन् । त्यस्तै, १७ निर्वाचन क्षेत्रमा २७ लाख, ६५ क्षेत्रमा २९ लाख र ५२ क्षेत्रमा ३१ लाखसम्म एक उम्मेदवारले खर्च गर्न पाउने सीमा तोकिएको छ । यसरी प्रत्यक्षतर्फका उम्मेदवारले खर्च गर्न पाउने औसत सीमा २७ लाख देखिन्छ । प्रत्यक्षतर्फका कुल उम्मेदवार तीन हजार चार सय ८४ जना पुगेका छन् । यसलाई आधार मान्दा प्रत्यक्षतर्फका उम्मेदवारले नौ अर्ब ४१ करोड २२ लाख गर्न सक्ने देखिन्छ ।

समानुपातिकका लागि दलले ६४ करोड खर्च गर्न सक्नेछन्
निर्वाचन आयोगले समानुपातिक उम्मेदवारका लागि राजनीतिक दलले खर्च गर्न पाउने अधिकतम सीमा दुई लाख रुपैयाँ तोकिदिएको छ । समानुपातिकतर्फका उम्मेदवार स्वयंले खर्च गर्न पाउँदैनन्, दलले खर्च गर्छ । आयोगका अनुसार आसन्न निर्वाचनमा ६३ राजनीतिक दलका तीन हजार दुई सय १३ उम्मेदवार बन्द सूचीमा सूचीकृत छन् । प्रतिउम्मेदवार दुई लाख खर्च गर्न पाउने सीमालाई आधार मान्दा दलहरूले समानुपातिक उम्मेदवारका लागि ६४ करोड २६ लाख रुपैयाँ खर्च गर्ने देखिन्छ ।

उम्मेदवारी दर्ताबाट साढे तीन करोड संकलन
प्रतिनिधिसभाको उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ तोकिएको छ । निर्वाचन आयोगका अनुसार देशैभर गरी तीन हजार चार सय ८४ जनाले उम्मेदवारी दर्ता गर्दा तीन करोड ४८ लाख ६० हजार रुपैयाँ संकलन भएको छ ।

1

Scroll to Top