पछिल्लो समय विश्व बजारमै डिजिटल उपकरणको मूल्य तीव्र रूपमा बढ्दै जाँदा त्यसको असर नेपाली बजारमा पनि स्पष्ट देखिन थालेको छ । र्याम (मेमोरी) को अभाव, आपूर्ति शृंखलामा गरिएका समायोजन, कच्चा पदार्थको लागत वृद्धि र प्रिमियम उपकरणप्रतिको बढ्दो मागका कारण स्मार्टफोन, ल्यापटप, राउटरलगायत डिजिटल उपकरण महँगिँदै गएका छन् । यसले सरकारको राजस्वमा केही सकारात्मक प्रभाव पारे पनि आम उपभोक्ताको दैनिक खर्चमा भने थप आर्थिक भार थपेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ मा डिजिटल उपकरणको आयात संख्या सामान्य रूपमा बढेको भए पनि आयात मूल्य पनि उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १२ लाख ५२ हजार ६ सय ३४ वटा स्मार्टफोन नेपाल भित्रिएका छन् । यसको कुल आयात मूल्य २३ अर्ब २९ करोड ८३ लाख २२ हजार रुपैयाँ पुगेको छ । यसबाट सरकारले ४ अर्ब ३४ करोड ५९ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने ११ लाख ११ हजार ५ सय ५६ वटा स्मार्टफोन मात्र आयात भएका थिए । त्यतिबेला आयात मूल्य १६ अर्ब ७१ करोड ३९ लाख ३० हजार रुपैयाँ थियो भने सरकारले ३ अर्ब ११ करोड ६८ लाख ४९ हजार रुपैयाँ राजस्व उठाएको थियो । तथ्यांक अनुसार यस पटक स्मार्टफोनको आयात संख्या सीमित रूपमा बढे पनि आयात मूल्य झण्डै २४ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षकै असोज महिनासम्म १३ अर्ब ६२ करोड ७५ लाख ३८ हजार रुपैयाँ बराबरका ८ लाख ४८ हजार ६० वटा स्मार्टफोन आयात भएका थिए । असोजयता पुससम्म आइपुग्दा प्रतिस्मार्टफोन आयात मूल्य औसत १५–१६ प्रतिशतले बढेको देखिन्छ ।
स्मार्टफोनसँगै ल्यापटप र नोटबुकको आयात मूल्यमा पनि वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ७५ हजार ५ सय ६७ वटा ल्यापटप तथा नोटबुक नेपाल भित्रिएका छन् । यसको आयात मूल्य ५ अर्ब २५ करोड ७४ लाख १९ हजार रुपैयाँ पुगेको छ । यसबाट सरकारले ९९ करोड ८४ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने ६६ हजार ५९ वटा ल्यापटप ४ अर्ब ५२ करोड ९ लाख ८० हजार रुपैयाँमा आयात भएका थिए । त्यसबेला सरकारको राजस्व ८६ करोड ८ लाख ९६ हजार रुपैयाँ थियो । यसपालि प्रतिल्यापटप औसत करिब १ हजार १ सय रुपैयाँ, अर्थात् १।६ प्रतिशत बढी तिरिएको देखिन्छ । यो वृद्धिले विद्यार्थी, फ्रीलान्सर र साना व्यवसायीहरूलाई प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ ।
राउटरको आयात संख्या पनि चालु आर्थिक वर्षमा बढेको छ । यस वर्ष ४ लाख ८९ हजार ३ सय ३६ वटा राउटर १ अर्ब २५ करोड ३ लाख ३७ हजार रुपैयाँमा आयात भएका छन् । अघिल्लो आर्थिक वर्षको यही अवधिमा ३ लाख ६६ हजार ८ सय ८० वटा राउटर ९४ करोड ६८ लाख २ हजार रुपैयाँमा आयात भएका थिए । समग्रमा हेर्दा यसपालि प्रतिराउटर आयात मूल्य केही सस्तो देखिए पनि असोजपछि पुससम्म आइपुग्दा औसत ६–७ प्रतिशतले मूल्य बढेको तथ्यांकले देखाउँछ । सिमकार्डको आयातमा भने उल्लेख्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको पुससम्म ३२ लाख ८२ हजार ५ सय ९३ वटा सिमकार्ड आयात भएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो संख्या १० लाख ५४ हजार ८ सय ११ मात्र थियो । भन्सार विभागका अनुसार नेपालमा चीन, अस्ट्रेलिया, मेक्सिको, बेलायत, जापान, कतार, डेनमार्कलगायत देशबाट सिमकार्ड आयात हुँदै आएको छ ।
स्मार्ट वाच र मोबाइल एक्सेसरिजको आयातमा भने मिश्रित अवस्था देखिन्छ । पछिल्लो ६ महिनामा ११ करोड ८२ लाख १४ हजार रुपैयाँ बराबरका ४६ हजार १ सय ५७ वटा स्मार्ट वाच आयात भएका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १८ करोड ८९ लाख ३९ हजार रुपैयाँ मूल्यका १ लाख ७ हजार ७ सय ८९ वटा स्मार्ट वाच आयात भएका थिए । यस्तै, मोबाइल एक्सेसरिजतर्फ ७९ लाख ७ हजार रुपैयाँ बराबरका १९ हजार २ सय ९० वटा सेल्फी स्टिक र ९३ लाख ७९ हजार रुपैयाँ बराबरका ५९ लाख ७ सय १७ वटा मेमोरी कार्ड आयात भएका छन् । कम्प्युटर उपकरणतर्फ माउस र किबोर्डको आयात पनि उल्लेख्य छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५ करोड १ लाख रुपैयाँ बराबरका ३ लाख ५३ हजार ५ सय ८२ वटा माउस आयात भएका छन् । यस्तै, २ लाख ४ हजार ४६ वटा किबोर्डका लागि ८ करोड ११ लाख १३ हजार रुपैयाँ तिरिएको छ ।
नेपाली उपभोक्तामा कस्तो असर ?
डिजिटल उपकरणको मूल्य बढ्दा यसको प्रत्यक्ष असर नेपाली उपभोक्तामाथि परेको छ । स्मार्टफोन, ल्यापटप र इन्टरनेटसम्बन्धी उपकरण महँगिँदा विद्यार्थी, फ्रीलान्सर, साना व्यवसायी र मध्यम वर्गका परिवारको मासिक खर्च बढेको छ । शिक्षा, काम र सेवामा प्रविधिमाथिको निर्भरता बढिरहेका बेला उपकरण खरिद गर्न ढिलाइ गर्ने वा पुरानै उपकरण प्रयोग गर्न बाध्य हुने अवस्था सिर्जना भएको छ । मूल्य वृद्धिका कारण नयाँ प्रविधिमा पहुँच सीमित हुँदा डिजिटल विभाजन बढ्ने जोखिम पनि देखिएको छ भने किस्ताबन्दी वा ऋणमा उपकरण किन्नुपर्ने प्रवृत्ति बढ्न सक्ने देखिएको छ ।


