Banijya News

दलहरूले आगामी चुनावमा कस्ता आर्थिक एजेन्डा अघि सार्लान् ?

1
1.2K Shares

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपालको राजनीतिक बहस फेरि तातिएको छ । तर मतदानको मिति आउन डेढ महिनाभन्दा कम समय बाँकी रहँदा पनि प्रमुख राजनीतिक दलहरूले अझै आफ्ना चुनावी घोषणापत्र सार्वजनिक गर्न सकेका छैनन् । यसबीच निजी क्षेत्रका छाता संगठनहरूले दलहरूलाई महत्वाकांक्षी नाराभन्दा व्यावहारिक आर्थिक एजेन्डामा केन्द्रित हुन दबाब दिइरहेका छन् ।

नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था लगायतले आगामी घोषणापत्रमा रोजगारी सिर्जना, नीतिगत स्थिरता, लगानीमैत्री वातावरण र निजी क्षेत्रसँगको विश्वास पुनःस्थापनालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । यो दबाब २०७९ सालको निर्वाचनपछि दलहरूले गरेका आर्थिक प्रतिबद्धताहरू कार्यान्वयन हुन नसकेको प्रत्यक्ष प्रतिक्रियाका रूपमा आएको हो ।

२०७९ को निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरूले आर्थिक समृद्धि र सामाजिक न्यायलाई साझा लक्ष्यका रूपमा अघि सारेका थिए । घोषणापत्रमा उच्च आर्थिक वृद्धिदर, लाखौँ रोजगारी, कृषि आत्मनिर्भरता, पर्यटन विस्तार र सामाजिक सुरक्षाको दायरा व्यापक बनाइने वाचा गरिएका थिए । तर तीन वर्षको शासन अनुभवले ती वाचाहरू व्यवहारमा रूपान्तरण हुन नसकेको देखाएको छ ।

नेपाली कांग्रेसले वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि, पाँच वर्षमा १२ लाख रोजगारी र स्वास्थ्य बीमाको पूर्ण कभरेजको लक्ष्य लिएको थियो । एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराअन्तर्गत पूर्वाधार विस्तार र योगदानमा आधारित सामाजिक सुरक्षाको वाचा गरेको थियो । माओवादी केन्द्रले सहकारीमार्फत उत्पादन, निःशुल्क स्वास्थ्य–शिक्षा र शासकीय सुधारलाई जोड दिएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले उदार अर्थतन्त्र, निजी क्षेत्र प्रवद्र्धन, स्टार्टअप र सुशासनलाई मूल एजेन्डा बनाएको थियो ।

तर यी घोषणापत्रहरूको साझा कमजोरी स्पष्ट लागत अनुमानको अभाव, कार्यान्वयनको समयरेखा नहुनु र संस्थागत क्षमतामाथि मौनता देखियो । निर्वाचनपछि बनेका अस्थिर गठबन्धन सरकारहरूले सत्ता सन्तुलनलाई प्राथमिकता दिँदा आर्थिक सुधारका एजेन्डा ओझेलमा परेका थिए। न्यूनतम साझा कार्यक्रममै घोषणापत्रका लक्ष्य हराए, बजेट राजनीतिक सम्झौतामा सीमित रह्यो र संरचनागत सुधार अघि बढ्न सकेन । नतिजा—आर्थिक वृद्धिदर ४–५ प्रतिशतमा सीमित रह्यो, वैदेशिक रोजगारीमा निर्भरता घटेन र आयातमुखी अर्थतन्त्र कायमै रह्यो ।

आगामी प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दलहरूले अघिल्ला चुनावजस्तै आकर्षक नाराभन्दा फरक, व्यवहारिक र मापनयोग्य आर्थिक एजेन्डा प्रस्तुत गर्ने दबाबमा रहने देखिन्छ । विगतका घोषणापत्रहरू कार्यान्वयनमा असफल भएकाले यसपटक दलहरू रोजगारी सिर्जना, निजी क्षेत्रसँगको सहकार्य, लगानीमैत्री नीति र वित्तीय अनुशासनलाई केन्द्रमा राख्ने सम्भावना बढी छ । ठूला पूर्वाधार वा दोहोरो अंकको आर्थिक वृद्धिजस्ता महत्वाकांक्षी लक्ष्यभन्दा पनि स्रोत, समयरेखा र जिम्मेवार निकाय स्पष्ट हुने एजेन्डा दलहरूले अघि सार्नुपर्ने आवश्यकता देखिएको छ ।

आगामी घोषणापत्रमा उत्पादनमूलक क्षेत्रको पुनरुत्थान मुख्य प्राथमिकता बन्न सक्छ । कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिलाई रोजगारीसँग प्रत्यक्ष जोड्ने, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा केन्द्रित नीति अपरिहार्य देखिन्छ । विशेषगरी कृषिमा बजार सुनिश्चितता, मूल्य शृंखला विकास र निजी लगानी आकर्षित गर्ने स्पष्ट खाका बिना आत्मनिर्भरता सम्भव नहुने निष्कर्षमा निजी क्षेत्र पुगेको छ । ऊर्जा क्षेत्रमा जलविद्युत् उत्पादनसँगै खपत, प्रसारण र निर्यात रणनीति स्पष्ट गर्नुपर्ने दबाब बढ्दै गएको छ ।

त्यसैगरी, दलहरूले सार्वजनिक खर्च र सामाजिक सुरक्षालाई दिगो बनाउने एजेन्डा पनि समेट्नुपर्ने देखिन्छ । सामाजिक सुरक्षा भत्ता विस्तारभन्दा योगदानमा आधारित प्रणालीलाई प्रभावकारी बनाउने, स्वास्थ्य र शिक्षामा राज्यको भूमिका गुणस्तरसँग जोड्ने र बजेट क्षमताअनुसार प्रतिबद्धता गर्ने नीति आवश्यक ठहरिएको छ । ऋण बढ्दै गएको सन्दर्भमा वित्तीय अनुशासन, कर आधार विस्तार र अनौपचारिक अर्थतन्त्रलाई औपचारिक क्षेत्रमा ल्याउने रणनीति घोषणापत्रमै स्पष्ट हुनुपर्ने आवाज उठिरहेको छ ।

निजी क्षेत्रसँगको सम्बन्ध आगामी चुनावको निर्णायक आर्थिक मुद्दा बन्ने संकेत पनि देखिन्छ । विगतमा नीतिगत अस्थिरता, कर नीतिको बारम्बार परिवर्तन र नियामक हस्तक्षेपले लगानी वातावरण कमजोर बनेको भन्दै अब स्थिर नीति, एकद्वार प्रणाली र कर सरलीकरणजस्ता एजेन्डा अनिवार्य बन्ने देखिन्छ । साथै क्रोनी क्यापिटालिजम नियन्त्रण, प्रतिस्पर्धा प्रवर्द्धन र नियामक संस्थाको स्वायत्तताबिना आर्थिक सुधार सम्भव नहुने धारणा बलियो हुँदै गएको छ ।

समग्रमा, आगामी निर्वाचनमा आर्थिक बहसको केन्द्र घोषणापत्रका वाचा होइन, कार्यान्वयनको विश्वसनीयता बन्ने संकेत देखिन्छ । राजनीतिक स्थिरता, नीति निरन्तरता र निजी क्षेत्रसँगको विश्वास पुनःस्थापनाबिना कुनै पनि आर्थिक एजेन्डा सफल नहुने विगतको अनुभवले देखाइसकेको छ । त्यसैले दलहरूले “के गर्ने” भन्दा पनि “कसरी, कहिले र कति स्रोतमा गर्ने” भन्ने स्पष्टता प्रस्तुत गर्न सके मात्र मतदाताको विश्वास जित्न सक्ने छन।

1

Scroll to Top