चालू आर्थिक वर्ष (आव) २०८२/८३ को पुससम्ममा लघुबाहेकका १४ ओटा निर्जिवन बीमा कम्पनीहरूले २३ अर्ब ६७ करोडको व्यवसाय गरेका छन । कम्पनीहरूले १४ लाख १९ हजार ५४८ ओटा बीमालेख विक्रीबाट २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ बीमाशुल्क उठाएका हुन। गत आवको पुससम्म कम्पनीहरूले १३ लाख ८९ हजार ३१९ ओटा बीमालेख विक्रीबाट २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क उठाएका थिए । गत आवको तुलनामा चालू आवको पुससम्म कम्पनीहरूको व्यवसाय १३ दशमलव ३७ प्रतिशतले बढेको प्राधिकरणले बताएको छ ।
यसैगरी गत आवको पुसको तुलनामा चालू आवको पुसमा कम्पनीहरूको व्यवसाय बढेको छ । कम्पनीहरूले गत आवको पुसमा ३ अर्ब ७० करोड बीमाशुल्क संकलन गरेकोमा चालू आवको पुसमा ४ अर्ब १८ करोड रुपैयाँ संकलन भएको छ । हाल १४ ओटा कम्पनीले निर्जीवन बीमा सेवा दिँदै आएका छन् । चालू आवको पुससम्ममा सबैभन्दा बढी शिखर इस्योरेन्सले २ अर्ब ७७ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दा सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीले ५६ करोड ७२ लाख रुपैयाँ मात्र संकलन गरेको छ ।
गत भदौमा भएको जेनजी आन्दोलनका कारण पनि बीमाप्रति चासो बढेको र यसले पनि व्यवसायमा सकारात्मक प्रभाव परेको बीमकहरू बताउँछन् । नेपाल बीमक संघका पूर्वअध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षत्रीले आन्दोलनमा भएको क्षतिले गर्दा सर्वसाधारणमा बीमाप्रति चासो बढेको र यसबाट व्यवसायमा सकारात्मक प्रभाव परेको बताए ।
यसैगरी चालू आवको पुससम्ममा लघुबीमा कम्पनीहरूले पनि २ लाख ३० हजार ओटा बीमालेखमार्फत ६२ करोड ६७ लाख रुपैयाँ बराबर बीमाशुल्क संकलन गरेका छन् । गत आवको पुससम्ममा लघुबीमा कम्पनीहरूले १ लाख ६८ हजार बीमालेखमार्फत ४२ करोड २९ लाख रुपैयाँ बराबर बीमाशुल्क संकलन गरेका थिए । हाल नेपाल, प्रोटेक्टिभ, स्टार र ट्रस्ट माइक्रो इस्योरेन्सले निर्जीवन लघुबीमाको कारोबार गर्दै आएका छन् ।


