Banijya News

गुल्मीका ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमाको पहुँचमा आबद्ध

1
1.1K Shares

छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बनेका छन् । पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बिमा गर्ने नागरिकको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । नागरिकले स्वास्थ्य बिमा कार्यक्रमको महत्वका बारेमा बिस्तारै बुझ्दै जान थालेसँगै स्वास्थ्य बिमाप्रतिको आकर्षण बढ्न थालेको हो ।

पछिल्लो तथ्यांकअनुसार हाल एक लाख ३१ हजार एक सय २७ जना स्वास्थ्य बिमामा आबद्ध बनिसकेका छन् । बिमामा आबद्धता हुनेहरुमा ६७ हजार पाँच सय १७ महिला र ६३ हजार छ सय ८ पुरुष रहेका छन् । जिल्लामा रहेका १२ स्थानीय तह मध्यमा सङ्ख्याका आधारमा रेसुङ्गा नगरपालिका स्वास्थ्य बिमा गर्नेमा सबैभन्दा अगाडि छ । उक्त नगरपालिकामा २५ हजार दुई सय १२ व्यक्ति बिमामा आबद्ध भएका छन् ।

त्यसैगरी रुरुक्षेत्र गाउँपालिकामा १४ हजार दुई सय १७ बिमित बनेका छन् । जिल्लामा पालिकाहरुमा रहेको जनसङ्ख्याका आधारमा भने रुरुक्षेत्र गाउँपालिकामा सबैभन्दा धेरै नागरिक बिमित बनेको स्वास्थ्य बिमा बोर्ड गुल्मीका संयोजक तथा दर्ता अधिकारी सुवास घिमिरेले जानकारी दिए । रुरुक्षेत्र गाउँपालिकामा पछिल्लो समयमा स्वास्थ्य बिमा दर्ता अभियानमा नागरिकहरुले सक्रिय सहभागिता जनाएको अध्यक्ष यदु ज्ञवालीले बताए। उनले यस आर्थिक वर्षमा पालिका भित्र ९० प्रतिशत बिमित पुर्‍याउने योजना रहेको बताए।

अध्यक्ष ज्ञवालीले विपन्न तथा असहाय नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रमसँग जोड्ने गरी कार्यक्रमलाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाइएको जानकारी दिए । त्यसैगरी मुसिकोट नगरपालिकामा आठ हजार दुई सय ६१, चन्द्रकोट गाउँपालिकामा छ हजार पाँच सय १७, धुर्कोट गाउँपालिकामा १० हजार सात सय ३३, छत्रकोट गाउँपालिकामा १२ हजार पाँच सय ७३ र गुल्मीदरबारमा १० हजार चार सय ३१ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । त्यसैगरी इस्मा गाउँपालिकामा सात हजार सात सय ९०, कालिगण्डकीमा छ हजार आँठ सय २१, मदाने गाउँपालिकामा तीन हजार नौँ सय ३२, मालिका गाउँपालिकामा आठ चार सय हजार ५१ र सत्यवती गाउँपालिकामा १६ हजार एक सय ९० जना नागरिक स्वास्थ्य बिमामा आबद्ध बनिसकेको बताइएको छ ।

जिल्लामा छ वर्षको अवधिमा कुल जनसङ्ख्याका आधारमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बनिसकेको स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी घिमिरेले बताए। जिल्लामा गुल्मी अस्पताल, जिल्ला आँखा उपचार केन्द्र तम्घास, धुर्कोट आधारभूत अस्पताल, गुल्मीदरबार आधारभूत अस्पताल, श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्र, रुरु प्राथमिक स्वास्थ्य केन्द्र र जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र गरी सातवटा अस्पतालले स्वास्थ्य बिमा सेवा उपलब्ध गराउँदै आएका छन् । विगत वर्षहरुको तुलनामा जिल्लामा स्वास्थ्य बिमा गर्नेहरुको सङ्ख्या बढ्दै गएको दर्ता अधिकारी घिमिरेले बताए। स्वास्थ्य बिमा कार्यक्रमका लागि जिल्लामा दुई जना कर्मचारी र ९४ जना दर्ता सहयोगी रहेका छन् ।

1

Scroll to Top