Banijya News

ठमेलमा पर्यटक ठगी र अवैध गतिविधि गर्ने २२ जना नियन्त्रणमा

1
1.0K Shares

राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा पर्यटकलाई ठगी गर्ने, नियमविपरीत व्यवसाय सञ्चालन गर्ने तथा सार्वजनिक शान्ति सुरक्षामा असर पुर्‍याउने गतिविधिमा संलग्न २२ जनामाथि प्रशासनले कारबाही गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको नेतृत्वमा गरिएको संयुक्त अनुगमनका क्रममा उनीहरू कारबाहीमा परेका हुन्।

जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, काठमाडौं महानगरपालिकाको नगर प्रहरी र ठमेल पर्यटन विकास परिषद्को संयुक्त टोलीले गएराति ठमेल क्षेत्रका विभिन्न व्यवसाय तथा सार्वजनिक स्थानमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने र पर्यटकलाई विभिन्न बहानामा आर्थिक ठगी गर्ने गतिविधि फेला परेपछि सम्बन्धित व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खेमराज भुसालका अनुसार ठूलो आवाजमा सङ्गीत बजाएर सञ्चालन गरिएका रेस्टुरेन्ट तथा बार, दर्ताबिनै चलाइएका स्पा, अन्तःशुल्क दर्ता नगरी मदिरा बिक्री गर्ने व्यवसायी र पर्यटक ठगीमा संलग्न डान्सबार सञ्चालकलाई कारबाही गरिएको छ।

अनुगमनका क्रममा ठगीमा परेका विदेशी पर्यटकको रकमसमेत फिर्ता गराइएको छ। विशेषगरी डान्सबार तथा मनोरञ्जन व्यवसायको नाममा भारतीय पर्यटक र अन्य पाहुनालाई अनावश्यक रूपमा बढी रकम असुल्ने, ठगी गर्ने तथा कुटपिटमा संलग्न व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको थियो।

प्रशासनले ठमेलमा व्यवसाय सञ्चालनका नाममा पर्यटकलाई आर्थिक भार पार्ने र गैरकानुनी गतिविधि गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न अनुगमनलाई निरन्तरता दिने जनाएको छ। यसअघि गत शुक्रबार गरिएको अनुगमनका क्रममा पहिचान भएका रेस्टुरेन्ट तथा बार सञ्चालकलाई पत्राचार गरी जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको थियो।

प्रशासनले सम्बन्धित व्यवसायीलाई आगामी सात दिनभित्र कानुनअनुसार व्यवसाय सञ्चालन गर्न, ध्वनि प्रदूषण नियन्त्रण गर्न र आवश्यक मापदण्ड पूरा गर्न निर्देशन दिएको छ। त्यस्तै, अन्तःशुल्क दर्ता नगरी मदिरा बिक्री गर्ने व्यवसायीको मदिरा तथा अन्य सामान जफत गरिएको छ। उनीहरूलाई एक साताभित्र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अल्टिमेटम दिइएको छ।

दर्ताबिना सञ्चालनमा रहेका स्पा तथा बारलाई पनि एक साताभित्र सम्बन्धित निकायमा दर्ता गरी कानुनी प्रक्रिया पूरा गर्न भनिएको छ ।

अनुगमनका क्रममा सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने व्यक्तिमाथि पनि निगरानी गरिएको थियो। त्यस्ता व्यक्तिमध्ये केहीलाई सम्झाइबुझाइ छाडिएको छ ।

यसैगरी, रातको समयमा अत्यधिक आवाज निकाल्ने गरी स्वरूप परिवर्तन गरिएका मोटरसाइकल चलाउने चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ। सडक पेटीमा चिया तथा चुरोट बिक्री गर्ने बहानामा अनैतिक गतिविधि सञ्चालन गर्ने व्यक्तिलाई पनि नगर प्रहरीले हटाएको छ। ठमेललाई सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री गन्तव्य बनाउने उद्देश्यले प्रशासनले पछिल्लो समय निगरानी बढाएको हो।

1

Scroll to Top