Banijya News

पुस २ देखि लेखनाथ महोत्सव, ३३५ स्टलमार्फत स्थानीय उत्पादनदेखि औद्योगिक सामग्रीसम्मको प्रदर्शनी

1
1.0K Shares

पोखरामा आयोजना हुँदै आएको लेखनाथ महोत्सवको २२औँ संस्करण आगामी पुस २ गतेदेखि सञ्चालन हुने भएको छ। लेखनाथ उद्योग वाणिज्य संघले हरेक वर्ष आयोजना गर्दै आएको महोत्सव यस वर्ष पुस २ गतेदेखि १३ गतेसम्म सञ्चालन गर्न लागिएको हो।

महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले यस वर्षको तयारी तीव्र पारिएको जनाएको छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवमा विभिन्न क्षेत्रका गरी ३३५ वटा व्यापारिक तथा प्रदर्शनी स्टल रहनेछन्।

महोत्सव प्रचारप्रसार उपसमितिका संयोजक तथा संघका द्वितीय उपाध्यक्ष युवराज भण्डारीका अनुसार महोत्सवमा सबैभन्दा बढी गार्मेन्ट तथा रेडिमेड कपडाका ११२ वटा स्टल रहनेछन्। कृषि तथा पशुजन्य उत्पादनका ४०, किचन सामग्रीका २६, जनरल २४, फुट एन्ड बेभरेजका १८ र खाना महोत्सवका १७ स्टल राखिनेछन्।

त्यसैगरी हस्तकलाका १४, शैक्षिक, ग्रामीण प्रविधि तथा कृषि प्रदर्शनीका १३, डेरीका १३, मेसिनरीका १२, नेपाली उत्पादनका १० र अटोमोबाइलका ६ स्टल रहनेछन्। बैंक तथा वित्तीय संस्था र प्रायोजकका लागि ३० वटा स्टल छुट्याइएको आयोजकले जनाएको छ।

महोत्सवमा औद्योगिक तथा व्यापारिक सामग्रीको प्रदर्शनी र बिक्रीसँगै स्थानीय उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ। हस्तकला, दैनिक उपभोग्य वस्तु, विद्युतीय उपकरण, फर्निचर, सूचना प्रविधि तथा सञ्चारसम्बन्धी सामग्री प्रदर्शनीमा राखिनेछन्। यसका साथै लेखनाथ र आसपासका क्षेत्रमा उत्पादन हुने सुन्तला, माछा, मह, कफी, ताजा तरकारी तथा दुग्धजन्य सामग्रीको बिक्री तथा प्रदर्शनी पनि गरिनेछ।

महोत्सवलाई व्यापारिक गतिविधिमा मात्र सीमित नराखी स्थानीय कला, संस्कृति, कृषि, पर्यटन र प्रविधिको प्रवर्द्धन गर्ने माध्यमका रूपमा विकास गर्ने आयोजकको लक्ष्य छ। यसका लागि फुड फेस्टिभल, अटोमोबाइल प्रदर्शनी, ग्रामीण प्रविधिको प्रदर्शन तथा कृषि, पर्यटन र उद्योगसम्बन्धी संवाद कार्यक्रमसमेत सञ्चालन गरिनेछ।

यस वर्षको महोत्सवको अर्को आकर्षणका रूपमा शान्तिका अग्रदूत गौतम बुद्धको प्रतिमा राखिने भएको छ। ‘एसियाको ज्योति’का रूपमा परिचित बुद्धको प्रतिमाले महोत्सव अवलोकन गर्न आउने दर्शकलाई थप आकर्षित गर्ने आयोजकको अपेक्षा छ।

महोत्सवका लागि स्टल बुकिङ प्रक्रिया पनि सुरु गरिएको छ। संघले पहिलो चरणमा आफ्ना सदस्यका लागि मंसिर ७ गतेदेखि स्टल बुकिङ खुला गरेको छ भने अन्य व्यवसायी तथा इच्छुक सहभागीका लागि मंसिर ११ गतेदेखि बुकिङ खुला गर्ने जनाएको छ। संघका सदस्यलाई स्टल बुकिङमा २० प्रतिशत छुटका साथै सामान ढुवानीका लागि थप दुई हजार रुपैयाँ छुट उपलब्ध गराइने उपाध्यक्ष भण्डारीले जानकारी दिए।

आयोजकले यस वर्षको महोत्सवमा करिब दुई लाख ७० हजार दर्शक सहभागी हुने अपेक्षा गरेको छ। महोत्सव अवधिभर १२ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, व्यवसाय विस्तार, रोजगारी सिर्जना र क्षेत्रीय आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने विश्वास आयोजकको छ।

महोत्सव प्रवेशका लागि विद्यार्थीलाई ५० रुपैयाँ र सर्वसाधारणलाई एक सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ। त्यस्तै, पप कन्सर्ट अवलोकन गर्न दुई सय रुपैयाँको टिकट व्यवस्था गरिएको आयोजकले जनाएको छ।

1

Scroll to Top