चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा निर्जीवन बिमा कम्पनीहरुको व्यवसाय वृद्धि भएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष (आव) २०८२/८३ पुससम्मको तथ्यांकानुसार कुल बिमा शुल्क संकलनमा १४ प्रतिशतले वृद्धि भएको छ । १४ निर्जीवन कम्पनीबाट २३ अर्ब ६७ करोड ६२ लाख २३ हजार रुपैयाँबराबरको बिमा शुल्क संकलन भएको छ ।
यहि अवधिमा आर्थिक वर्ष २०८१/८२मा भने २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ संकलन भएको थियो । चालु आवको यो अवधिसम्म १४ लाख १९ हजार ५४८ बिमालेख जारी गरिएको छ । बिमालेख संख्या पनि गत वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १३ लाख ८९ हजार ३१९ बिमालेख जारी गरिएको थियो ।
ओरालो यात्रामा सरकारी स्वामित्वको बिमा कम्पनीहरु
राष्ट्रिय बिमा कम्पनीको वार्षिक प्रदर्शनमा भने ठूलो गिरावट आएको छ । यसको बिमालेख संख्यामा ९० र शुल्कमा २० प्रतिशतले कमी आएको छ । गत आवमा कम्पनीको एक लाख २३ हजार हाराहारीमा बिमालेख जारी गरिएको थियो । चालु आवमा १२ हजार ८१४ बिमालेख मात्र जारी गरिएको छ । यसबाट चालु आवको ६ महिनामा ५६ करोड ७२ लाख रुपैयाँ मात्र बिमा शुल्क संकलन भएको छ । गत वर्ष ७१ करोड २१ लाख रुपैयाँ बिमा शुल्क संकलन भएको थियो । सरकारी स्वामित्वमाको यो कम्पनीले व्यवसाय विस्तार गर्न सकेको छैन ।
लघुबिमा व्यवसायमा उत्साहजनक विस्तार
लघुबिमाको पहुँच र आकर्षण तुलनात्मक रूपमा तीव्र गतिमा बढिरहेको छ । वार्षिक वृद्धिको दृष्टिकोणबाट लघुबिमा क्षेत्रको व्यवसाय विस्तार राम्रो देखिन्छ । चालु आवको ६ महिनासम्म गत वर्षको सोही अवधिको तुलनामा लघुबिमा क्षेत्रले समग्रमा बिमा शुल्क संकलनमा ४८ र बिमालेख संख्यामा ३७ प्रतिशतको वार्षिक वृद्धि हासिल गरेको छ । हालसम्म चार निर्जीवन लघुबिमा कम्पनीले दुई लाख ३० हजार ४९३ बिमालेख जारी गरेका छन् । यसबाट कुल ६२ करोड ६७ लाख रुपैयाँ बिमा शुल्क आर्जन भएको छ ।
यीमध्ये प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको बिमा शुल्कमा ६४ र बिमालेख संख्यामा ६९ प्रतिशतको वृद्धि भएको छ । यो कम्पनीले मात्र ६६ हजार २५६ बिमालेख जारी गरेको छ । १७ करोड ६ लाख बिमा शुल्क जारी गरिएको छ । यस्तै, ट्रस्ट माइक्रो इन्स्योरेन्सले वार्षिक रूपमा ६१ प्रतिशतको बिमाशुल्क वृद्धि हासिल गर्न सफल भएको छ । स्टार माइक्रोको बिमाशुल्कमा ४० र नेपाल माइक्रोको ३१ प्रतिशतले वृद्धि भएको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।
मोटर बिमामा अधिक आकर्षण
बिमाका विभिन्न विधामध्ये मोटर बिमा सबैभन्दा लोकप्रिय र ठूलो हिस्सा ओगट्दै आएको छ । चालु आर्थिक वर्षको पुससम्म मोटर बिमामा आठ लाख ११ हजार ६६ बिमालेख जारी गरिएको प्राधिकरणको तथ्यांक छ । जबकि, निर्जीवन बिमा कम्पनीहरूले यो अवधिमा सबै प्रकारका गरेर कुल १६ लाख ५० हजार ४१ बिमालेख जारी गरेका छन् । यस हिसाबले कुल बिमालेखमा ५३.१७ प्रतिशत हिस्सा मोटर बिमाको छ । उक्त संख्यामा भएको मोटर बिमाबाट चालु आवको ११ महिनामा कम्पनीहरूले १२ अर्ब नौ करोड ५८ लाख २५ हजार रुपैयाँबराबरको शुल्क आर्जन गरेका छन् । यो कुल बिमा शुल्क आर्जनको ४९.१५ प्रतिशत हो । यो अवधिसम्म कम्पनीहरूले सबैखाले बिमालेखबाट कुल २४ अर्ब ३० करोड २९ लाख रुपैयाँबराबरको शुल्क आर्जन गरेका छन् ।
चालु आवको आधा वर्षमा सबैभन्दा कम हवाई बिमा छ । यो अवधिमा यसको ११६ मात्र बिमालेख जारी गरिएको छ । ९२ करोड ९८ लाख रुपैयाँबराबरको बिमा शुल्क संकलन भएको छ । यो अवधिमा दुई लाख एक हजार बिमालेख जारी हुँदा सामुद्रिक बिमाबाट एक अर्ब ४६ करोड रुपैयाँ शुल्क आर्जन गरिएको छ ।
हिमालयन एभरेस्ट इन्स्योरेन्स अगाडि
सबैभन्दा बढी व्यवसाय बढाउने कम्पनीमा हिमालयन एभरेस्ट इन्स्योरेन्स अगाडि देखिन्छ । यो कम्पनीले वार्षिक बिमा शुल्कमा ४५ प्रतिशतको उच्च वृद्धि हासिल गर्दै २४ अर्ब ९२ करोड ९१ लाख रुपैयाँ संकलन गरेको छ । गत आवको सोही अवधिमा १७ अर्ब १८ करोड रुपैयाँ हाराहारीमा संकलन गरेको थियो । योसँगै कम्पनीले बिमालेख संख्यामा २४ प्रतिशत सुधार गरेको तथ्यांकमा उल्लेख छ ।
समग्रमा बिमालेख संख्याका आधारमा सबैभन्दा बढी युनाइटेड अजोड कम्पनीले फड्को मारेको छ । गत आवको आधा वर्षको तुलनामा यसपालि यो कम्पनीले १३७ प्रतिशतको अस्वाभाविक बिमालेख संख्यामा वार्षिक वृद्धि गर्न सफल भएको छ । गत पुससम्म ८७ हजार हाराहारीको बिमालेख संख्या बढाएर कम्पनीले दुई लाख सात हजार पुयाएको छ ।
यस्तै, एनएलजी इन्स्योरेन्सको बिमा शुल्कमा ३४ र सानिमा जीआईसीको २० प्रतिशतको वार्षिक वृद्धि देखिएको छ । गत आवमा एनएलजीले एक अर्ब ४० करोड संकलन गरेको थियो । हाल एक अर्ब ८७ करोड ९० लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ । सानिमा जीआईसीको हाल बिमा संकलन बढेर एक अर्ब ४२ लाख रुपैयाँबराबर भएको छ ।
जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन झन्डै १ खर्ब
१४ जीवन बीमा कम्पनीहरूले २०८२ पुस मसान्तसम्ममा ९४ अर्ब ३७ करोड ६३ लाख रुपैयाँ संकलन गरेका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८१ को पुसमा २२ अर्ब ४५ करोड रुपैयाँ संकलन गरेकोमा २०८२ को पुस मसान्तसम्म आइपुग्दा २५ अर्ब ५१ करोड रुपैयाँ पुर्याउँदै बजारमा अग्रता कायम राखेको छ। नेशनल लाइफले पनि ९ अर्ब ६० करोड रुपैयाँबाट बढेर ११ अर्ब ३७ करोड रुपैयाँ संकलन गरेको छ। लाइफ इन्स्योरेन्स कम्पनी (नेपाल) ले ९ अर्ब ४६ करोड रुपैयाँबाट बढेर १० अर्ब २२ करोड रुपैयाँ संकलन गर्दै ८।०९ प्रतिशतको वृद्धि देखिएको छ ।
सूर्य ज्योति लाइफ, आइएमई लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी, रिलायन्स लाइफ, सिटिजन लाइफ, प्रभु महालक्ष्मी लाइफ, मेट लाइफ, सानिमा रिलायन्स लाइफ, एसियन लाइफ लगायतका कम्पनीहरूले पनि अघिल्लो वर्षको तुलनामा बीमा शुल्क संकलनमा वृद्धि गरेका छन्। सन नेपाल लाइफ र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको वृद्धि दर तुलनात्मक रूपमा कम भए पनि संकलन रकम अघिल्लो वर्षभन्दा माथि पुगेको छ। चालु आवको पुस मसान्तसम्म सबै कम्पनीहरूले सकारात्मक प्रगति हासिल गरेका छन्।
२०८२ मा जीवन बीमा बजारले अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हासिल गरेको छ। यसले बीमा क्षेत्रको दीर्घकालीन स्थायित्वमा विश्वास जगाएको छ र कम्पनीहरूलाई अझै प्रतिस्पर्धी, नवप्रवर्तनशील, र ग्राहक केन्द्रित बन्न प्रेरित गरेको छ।


