स्वास्थ्य बिमा बोर्डले आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म स्वीकृत भएका सम्पूर्ण स्वास्थ्य बिमा दाबीबापत कुल रु. २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ भुक्तानी सम्पन्न गरेको छ। अघिल्लो आर्थिक वर्षका बाँकी बक्यौता र चालु आर्थिक वर्षको पुस महिनासम्मका स्वीकृत दाबीहरूलाई समेटेर बोर्डले यो ठूलो रकम निकास गरेको हो।
बोर्डको पछिल्लो निर्णयअनुसार २०८२ पुस महिनामा स्वीकृत भएका दाबीबापतको रु। २ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा सोझै जम्मा गरिसकिएको छ। यसअघि नै असोज, कात्तिक र मंसिर महिनासम्म प्राप्त भई स्वीकृत भएका दाबीहरूको भुक्तानी सफलतापूर्वक सम्पन्न भइसकेको थियो।
यस भुक्तानीसँगै आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्मका स्वीकृत बिमा दाबीहरूको दायित्व पूर्ण रूपमा फछ्र्यौट भएको छ। बिमा कार्यक्रमलाई थप विश्वसनीय र व्यवस्थित बनाउन बोर्डले सेवा प्रदायक संस्थाहरूलाई दिइने भुक्तानी प्रक्रियालाई नियमित, पारदर्शी र चरणबद्ध रूपमा अगाडि बढाइरहेको जनाएको छ।


